रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको बाढीमा परी घाइते भएर उद्धार गरी वीर अस्पताल उपचारका लागि ल्याइएका २० जनामध्ये १७ जना डिस्चार्ज भएका छन् ।
वीर अस्पतालका निर्देशक डा विकास नेपालका अनुसार बाढीमा परी घाइते भएकामध्ये २० जनालाई उपचारका लागि वीर अस्पताल ल्याइएको थियो । तीमध्ये १७ जना स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज भएका हुन् भने तीन जनाको उपचार भइरहेको छ ।
अस्पतालमा उपचाररत तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशक डा नेपालले जानकारी दिए । यसैबीच, बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।
सहायता कक्षमार्फत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिने तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ । अस्पतालमा आफन्तजन आफ्ना परिवारका सदस्यको अवस्थाबारे जानकारी लिन पुगिरहेका छन् ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत वितरणको कामलाई पनि निरन्तरता दिइएको छ । उद्धार गरिएका घाइतेको उपचार तथा उनीहरूका आफन्तसँग समन्वय गर्न सम्बन्धित निकायले आवश्यक पहल गरिरहेका छन् ।
प्रकाशित: २१ भाद्र २०८३ २१:३६ आइतबार





