१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

छिटो उपचार गरे दुबी निको हुन्छ

छाला सौन्दर्यसित जोडिएको प्रमुख अंग मानिन्छ। छालामा लाग्ने विभिन्न रोगका कारण मानिस समस्यामा परेका हुन्छन्। तीमध्ये आम रूपमा देखिने दुबी पनि एक हो। जुन रोगको सजिलै उपचार हुँदैन।

छालाको बाहिरी भागमा सेतो या कालो दाग देखिने र फैलिने समस्यालाई अंगे्रजीमा ‘भिटिलिगो’ भनिन्छ नेपालीमा दुबी भनिन्छ। दुबी दुई प्रकारका हुन्छन्। एउटा सेतो दुबी, जुन शरीरमा रङ उत्पादन गर्ने ‘मेलानोसाइट’ नष्ट भएर हुन्छ भने अर्को फंगस या कीटाणुको कारणले हुने गर्छ। यो शरीरमा ‘भार्षिकोलार’ नामक कीटाणुको कारणले हुन्छ।

पहिलो प्रकारको अर्थात् सेतो दुबी उपचारपछि पनि सजिलै निको हुँदैन। ढुसीको कारणले भएको दुबीचाहिँ उपचारपछि निको हुन्छ। यो दुबी प्रायः गर्मी  मौसममा बढी देखिन्छ। ताप बढी भएको अवस्थामा यो चिलचिलाउँछ। यो दुबी शरीरका देखिने भागहरू प्रायः अनुहार, घाँटी र हातमा देखिन्छ।

 दुबीले शारीरिक रूपमा कुनै असर पार्दैन। तर यसले अविवाहित तथा युवायुवतीलाई भने मानसिक रूपमा हीनताबोधको सिकार बनाउँछ।

सेतो दुबीले ओठ तथा औंलाहरू पूरै सेतो बनाउँछ। यो दुबी शरीरमा हुने ‘मेलानोसाइट’ भन्ने कोष नष्ट भएमा हुन्छ। यो कोषले शरीरमा रङ उत्पादन गर्ने काम गर्छ। मेलानोसाइट कुनै कारणले नष्ट भयो भने शरीरमा रङ हराउँदै जान्छ। कसैको कुनै निश्चित भागमा मात्र रङ हराउन सक्छ। कसैको शरीरभरको रङ हराउँछ। यसको कारण थाहा छैन।

वीर अस्पतालका वरिष्ठ छालारोग विशेषज्ञ भास्कर कायस्थका अनुसार मेलानोसाइट कोष नष्ट हुनुको खास कारण थाहा छैन।  तर हालसम्म वंशाणुगत र स्नायुको रसायनको गडबडीले पनि मेलानोसाइट नष्ट भएर जान्छ। नेपालमा यो रोग कुल बिरामी संख्याको एकदेखि दुई प्रतिशत छन्। समुदायमा भने यो रोग थप संख्यामा हुने चिकित्सक बताउँछन्। जो उमेर पुगिसकेका कारण उपचारमा आउँदैनन्। समुदायमा यो समस्या ३ देखि ४ प्रतिशत रहेको तथ्यांक छ।

दुबीले शारीरिक रूपमा कुनै असर पार्दैन। तर यसले अविवाहित तथा युवायुवतीलाई भने मानसिक रूपमा हीनताबोधको सिकार बनाउँछ।
स्नायु रोगका कारण पनि सेतो दुबी हुन्छ। स्नायु रोगमा सँगसँगै आँखा दुख्ने रोग पनि उत्पत्ति हुन्छ। सेतो दुबी अनुहार या हातमा छ भने सबै मानिसले हेयको दृष्टिले हेरेको हो कि भन्ने सोच गर्छन्। शरीरभरि छ भने पछि गएर सामान्य रूपमा लिँदै जान्छन्। यसको उपचार छ। पहिला यो रोगको उपचार थिएन।

हाल यो रोगको उपचार नेपालमा पनि छ।  यसका लागि खाने औषधि र लगाउने औषधि, पुभा थेरापी प्रचलनमा छ। औषधि खाएर अल्ट्राभाइलेट थेरापी उपचार छ। यो उपचार धुलिखेल अस्पताल र टिचिङ अस्पतालमा छ। यी परम्परागत उपचार हुन्। अहिले तीभन्दा आधुनिक उपचार पद्धति आइसकेका छन्।
साथै विदेशमा यो रोगको थप आधुनिक उपचार पद्धति विकास भइसकेको छ। पछिल्लो पद्धतिअनुसार राम्रो भागको सेल निकालेर मेलासाइट नष्ट भएको भागमा लगेर प्रत्यारोपण गर्ने गरिन्छ। यो उपचारअन्तर्गत छिटोभन्दा छिटो उपचार गरे निको हुने चिकित्सक सुझाउँछन्।

 यो रोग लागेको चार÷पाँच वर्षपछि उपचारमा गएमा  औषधि गरे पनि निको नहुन सक्छ। मेलानोसाइट  नष्ट भएको भागमा प्रत्यारोपण सफल नहुन सक्छ।

दुबीका लक्षण :
–शरीरका विभिन्न भागमा सेतो दाग देखिनु
–आँखाको परेला सेतो हुनु
– छालाको रौं सेतो हुनु।

प्रकाशित: २१ वैशाख २०७६ ०३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App