१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

वीरमा अप्रेसन मिती कुर्दा कतै रोगले सक्ने त होइन ?

दीपक दाहाल/अर्जुन सुवेदी, काठमाडौ, भदौ ४- नुवाकोट त्रिशुलीबजारकी सिता रोइलाको पित्तथैलीमा पत्थरी र मिगौलामा फोका छ। दुई महिनादेखि वीर अस्पताल धाइरहेकी उनलाई बुधबारसम्म शल्याक्रियाको मिति तोकिएको छैन्। ‘पालो तोकेपछि पनि कम्तिमा चार महिना लाग्छ भन्छन्।' वीर अस्पातालमा भेटिएकी रोइलाले भनिन् ‘नीजिमा गराउन पैसा छैन् यहाँ आउदा जादैमा हजारौ सकिइसक्यो।'

असारको पहिलो साता वीर अस्पताल आएका हाइड्रोसिलको उपचारका लागि आएका जितबहादुर घिसिङलाई चिकित्सकले शल्याक्रिया गर्नुपर्छ भनेका छन्। शल्याक्रियाको मिति तोक्नकै लागि उनलाई चिकित्सकले गत आइतबार बोलाए। आइतबार दिएनन्। बुधबार आउन भने तर डाक्टर नै भेट्न पाएनन्। हाइड्रोसिलको शल्याक्रिया सामान्य शल्याचिकित्सा अर्न्तगत पर्छ , त्यसका लागि उनी दुइ महिनादेखि धाइरहेका छन्। उनीसँगै आएका छिमेकी दोर्जे सिङताङले भने, ‘मैले त नीजितिर गरूँ भनेको पैसा छैन् भन्छ त्यो भन्दा बढी खर्च भइसक्यो।'

 

लामो समयसम्म शल्याक्रियाको मिति लिनै धाइरहेकाहरू थाकीसके तर, ठूलो संख्यामा शल्याक्रियाको मिति कुरेर बसिरहेका छन्। बीरमा विभिन्न विभाग र यूनिट अर्न्तगत झण्डै ६ सय जना लामो समयदेखि शल्याक्रियाको पालो पर्खिरहेका छन्। चिकित्सकहरू वीरामीको अवस्था हेरी आकास्मिक शल्याक्रिया गरिने भएपनि विरामीलाई रोग पालेर कुराउनुपर्ने वाध्यता छ। ‘५/६ महिनाको पालो दिएपछि यसै निरास भएर नीजिमा जान्छन्।' वीरका निर्देशक डा.बुलन्द थापाले भने, ‘अर्थिक रूपले नसक्नेहरू दुखाई सहेरै पालो कुर्छन्।' लामो समयको अन्तरालमा पालो दिदाँ पनि आकस्मिक शल्याक्रियाको चाप, चिकित्सक विदामा बसेको समय परेमा पालो लम्बिने गरेको छ।

 

अर्को ठूलो शिक्षण अस्पतालको अवस्था झन् त्यो भन्दा पनि कहाली लाग्दो छ। दुबै अस्पतालमा दैनिक १५ देखि २० शल्याक्रिया हुन्छन्। लामो समय कुर्नुको सट्टामा केही रकम जुटाउनसक्नेहरू नीजि अस्पतालमा शल्याक्रिया गराउछन्। निजी र सरकारी अस्पतालमा सामान्यदेखि ठूला अस्प्तालमा समेत शल्याक्रियाका लागि लाग्ने खर्चको अन्तर तीनदेखि पाँच गुणा छ। ‘नीजि अस्पतालमा यो अप्रेसनको ५० हजार लाग्छ रे यहाँ १० /१२ हजारमा हुन्छ।' रोइलाकी छोरी वेली बोगटीले भनिन्।

 

अस्पतालहरूले भौतिक पूर्वाधार र जनशक्तिको अभावमा शल्याक्रियाका लागि विरामीलाई पर्खाउनु परेको जनाएका छन्। ‘भोली ओपिडीमा हेरेको विरामीलाई म कम्तिमा अबको १० महिनापछि मात्रै शल्याक्रियाको पालो दिनसक्छु ‘ शिक्षण अस्पतालका बरिष्ठ युरो सर्जन डा.भोलाराज जोशीले नागरिकसँग भने। डा.जोशीका अनुसार युरो सर्जिरी सबैभन्दा बढी पालो कुर्नुपर्ने यूनिट हो।

 

जसमा विशेषज्ञ चिकित्सकको जनशक्ति कम र उपचार गर्नुपर्ने रोग धेरै छ। संख्याका आधारमा धेरै शल्याक्रिया गर्ने भएपनि शल्याक्रियाको पालो पर्खिरहेकाहरूको सूचीमा १ हजार भन्दा लामो छ। बरिष्ठ र दक्ष चिकित्सकीय जनशक्ति र उपकरण भएको आधार वीर शिक्षण जस्ता ठूला सरकारी अस्पतालमा पालो पाएसम्म जोसुकै पनि बाहिर जान चाहादैनन्। महङ्गो शूल्क तिरेर दक्ष चिकित्सक रोज्नेहरूको विकल्प नीजि अस्पताल बनेका छन्। अधिकांश दक्ष चिकित्सकहरू कुनै न कुनै नीजि अस्पतालमा सेवा गर्छन्।

 

मुलुककै ठूलो भनिएको वीर अस्पतालमा सामान्य वाहेक ९ वटा शल्याकक्ष छन्। तर, बरिष्ठ शल्याचिकित्सकको संख्या पनि ९ जना नै छन्। सामान्य शल्याचिकित्सा अर्न्तगत तीन यूनिटमा एक/एक, यूरोलोजीमा एक, काडियोथोरासिसमा दुई, ग्यास्ट्रोमा एक, न्यूरोमा तीन शल्याचिकित्सक छन्। बर्न र प्लाष्टिक सर्जरी विभागमा बरिष्ठ सर्जन छैनन्। ४० वर्षअगाडीको पूर्वाधारमा हामीले यति ठूलो जनसंख्यालाई सेवा दिइरहनु परेको छ।'

 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का रजिष्ट्रार डा.मुकुन्दराज पन्थीले भने।चिकित्सकहरू शल्याक्रियाका लागि चाहिने पूर्वाधार, विशेषज्ञ जनशक्ति मात्रै होइन् अप्रेसनलाई सघाउने जनशक्ति पनि प्रयाप्त छैन्। विशेषज्ञ जनशक्तिका हिसाबले वीर भन्दा शिक्षण अस्पतालमा प्रसस्त भएपनि शल्याकक्षको अभाव उस्तै छ। अस्पतालमा आठ वटा शल्याकक्ष छ। अस्पतालमा रहेका विभिन्न यूनिटहरूले सातामा एकदेखि डेढदिनसम्म मात्रै शल्याकक्षमा पालो पाउँछन्।

 

हप्तामा अधिकतम २ दिन पालोपर्दा १० देखि ५ वजे सरकारी अस्पतालमा बस्ने डाक्टरहरू अन्यबार मुस्किलले अस्पतालमा २/३ घन्टा विताउछन्। ‘सरकारीमा शल्याकक्ष हुदैन् सातै दिन काम गर्ने अवस्था नहुँदा कम्तिमा नीजिबाट त विरामीले सेवा पाइरहेका छन् भन्नु पर्ने अवस्था छ।' डा पन्थीले भने। शिक्षण अस्पतालमा निर्माण भएका तीनवटा शल्याकक्ष सञ्चालनमा आउन सकेका छैनन्। वीरमा पित्तथैली, मिर्गौलाको पत्थरी, पेटसम्बन्धी अन्य विभिन्न रोग, टाउको, हाडजोर्नी, नाक, कान, घाँटी रोगका विशेष प्रकारको शल्याक्रिया हुन्छ। विभिन्न विभागभित्रका छुट्टा छुट्टै यूनिटलाई ती पालो भाग लगाउँदा धेरै विरामीको चाप हुनेमा यूनिटले हप्तामा डेढ दिन र सामान्यतयः एक दिन पालो पर्ने वीर अस्पतालका ग्यास्ट्रो शल्याचिकित्सक डा.सुवोध अधिकारीले बताए। आँखाबाहेकका सबै यूनिटमा कम्तिमा एक सयदेखि डेढ दुइसयको लाइन छ।

 

सामान्यमा हाइड्रोसिल र हर्निया पर्छन्। त्यसको अप्रेसनका लागि पनि कम्तिमा ६ महिना पर्खिनुपर्छ। त्यो बाहेक रोग छुट्याउन इन्डास्कोपी अल्ट्रासाउन्ड र भिडियो एक्सेका लागि पनि वीरमा १५ दिन पर्खिनु पर्छ। ‘बाहिर भन्दा पाँच सय कम लाग्ने यस्ता परीक्षाण पनि समयमा दिन सकेका छैनौ।' वीर अस्पतालका निर्देशक डा.बुलन्द थापाले भने, ‘यहाँ समयमा सेवा दिनसक्दैनौ अस्पतालबाहिर सबै सेवा दिन तयारको भीड छ पब्लिक त्यतै जान्छन्।'

 

अनुसार पित्तथैलीको पत्थरीको शल्याक्रिया गर्न सामान्य वेडमा बसेर वीरमा ५ /६ हजारले पुग्छ, टिचिङ्गमा १० हजारको हाराहारीमा लाग्छ। त्यस्ता अप्रेसन नीजि अस्पतालमा ४५ देखि ५५ हजारको हाराहारीमा लाग्छ। ‘टाउको, न्यूरो, कार्डियोथोरासिकका अप्रेसनमा त एक/डेढ लाख नै फरक पर्छ ' निर्देशक डा.थापाले भने। अधिकाशं चिकित्सकले हप्तामा पालो पाउदा चिकित्सकहरू अवस्था हेरी २ देखि ७/८ वटासम्म शल्याक्रिया गर्छन्।

 

चिकित्सकहरू आर्थिक रूपमा नसक्ने भएपनि लामो समय कुर्दा खतरा हुनसक्ने अवस्थामा नीजिमा जान सल्लाह दिने गरेका छन्। शिक्षण अस्पतालका पूर्व निर्देशक एवं वरिष्ठ शल्याचिकित्सक डा.महेश खकुरेलले शल्याक्रिया र जनशक्ति अवाभसँगै व्यावस्थापन र सरकारीमा काम गर्ने इच्छाशक्तिको अभावमा सेवा लिनै यति लामो लाइन बस्नुपर्ने अवस्था रहेको बताए। ‘सरकारी अस्पतालमा पनि पेइनवाड चलाएर नीजिमा भन्दा सुलब सेवा दिनसकिन्छ।' डा.खकुरेलले भने, ‘सरकारी भन्नासाथ जागिरे मानसिकता राखिन्छ।'

 

अस्पताल स्रोतका अनुसार खकुरेलले आफू निर्देशक हुँदा नै पेइन शल्याक्रियाका लागि पहल गरेको थिए। तर एनेस्थेसिया विभागले ५० प्रतिशत रकमको दावि गरेको थियो। मेडिसिन विभाग र अन्य कर्मचारीले डाक्टरले मात्रै थप कमाउँने भए भन्दै असहयोग गरेका थिए।

 

वीर अस्पतालका रजिष्ट्रार डा.पन्थीले पनि शल्याक्रिया कक्ष बनाएर चिकित्सकलाई थप समय काम गरेको थप सुविधा दिएर काम लगाउन र सेवा विस्तार गर्न सकिने बताए। ‘नीजिमा भन्दा केही थोरै नै पाएपनि सरकारीमै सेवा गर्रौ भन्ने धारणा हुन्छ।' डा.पन्थीले भने, ‘विरामीले पनि सेवा पाउँछन् अस्पतालको पनि आम्दानी बढ्छ।'

प्रकाशित: ३ भाद्र २०६७ १७:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App