८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कोरोना त्रास : यस्तो छ सरकारको तयारी

काठमाडौं– चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोना (कोभिङ–१९) भाइरसको संक्रमण विश्वभर फैलिँदो छ। पछिल्लो तथ्यांकअनुसार यसको संक्रमण ६४ भन्दा बढी मुलुकमा फैलिसकेको छ भने करिब ३ हजारले ज्यान गुमाइसकेका छन्। संक्रमितको संख्या ९० हजार हाराहारीमा पुगेको छ।

नेपालमा पनि  एक जना कोरोना पोजेटिभ भेटिए पनि उपचारपछि घर फर्किसकेका छन्। तीन जना शंकास्पदको परीक्षण भैरहेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि कोरोना आउँदैन भनेर ढुक्क भएर बस्न नहुने जनाएको छ। डब्ल्यूएचओले नेपाललाई पनि यसको संक्रमण फैलिन सक्ने जोखिम युक्त क्षेत्रमा राखेको छ।

पछिल्लो पटक सरकारले पनि यस विषयमा चासो लिएको छ। रोकथाम, नियन्त्रण र आवश्यक तयारीमा जुट्न प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवाला निकायलाई निर्देशन दिइसकेका छन्। स्वास्थ्य मन्त्रालयले यस विषयमा नियमित जानकारी दिँदै आएको छ। आइतबार सरकारले कोरोनाकै कारण नेपाल भ्रमण वर्ष स्थगित गर्ने निर्णय ग¥यो। यस्तै प्रभावित देशका लागि अनअराइभल भिसामा समेत रोक लगाएको छ।

उच्चस्तरीय समिति गठन

कोभिड १९ को रोकथाम, नियन्त्रण र आवश्यक तयारीका लागि उच्च स्तरीय समिति समेत बनेको छ। गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सम्बन्धित मन्त्री र उच्च अधिकारीहरुसँग छलफल गरेका थिए। छलफलपछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बनाएको छ। समितिमा गृहमन्त्री रामबहादुर थापा, परारष्ट्रमन्त्री प्रदिप ज्ञवाली, शिक्षा मन्त्री गिरीराजमणि पोखरेल, कृषिमन्त्री घनश्याम भुषाल, स्वास्थ्यमन्त्री भनुभक्त ढकाल, उद्योगमन्त्री लेखराज भट्ट, पर्यटनमन्त्री योगेश भट्टराई र सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज खतिवडा छन्। समितिलाई रोकथाम, नियन्त्रण र आवश्यक तयारीमा समन्वय गर्न भनिएको छ। रोकथाम तथा नियन्त्रणका लागि सजकता अपनाउने, जनचेतना अभिवृद्दि गर्ने र  आवश्यक सम्पूर्ण तयारी र निर्णय गरी यसको कार्यान्वयन र अनुगमनको जिम्मा समितिलाई दिइएको छ।

भ्रमण वर्ष स्थगित, सभा–सम्मेलन नगर्न आग्रह

सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ। विश्वभर फैलिदैँ गएको कोरोना संक्रमणका कारण मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले जारी भ्रमण वर्ष स्थगित गर्ने निर्णय लिएको हो।

कोरोना भाइसरको प्रकोपबाट अन्य देश पनि प्रभावित भएपछि जोखिम बढेको निष्कर्ष निकाल्दै भ्रमण वर्ष–२०२० स्थगित गर्ने निर्णय लिइएको हो। कोरोना प्रकोप देखाउँदै बहुप्रतिक्षित ‘सगरमाथा संवाद’ पनि तत्काललाई स्थगित गरेर सार्ने निर्णय गरेको छ। चैतमा हुने भनिएको सगरमाथा संवादमा विश्वका नेता सहभागी गराउने नेपालको तयारी थियो।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको जोखिम बढेको भन्दै ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आह्वान गरेको छ। स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि ठूला सभा, सम्मेलन नगर्न आग्रह गरेका हुन्।

विश्वभरि कोरोना भाइरसको जोखिम बढिरहेका बेला सङ्क्रमण देखिएका देशबाट नेपाल आउने पर्यटकलाई अनअराइभल भिसा नदिने निर्णय पनि सरकारले गरेको छ। मन्त्री ढकालले अन्तर्राष्ट्रिय हवाई उडान पनि रोक्ने विषयमा छलफल भइरहेको जानकारी दिए। छिमेकी देशमा अन्तर्राष्ट्रिय उडान कटौती गर्न थालिएको पनि मन्त्रालयले जनाएको छ। यस विषयमा आधिकारिक निर्णय भने भैसकेको छैन।

विमानस्थलमा स्वास्थ्य परीक्षण

सरकारले त्रिभुवन विमानस्थलको स्वास्थ्य सहायता कक्षमा थप जनशक्ति परिचालन गरेर चेकजाँचको व्यवस्था गरेको छ। यसअघि आगमनका सम्पूर्ण यात्रुको ‘थर्मल स्क्यान’ बाट तापक्रम मात्रै नाप्दै आएकोमा आइतबारदेखि थप जनशक्ति र ६ वटा मेसिन राखेर कोरोना संक्रमण देखिएका देशबाट आउने सबै यात्रुहरुको ‘थर्मल गन’को प्रयोग गरी तापक्रम नाप्न सुरु गरिएको छ। विमानस्थलमा विभिन्न भाषामा सूचनामुलक सन्देश राखिनुका साथै ‘लिक्विड सेनिटाइजर स्पे्र’ गर्ने समेत व्यवस्था मिलाएको छ।

मन्त्रालयले चीनसँग व्यापारिक कारोबार हुने प्रमुख नाका तातोपानी र रसुवागढीमा पनि चिकित्सक खटाएको छ।

कोरोना संक्रमण रोक्न सरकारले तीन चरणको तयारी गरिरहेको जनाएको छ।

पहिलो चरणको तयारी अनुसार आवश्यक सावधानी अपनाउने र नेपाल भित्रिने नाकाहरुमा स्वास्थ्यजाँचको व्यवस्था गरिसकिएको छ। संक्रमितलाई राख्न अस्पतालमा आवश्यक बेडको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

तर खुला सिमाना रहेका दक्षिणी नाकामा भने खासै चासो दिइएको छैन। नेपालमा भारतको नाकाबाट पनि विदेशी भित्रिने गर्छन।

२० बेड तयारी अवस्थामा, विकल्पमा ३६ अस्पताल

स्वास्थ्य मन्त्रालयका प्रवक्ता सागर दाहालले शंकास्पद बिरामी देखिएमा तत्कालका लागि केही अस्पताल र त्यहाँ बेडहरु तयारी अवस्थामा राखिएको बताए। त्यसका लागि तत्कालै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल र प्रहरी अस्पतालमा बेडसहित तयारी अवस्थामा रहेको उनले जानकारी दिए।

‘शंकास्पद देखिने बिरामीहरु र प्रभावित क्षेत्रबाट आएका व्यक्तिलाई शंका लागेमा त्यहाँ आइसोलेसनमै राखेर परीक्षण र उपचार गर्न सकिन्छ। २० वटा बेडहरु तयारी अवस्थामा छन्।’ उनले भने। आवश्यक परेको खण्डमा बेडको संख्या बढाउन सकिने पनि उनले बताए।

‘अहिलेलाई यति भए पुग्छ। तर विभिन्न सरकारी र निजी गरी ३६ वटा अस्पताल पनि सहयोगका लागि तयार रहेको बताएका छन्।’ उनले अगाडि भने, ‘आवश्यक परेको खण्डमा कुनै एउटा अस्पताललाई नै यसैको प्रयोजनका लागि पनि प्रयोग गर्न सक्छौं।’

शंकास्पद देखिने बिरामीको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीको सुरक्षामा पनि विशेष ध्यान दिइएको उनले बताए। व्यक्तिगत सुरक्षामा चाहिने उपकरणहरु तत्कालका लागि व्यवस्थापन महाशाखाले सुरक्षित गरेर राखेको बताउँदै विश्व स्वास्थ्य संगठन र यूएसएआईडीबाट एक चरणको सामानहरु नेपाल आइसकेको जानकारी आएको उनले बताए।

के भन्छन् चिकित्सक ?

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका वरिष्ठ चिकित्सक शेरबहादुर पुनले अस्पतालमा आउने शंकास्पद बिरामीको संयमतापूर्वक रेखदेख गरिरहेको बताए। ‘सुरुदेखिनै शंकास्पद बिरामीलाई हामीले हेरिरहेका छौं।’ उनले भने, ‘उच्च सतर्कता अपनाइरहेका छौं। शंकास्पद व्यक्तिको उपचारमा संलग्न चिकित्सकको सुरक्षामा पनि हामी सतर्क छौं। अस्पतालमा ‘क्वारेन्टाइन र आइसोलेसन’ बेड समेत तयारी अवस्थामा छन्।’

पछिल्लो समयमा यसको प्रभाव विश्वभर फैलिदैं गएकोले थप सतर्कता अपनाउन जरुरी रहेको उनले बताए। ‘सरकारले पनि यस विषयमा नियमित जानकारी लिने र दिने काम गरिरहेको छ। माथिल्लो निकायको निर्देशन बमोजिम हामीले पनि रणनीति परिवर्तन गर्दै जाने हो।’

तर यसले महामारीको रुप लिएमा भने अस्पतालमा धेरैजनालाई राखेर उपचार गर्न नसक्ने उनले बताए। ‘हाल पाँच/छ बेड त तयारी अवस्थामा छन्। आवश्यक परेको खण्डमा केही थप्न पनि सकिन्छ।’ उनले भने संख्या अत्याधिक भएमा चाहि अन्य अस्पतालमा पनि उपचारको व्यवस्था गर्नुपर्छ।’ उनले भने।

यता त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काले भने अहिलेसम्म यस विषयमा उपल्लो निकायबाट कुनै निर्देशन वा जानकारी नआएको बताए। मातहतका निकायबाट कुनै निर्देशन नआएको भए पनि आफूहरुले सामान्यरुपमा आन्तरिक तयारी भने गरेको उनले बताए।

‘मन्त्रालय वा विभागबाट अहिलेसम्म कुनै निर्देशन आएको छैन। तर हामीले आन्तरिक रुपमा सहकर्मीसँग यस विषयमा छलफल गर्ने गरेका छौं।’ नागरिकसँग उनले भने, ‘शंकास्पद बिरामी आएमा कसरी सावधानी अपनाउने भन्ने विषयमा छलफल हुन्छ। अहिलेसम्म त्यस्तो शंकास्पद बिरामी भेटिएको छैन। शंका लागेमा हामीले पनि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामै पठाउने हो। यस विषयमा हामी सचेत छौं।’

संसदमा ध्यानाकर्षण

प्रतिनिधि सभाका सांसदहरुले विश्वभर त्रासका रुपमा फैलिएको कोरोना भाइरसबारे नेपालले पर्याप्त सतर्कता अपनाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबारको बैठकमा उनीहरुले नेपालसँग जोडिएका सीमा नाका बन्द गरेर भएपनि सतर्कता अपनाउनुपर्ने धारणा राखेका हुन्।

सांसद उमा रेग्मीले कोरोनाबारे सरकारले सतर्कता अपनाउन चासो नदेखाएको भन्दै डरलाग्दो रुपमा देखिएको यो प्रभावबाट बच्न सतर्कता नअपनाएको बताइन्। उनले भारतसँग जोडिएका नाकाहरुबाट निर्वाध आवतजावत भइरहेको भन्दै सरकारले यसलाई सम्बेदनशील रुपमा लिएर नाकाहरु बन्द गन सुझाव दिइन्।

उनले अरु देशले नाका बन्द गरिसकेको अवस्थामा नेपाललाई पनि नाका बन्द गर्न कुनै अप्ठेरो नपर्ने धारणा राखिन्। त्यस्तै, तुलसा थापाले विश्व स्वास्थ्य संगठनले नेपाल समेत उच्च जोखिममा रहेको भन्दै यस्तो अवस्थामा नेपालमा कोरोना छिर्यो भने भयावह हुन सक्ने चेतावनी दिइन्। उनले रोकथाम गर्न र विदेशबाट आउने यात्रुलाई हेल्थ डेक्स स्थापना गरेर नागरिकको ज्यान बचाउन आग्रह गरिन्।

सांसद कृष्णभक्त पोखरेलले कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिरहेको भन्दै विश्वमा ९० हजार मानिस यो रोगबाट प्रभावित भएको ३ हजारको मृत्यु भएको भन्दै सबै उपाय अवलम्बन गर्न आग्रह गरेका छन्। सांसद छक्कबहादुर लामाले तातोपानी नाका र रसुवाबाहेक अन्य नाकामा क्वारेन्टाइनको व्यवस्था नभएको भन्दै हाल हिउँलेमात्र क्वारेन्टाइनको काम गरेको बताए। उनले हिउँ बिलाएपछि समस्या आउने भन्दै ती स्थानमा क्वारेनटाइनको व्यवस्था गर्न माग गरे।

प्रकाशित: १९ फाल्गुन २०७६ ०९:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App