गर्मी मौसममा तापक्रमको वृद्धिसँगै भिँगा, लामखुट्टे, उडुस, उपियाँको वृद्धिका कारण विभिन्न थरिका संक्रामक रोग उत्पन्न हुन्छन् । गर्मी मौसममै सर्पको टोकाइ, बहुला कुकुरको टोकाइका घटना पनि बढ्ता हुने गरेको छ । महामारी फैलिन सक्छ । हावाहुरीको कारणले आँखाको तथा छालाको स्वास्थ्यमा असर गर्न सक्छ ।
दूषित खाना, पानी, फोहोर हात, भाँडाकुँडा, झिँगा, लामखुट्टे आदिको माध्यमबाट सरुवा रोगहरु संक्रमित व्यक्तिबाट निरोगी व्यक्तिमा सर्दछ । यस्ता खाले संक्रामक रोगहरु ब्याक्टेरिया, भाइरस, प्रोटोजोआ आदिको कारणले लाग्दछ । टाइफाइड (म्यादे ज्वरो), रगत मासी, हैजा, घाउ, खटिरा ब्याक्टेरियाका कारण लाग्ने सरुवा रोगहरु हुन् भने दादुरा, मेनिन्गोइन्सेफलाइटिस, हेपाटाइटिस ए तथा फाट्टफुट्ट रुपमा सुख्खा मौसममा पनि रुघाखोकी तथा श्वासप्रश्वाससम्बन्धी संक्रमण भाइरसका कारण हुने गर्दछ । मेनिन्जाइटिस, झाडापखाला तथा घाउ खटिराजस्ता संक्रमणहरु सुुरुमा भाइरसका कारण उत्पन्न हुन्छन् ।
औलो, कालाज्वर, आउ“जस्ता रोगहरु प्रोटोजोआको कारण लाग्ने सरुवा रोग हुन् । तराईंको जस्तै उष्ण हावापानी भएका भित्री मधेस, टार, खोंचमा लामखुट्टेको टोकाइबाट औलो, इन्सेफलाइटिस तथा कालाज्वरजस्ता सरुवा रोगहरु पनि देखिन सक्छ ।
आँखा पाक्ने समस्या
आँखालाई ढाक्ने एउटा पातलो पारदर्शी झिल्लीमा ब्याक्टेरिया, भाइरस, एलर्जीको कारणले संक्रमण हुँदा आँखा पाक्ने रोग लाग्छ । दूषित पानी र सरसफाइको कमीले वर्षात् मौसममा यसको प्रकोप अलि बढ्ता हुन्छ । आँखा पाक्दा आँखा रातो हुनुको साथै चिप्रा लाग्ने, आँसु बग्ने, बिझाउने, आँखाको गेडा दुख्ने, टाउको दुख्ने, पातलो सिँगान आउने, उज्यालोमा हेर्न अप्ठयारो हुने हुन्छ ।
रोकथाम
आँखा पाक्ने समस्या हुँदा आँखा छोइराख्नु हुँदैन । पटक–पटक साबुन पानीले हात धुनुपर्छ । आँखा पाक्ने समस्या अत्यन्त सरुवा प्रकारको हुनसक्ने हुनाले संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टाबेललगायतका सामान अन्य व्यक्तिले प्रयोग गर्नु हुँदैन । चर्को उज्यालोबाट बच्न कालो चश्मा लगाउनु राम्रो हुन्छ । दिनमा ३–४ पटक आँखा पखालेर औषधि हाल्नु पर्छ । समस्या गम्भीर भएमा सम्बन्धित विशेषज्ञलाई देखाई थप औषधि खानुपर्छ ।
कीटजन्य सरुवा रोग
कीट वा मसिना कीरा भन्नाले रोगी वा संक्रमित व्यक्तिको शरीरमा रहेका जीवाणु वा परजीवीलाई निरोगी मानिसमा सार्ने माध्यमलाई बुझाउँछ । नेपालमा पनि धेरै थरिका कीटजन्य स्वास्थ्य समस्या अथवा सरुवा रोगहरु व्याप्त छ । लामखुट्टे, भुसुना, टिक्स बढी जसो जिम्मेवार मानिस तथा जनावरमा यस्ता खाले सरुवा रोगहरु गराउन सक्षम छन् । लामखुट्टेले औलो, डेंगुका साथै हात्तीपाइले, चिकनगुनिया तथा ऐलो फिभर पनि गराउँछ । यीमध्ये औलो सबभन्दा डरदाग्दो कीटजन्य स्वास्थ्य समस्या हो ।
रोकथाम
अभिभावकको सहयोगमा घर वरिपरिको वातावरण सफा राख्नुपर्दछ । विशेषतः खाल्डो, ड्रम तथा टायरमा पानी जम्न दिनु हुँदैन । लामखुट्टे तथा अन्य कीटहरुको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने गर्नुपर्दछ । लामखुट्टेबाट बच्न क्वाइल तथा लिक्विड बाल्नुभन्दा झुलको प्रयोग गर्नु बुद्धिमानी हुन्छ ।
खाना तथा पानीजन्य सरुवा रोग
ब्याक्टेरिया, परजीवी, विषाणु, रासायानिक पदार्थको उपस्थितिका कारण खाना तथा पानी दूषित हुनसक्छ । खाना तथा पानी प्रदूषित हुने सम्भावनाका धेरै चरण छन् । खाद्य पदार्थको उत्पादन, प्रशोधन, ढुवानी, भण्डारण, वितरण, तयारी तथा ग्रहणमा गएको आधा दशक व्यापक परिवर्तन आएको छ । प्रदूषित खानाकै कारण संक्रमण यताउती पुग्न सक्छ । कमजोर आर्थिक तथा सामाजिक स्थिति भएका विपन्न वर्गका मानिसका साथै शिशु, गर्भवती महिला, जीर्णरोगी, वृद्धमा खानाजन्य संक्रमण बढ्दा प्राणघातक साबित हुन्छ ।
प्रदूषित खाना तथा पानीका कारण साल्मोनेल्ला, इ कोलाइ, लिस्टेरिया, भिब्रिओ कोलेरा, नोरोभाइरस, हेपाटाइटिस ए भाइरस, विभिन्न खाले जुका, इन्टामोबिया हिस्टोलाइटिका, शिगेल्ला, जियारडिया, प्राओनजस्ता जीवाणु तथा प्राकृतिक तवरमै हुने टक्सिन (माइकोटक्सिन, बायोटक्सिन, एफ्लाटक्सिन) एवं हेभी मेटलले कालान्तरमा क्यान्सर, स्नायु जन्य रोग, मिर्गौला तथा रोगसँग लड्न सक्ने क्षमता कम गराउने समस्या निम्त्याउँछ ।
रोकथाम
चकलेट, आईसक्रिम तथा मिठाइ पाउँदा चाटी चाटी खाने बानी हुन्छ । खेल्दाखेल्दै, बाहिरबाट आउने बित्तिकै खान हतारिने स्वभाव हुन्छ । खेलिसकेपछि, दिसा गरिसकेपछि, खाना खानु अघि तथा पछि साबुनपानीले हात धुने गर्नुपर्दछ । हात धुने मामिलामा भाईबहिनीहरु अलि अल्छि गर्ने बानी हुन्छ । त्यसैले प्रत्येक पटक दुई पटक हात धुनु बुद्धिमानी हुन्छ । बासी सडेगलेका खानेकुरा खानुहुँदैन । पानी उमालेको वा फिल्टर गरिएको मात्र पिउनु पर्दछ । नियमितरुपमा जुकाको औषधि खाने गर्नुपर्दछ । हैजा, झाडापखाला लागि हालेमा जलवियोजनबाट बच्न जीवनजल जस्ता पुनर्जलीय उपचार थालिहाल्नु पर्दछ ।
सर्पको टोकाइ, बहुला कुकुरको टोकाइको समस्या
तराई तथा भित्री मधेसमा सर्प तथा सहरी क्षेत्रमा बेला मौकामा बहुला कुकुरको टोकाइ भइरहेको हुनसक्छ ।
रोकथाम
त्यसो भएर दुलोमा हात घुसार्ने, अँध्यारोमा हिँड्ने गर्नु हुँदैन । यस समयमा गम्बुट जस्तो जुत्ता लगाउनु राम्रो हुन्छ । अभिभावकबाट बौलाहा कुकुरका लक्षण चिह्नहरू थाहा पाउनु पर्दछ । बहुला कुकुरको बिगबिगी हुँदा सजगता अपनाउनु पर्दछ । अन्य बेला पनि कुकुरलाई जिस्काउने गर्नु हुँदैन ।
छालाको समस्या
भाइबहिनीहरु, गर्मी मौसम छालाको समस्या हुने मौसम पनि हो । गर्मीयाममा घाउ खटिरा आउने, दाद आउने, लुतो आउने, पिलो आउने, जिउ चिलाउने जस्ता समस्या आइपर्छ ।
रोकथाम
हात, खुट्टा तथा शरीर पूरैको सरसफाइ राख्नु नै छालाबाट बच्ने राम्रो उपाय हो । हप्तामा कम्तीमा दुईपटक नुहाउने गर्नु पर्दछ । स्कुलबाट फर्किनेबित्तिकै तथा खेलेर आईसकेपछि हातखुट्टा धुनुपर्दछ । नुहाउने समय छैन भने टावेल भिजाएर जिउ पुछ्नु पर्दछ । सुकिलो तथा सफा कपडा मात्र लगाउनु पर्दछ । मोजा तथा जुत्ताको सरसफाइमा पनि उत्तिकै ध्यान दिनुपर्दछ ।
गर्मी बिदामा स्वास्थ्यको हेरचाह
गर्मी बिदाको समय पारेर छोटो यात्रामा निस्कने योजना बन्न सक्छ । भारी वर्षात्को कारण ठाउँ–ठाउँमा बाढी, पहिरोको कारण निश्चित गन्तव्यसम्म पुग्न तथा त्यहाँबाट फर्किन कठिनाइ हुन सक्द । त्यस्तै परे बाटोमा जाममा पर्ने तथा बाटोमै, गाडीमै रात कटाउनुपर्ने हुनसक्छ । यो पक्षमा अभिभावकहरुले आवश्यक ध्यान दिनुहुन्छ तर बालबालिकाले अनावश्यक दुःख दिनुहुँदैन । साथीभाईसँग मिली पौडी खेल्न जाने वा वनजंगल तिर जाने योजना बन्न सक्दछ । सम्भावित बाढी तथा जुका अनि वन्यवन्तुको आक्रमणबाट सतर्कता अपनाउनु पर्दछ । जाडोको मौसममा भन्दा गर्मीयाममा घरबाहिरका खानेकुरा खाने, हात खुट्टा नधोई खाने बानी गर्नु हुँदैन ।
रोकथाम
कहीँ घुम्न जानुअगाडि मौसमको अपडेट अनि त्यो ठाउँको वर्तमान खैखबर लिनु राम्रो हुन्छ । अभिभावकको निगरानीमा मात्र पौडी खेल्ने तथा वनपाखामा हाइकिङ, छोटो ट्रेक गर्नु बुद्धिमानी हुन्छ । पानीपुरी, चटपटे तथा ममः एवं चाउमिन लगायतका अन्य फास्टफुड घरमै बनाएर खानु राम्रो हुन्छ । सबैभन्दा मुख्य कुरा त जाडो याममा भन्दा तीन चार गुणा हातखुट्टा धोई राख्ने गर्नु पर्दछ ।
प्रकाशित: १ आश्विन २०७५ ०९:५० सोमबार