१४ चैत्र २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

डिनले प्रतिशोधमा डा. खकुरेल हटाए

दीपक दाहाल, काठमाडौं, भदौ ३- त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (शिक्षण अस्पताल) का डिन डा. अरुण सायमीले स्नातकोत्तर प्रवेश परीक्षामा अनियमितता छानबिन गरेको प्रतिशोधस्वरूप प्रतिष्ठित शल्य चिकित्सक डा. महेश खकुरेललाई हटाएका छन्।

  २४ वर्षयता संस्थानमै सेवारत डा. खकुरेलको म्याद थप्ने शल्यक्रिया विभाग, फ्याकल्टी डक्टर्स एसोसिएसन र वरिष्ठ प्राध्यापकहरूको दबाब हुँदाहुँदै डा. सायमीले करार नथपेका हुन्।


स्रोतका अनुसार डिनले करार नियुक्त गरेका प्राध्यापक रोशना अमात्य र प्रभू जोशीको भने अवधि थप्न विश्वविद्यालयलाई सिफारिस गरिसकेका छन्। डिनको सिफारिसमा विश्वविद्यालयले करार अवधि थप्ने प्रचलन छ।


गत चैतमा एमबिबिएस प्रवेश परीक्षा अनियमितता जाँचबुझ बनेको समितिमा खकुरेल सदस्य थिए। प्रवेश परीक्षामा सायमीले धाँधली गरेको भन्दै १९ दिनसम्म अस्पताल बन्द भएको थियो।


खकुरेलकै नेतृत्वमा ग्यास्ट्रो इन्टेस्टिनलको पिएचडीसरहको सुपर स्पेसलाइजेसन कार्यक्रम (एमसिएच) सुरु गरिएको थियो। 'उहाँलाई कम्तीमा एक वा दुई छिमल उत्पादन गरेर मात्रै छाड्ने गरी मनाएका थियौं,' शल्यचिकित्सा विभाग प्रमुख एवं अस्पतालका वरिष्ठ युरो सर्जन डा. भोलाराज जोशीले नागरिकसँग भने, 'यति लामो योगदान गरेको मान्छेसँग हाम्रो पनि सपना जोडिएको थियो तर अहिले म्याद नथपिँदा दुःख र आश्चर्य लागेको छ।'


खकुरेल निर्देशक हुँदा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म अस्पतालमै रहेर कार्यालय समयबाहेक कुनै सुविधा नलिएको डा. जोशीले बताए। 'यसबाटै उहाँको संस्था र सेवाप्रतिको प्रतिबद्धता प्रमाणित भइसकेको थियो,' उनले भने, 'उहाँको अनुपस्थितिमा शैक्षिक कार्यक्रममै धक्का लागेको छ।'


डा. खकुरेलकै नेतृत्वमा नियमित रूपमा नचिरीकन पत्थरी निकाल्ने प्रविधि ल्याप्रोस्की र नेपालमै पहिलो पटक मिर्गौला प्रत्यारोपण सुरुवात भएको थियो।


त्रिवि सेवा ऐनअर्न्तगत गत वर्ष उमेर हदका कारण अवकास पाएका खकुरेललाई विभागको सिफारिस एवं वरिष्ठ चिकित्सकको आग्रहमा करार नियुक्ति गरिएको थियो।
आफूले थालेको शैक्षिक कार्यक्रमको कम्तीमा एक छिमल निकाल्न चाहे पनि डिन कार्यालयले करार नथपेको डा.खकुरेलले बताए। 'म धेरै समय बस्दा नयाँलाई अवसर हुँदैन भनेर गत वर्ष नै छाड्न तयार थिएँ,' उनले भने 'तर, शल्यचिकित्सा विभाग र वरिष्ठ चिकित्सकको अनुरोधमा सरकारीमै एमसिएच कार्यक्रम थालेको हुँ।'


गत वर्ष शिक्षण अस्पतालमा अवकास पाएलगत्तै उनलाई निजी क्षेत्रबाट आकर्षक प्रस्ताव आउँदा पनि उनले सरकारी र प्रतिष्ठित संस्था भनेर छाडेका थिएनन्। आगामी दिनमा स्वास्थ्य क्षेत्रमै काम गर्ने उनले बताए।


जा"चबुझ संलग्न भएकैले खकुरेललाई प्रतिशोधपूर्वक निकालिएको चिकित्सक, नर्सिङ, प्यारामेडिक्स कर्मचारीलगायतको निष्कर्ष छ।


खकुरेल सदस्य र पूर्व शिक्षा सचिव जयराम गिरी अध्यक्षता रहेको सरकारी समितिले डिन डा.सायमीलगायत पदाधिकारीलाई उपकरण खरिद र प्रवेश परीक्षालगायत विषयमा दोषी देखाएको थियो। समितिकै प्रतिवदेनका आधारमा शिक्षा मन्त्रालयले डिनलगायत पदाधिकारीलाई कारबाही गर्न भने पनि विश्वविद्यालय अहिलेसम्म कार्यान्वयन गरेको छैन।


डा. खकुरेल दोषी पदाधिकारीलाई कारबाही गर्नुपर्ने अडानमा उभिएपछि डिन डा. सायमी कुनै हालतमा उनको म्याद नथप्ने पक्षमा थिए।


ग्यास्ट्रो सर्जरीमा पिएचडी सरहको दुईवर्षे पढाइ सुरु भएको सन्दर्भमा खकुरेलजस्ता अनुभवी अपरिहार्य रहेको भन्दै भोलाराज जोशी, प्रदीप वैद्य, भगवान कोइराला, गोविन्द केसीलगायतले करार नवीकरणका लागि दौडधुप गरेका थिए।


'एमसिएच कोर्सलाई सार्थक बनाउन उहाँकै नेतृत्व चाहिन्छ भनेर धेरै पहल गर्‍यौं,' वरिष्ठ कार्डियोथोरासिक सर्जन कोइरालाले भने, 'थप एक/दुई वर्ष उहाँको सिप र दक्षता उपयोग गर्न सकेको भए निकै राम्रो हुन्थ्यो।'

प्रकाशित: २ भाद्र २०६७ २१:३२ बुधबार