नेपालमा रगतसम्बन्धी विभिन्न रोग देखापरिरहेका छन् । केही गम्भीर रोग निश्चित समूहमा देखिन्छ भने केही रोग सबै खालका समुदायमा । आखिर रगतसम्बन्धी रोगहरू किन बढिरहेका छन् ? प्रस्तुत छ– रगतसम्बन्धी रोगका विषयमा नागरिककर्मी पवित्रा सुनारले सिभिल अस्पतालका हेमाटोलोजी विभाग प्रमुख (रगत रोग बिशेषज्ञ) डा. विशेष पौडेलसँग गरेको विस्तृत कुराकानीः
नेपालमा रगतसम्बन्धी रोगहरू बढेका हुन् त ?
तीन/चार वर्ष अघिदेखिको कुरा गर्ने हो भने मुख्यगरी रगतको क्यान्सर बढेको छ। त्यसमा पनि ‘अक्विड ल्युकिमिया’ बढेको छ । अहिले सातामै १० देखि १२ जनासम्म ल्युकिमियाका बिरामी आउँछन्। पहिला यस्ता बिरामी कम आउँथे। यो रोग अत्यन्त खतरनाक रोग भएकाले हामीले यस्ता बिरामीको उपचारलाई प्राथमिकता दिन्छौं। सिभिल अस्पतालको सम्पर्कमा मात्र यो रोगका बिरामी हजारभन्दा बढी छन्। अघिल्लो वर्ष मात्र २ सय ५० जनाको अक्विड ल्युकिमियाका बिरामी पहिचान गरेका थियौं। पहिलेको तुलनामा रगतका अन्य रोगीहरू पनि बढेका छन्।
बढिरहेका रगतसम्बन्धी अन्य रोगहरू के–के हुन्?
रगतसम्बन्धी अन्य किसिमका क्यान्सर रोगी पनि त्यत्तिकै अनुपातमा बढेका छन्। क्रोनिक ल्युकिमिया, अच्केल ल्युकिमिया, पोलीसाइकोलोसिस्, नन अचकेल ल्युकिमिया, माइलोफाइब्रोसिस्, मल्टिपल माइलोमालगायत छन्। हाम्रो अस्पतालमा आउने बिरामीको तथ्यांक हेरेर कति बढ्यो भन्न सक्दैनौं। तर बिरामी आउने स्थिति हेर्दा बढेको देखिन्छ।
ल्युकिमिया किन बढ्यो त ?
के कारणले बढ्यो भन्ने विषयमा खासै अध्ययन भएको छैन। तर, चिकित्सा विज्ञानका अनुसार ल्युकिमिया बढ्नुका कारणमा पहिला कुनै क्यान्सर भएर रेडियोथेरापी उपचार गरेको व्यक्तिमा, रबर उद्योग, बेन्जिन भन्ने रसायनको सम्पर्कमा रहेका, पेट्रालियम पदार्थमा काम गरेका व्यक्तिमा रगतको क्यान्सर हुने गर्छ। हामीकहाँ आउने बिरामीको इतिहास हेर्दा विदेशका विभिन्न उद्योगमा काम गरेको देखिन्छ। यिनै कारणले हो भनेर रगतको क्यान्सरमा ठोकुवा गर्न मिल्दैन। जसरी अन्य क्यान्सरको कारण ठोकुवा गर्न सकिन्छ। साधरण रुघाखोकी लाग्यो, ज्वरो आयो, घाँटी दुख्यो, शरीरमा स–साना गाँठागुठी आयो, मुखमा घाउ आयो भनेर उपचारमा आउनेहरूमा रगतको क्यान्सर भेटिन्छ। त्यसकारण रगतको क्यान्सर सामान्य उपचारमका लागि आएकाहरूमै भेटिन्छ। खास लक्षण नभएकामा पनि रगतको क्यान्सर देखिन्छ। यी थाहा भएका बाहेक थाहा नभएका धेरै छन्।
ज्वरो आउने, अत्यधिक रक्तश्राव हुने, मुखमा घाउ आउने, निमोनिया हुने, हिँड्दा स्वाँ–स्वाँ हुने, शरीरमा रगत जमेका धब्बाहरू देखिने, शरीरमा गाँठागुठी आउनेजस्ता लक्षण देखिन्छन्।
ल्युकिमियाको सुरुका लक्षण के–के हुन् त ?
ज्वरो आउने, अत्यधिक रक्तश्राव हुने, मुखमा घाउ आउने, निमोनिया हुने, हिँड्दा स्वाँ–स्वाँ हुने, शरीरमा रगत जमेका धब्बाहरू देखिने, शरीरमा गाँठागुठी आउनेजस्ता लक्षण देखिन्छन्। यी लक्षण देखिँदैमा ल्युकिमिया भएको नहुन पनि सक्छ। तर सामान्य रुघाखोकी लागेर उपचारमा आउनेमा पनि ल्युकिमिया हुन सक्छ। तर, यी लक्षण नदेखिए पनि रगतको क्यान्सर भएको भेटिन्छ।
थालसिमिया रोग पनि बढेको हो ?
शरीरमा रातो रगत कोष कमी हुने रोग हो यो । यो वंशाणुगत समस्या हो। थालसिमिया सबै जात तथा वर्णमा हुन्छ। यसमा बुवा–आमा दुवैमा थालसिमिया बन्ने जिन छ भने बच्चामा पनि यो समस्या देखिन्छ। यस्ता जोडीबाट जन्मेका बच्चाहरूमा थालसिमियाको समस्या हु्न्छ। त्यस्तो बच्चाको रगत सात दिन पनि जीवित रहँदैन । लामो समय रगत कमी भयो भने शरीरले रगत बनाउने कोसिस गर्छ तर असफल हुन्छ। यस्तो भएपछि शरीरमा हेमोग्लोविनको मात्रा कमी भइ एनिमिया हुन्छ । त्यसैगरी फियो बढ्ने, कलेजो बढ्ने, हड्डी भिन्दै देखिने हुन्छ । यो रोगबाट बच्ने उपाय भनेको बच्चा जन्मिनुअघि नै हरेक दम्पतिले रगत परीक्षण गर्नु हो। अर्थात् विवाह पूर्व नै जोडीको रगत परीक्षण गर्ने। रगत परीक्षणबाट दुवैमा थालसिमियाको क्यारियर भेटिएमा विवाह नगर्ने। यसका लागि सरकारले हरेक नागरिकको रगत परीक्षण गर्नुपर्छ । ताकि थालसिमिया भएका वच्चाको जन्म नै नहोस्।
थालसिमियाको उपचार के त ?
दुईवटा कुरा के हो भने नेपालको जनस्वास्थ्यमा थालसिमियालाई जोड्नु पर्छ। थालसिमियाको बिरामीलाई बेला–बेलामा रगत चढाउने, शरीरमा हेमोग्लाविनलाई नौ प्वाइन्टभन्दा घट्न नदिने। २० पोका रगत चढाइसकेपछि त्यसले मुटु, कलेजोलाई असर गर्छ। शरीरमा आइरनको मात्रा बढ्न नदिने। यसको मात्रा बढ्दै गएपछि मुटु र कलेजोलाई असर गर्छ । जसकार कारण मुटु, कलेजो, प्यान्क्रियाज् बिग्रन सक्छ । बिरामी धेरै बाँच्दैन। यस्तो अवस्थामा आइरन चिलेटिङ गर्नुपर्छ। यसका लागि आइरन चेलेटिङ एजेन्ट प्रयोग गुर्नपर्छ। यो औषधि निरन्तर खाइरहने हो भने थालसिमियाका बिरामी सामान्य जीवन जिउन सक्छन्। यसका लागि केही नभए पनि एउटा मान्छेका लागि जीवनभर १०÷१२ करोड रुपैयाँ खर्च हुन्छ। थालसिमियाका बिरामीलाई दिने रगत भिन्नै किसिमको हुन्छ। तर, नेपालको सन्दर्भमा भनेका बेला रगत नपाएर र आइरन चेलेटिङ औषधि नपाएर कम उमेरमै मृत्युवरण गर्नुपरेको छ। तीन/चार जना बिरामी मात्र ३० वर्षभन्दा बढी बाँचेका होलान्।
त्यसो भए यी बिरामीका लागि के गर्न सकिन्छ ?
रगत दिइरहने र चेलेटिङ एजेटिङ प्रयोग गर्ने उपचार नेपाली थालसिमियाको बिरामीको हकमा सम्भव छैन। यसको उत्तम विकल्प भनेको बोनम्यारो प्रत्यारोपण मात्रै हो। यो सुविधा सिभिल अस्पतालमै छ। हामीले के भनिरहेका छौं भने जन्मिसकेपछि बाँच्ने अधिकार सबैको हुन्छ। सरकाले यी बिरामीलाई पनि उपचार सेवा दिनुपर्छ। बोनम्यारो प्रत्यारोपणका लागि पाँचदेखि १० लाख रुपैंयासम्म मात्र खर्च हुन्छ। प्रत्यारोपण गरेको खण्डमा एक सय जनामा ८० प्रतिशत बिरामीलाई निको पार्न सकिन्छ र उनीहरूले नयाँ जीवन पाउँछन्। यसका लागि सरकारले मिर्गौला प्रत्यारोपणलाई जस्तो निःशुल्क प्रत्यारोपण सेवाको व्यवस्था गर्नुपर्छ।
सिकलसेल एनिमिया रगतको कस्तो रोग हो ?
यो पनि जिन बिगे्रर हुने रोग हो। जिन बिग्रेपछि जन्मेको बच्चामा हँसिया आकारको रक्तकोष बन्छ। यो भएपछि रगतको प्रवाह रोकिदिन्छ। अक्सिजन कम भएपछि शरीर दुख्ने, जोर्नी दुख्ने, मुटु, मस्तिष्कमा असर गर्ने हुन्छ। मुख्यगरी कडा दुखाइ हुन्छ। यो समस्या थारू समुदायमा एकदमै बढी छ । थारूबाहेक ब्राह्मण र योगी समुदायमा पनि दुई÷दुई जना बिरामी भेटिएका छन्। यसबाहेक सबै थारू समुदायमा मात्रै यो समस्या देखिन्छ। मलेरिया बढी भएका ठाउँमा सिकलसेल देखिन्छ। शरीरले मलेरिया डिफेन्स गर्ने क्रममा सिकलसेलको उत्पत्ति भएको हो। चौधरी समुदाय नेपालका आदिवासी हुन्। यो समुदाय तराईमा मलेरिया फेस् गरेको समूह पनि हो । चौधरी–चौधरी बीचमा मात्र विवाह हुने कारण सिकलसेल यो समुदायमा मात्र देखिएको हो।
थालसिमिया र सिकलसेल एनिमिया कहिले देखिन्छ ?
थालसिमिया, बच्चा जन्मेको तीन महिनादेखि देखिन सुरु हुन्छ। सिकलसेल, जन्मेको एक वर्षभित्रै सुरु हुन्छ।
अप्लास्टिक एनिमियाका बिरामी कत्तिको आउँछन् ?
नेपालमा यो रोगका बिरामी व्याप्त छन्। विदेशमा अत्यन्तै कम देखिने यो रोग नेपालमा छ्याप्छ्याप्ती भेटिन्छन्। यस्तो किन भयो भन्ने कुरा कसैलाई थाहा छैन। कसैले विषादीको प्रयोग र रसायन मल चलाएर भन्छन्। यही कारण हो भन्न सकिने अवस्था भने छैन। यसको उपचार पनि बोनम्यारो प्रतयारोपण नै हो। अप्लास्टिक एनिमियाको उत्तम उपचार बोनम्यारो प्रत्यारोपण नै भनेर जर्नलमा पनि प्रकाशित भएको छ। हामीकहाँ आउने ए प्लास्टिक एनिमियाका बिरामी विपन्न वर्गकै छन्। सम्भवतः धेरै मान्छेलाई बचाउन सक्छौं । एप्लास्टिक एनिमया हुनु भनेको रगतको कोष नै नबन्ने अवस्था हो।
रगतमा एनिमियाको (रक्तअल्पता)को अवस्था कस्तो छ ?
एनिमिया, शरीरमा विभिन्न कारणले रातो रगत कम हुने अवस्था हो। रगतको साधारण रोगमा पनि हेमाग्लोविन कम हुन सक्छ। मिर्गौला, पेटको रोग, बाथ रोग, कलेजोको रोगमा पनि रातो रगतको सेल कम हुन सक्छ। के कारणले हो, त्यो पत्ता लगाउनु पर्छ। आइरन कम भएर, कपर, जीन कम भएर, बढी औषधि खाएर, फोक्सो र पेटको क्यान्सर भएर पनि एनिमिया( रक्तअल्पता) हुन सक्छ। त्यसकारण एनिमियाको कारण पत्ता लगाउनु पर्छ।
हामीकहाँ एनिमिया हुनुको मुख्य कारण के देखिन्छ ?
हामीकहाँ उमेरअनुसार एनिमिया छ। उमेरका महिलाहरूमा आइरनको मात्रा कम भएर हुने एनिमिया कम देखिन्छ । महिनावारीका बेला रातो रक्तकोष बगेर जाँदा एनिमिया कम भएको देखिन्छ। रातो रगत बढी जाँदा आइरन बगेर जान्छ। त्यसैगरी शाहकारीहरूमा पनि भिटामिन ‘बी १२’ को कमीले एनिमिया भएको देखिन्छ। ५० वर्ष माथिकाहरूमा पेटमा अल्सर वा क्यान्सर भयो भने पनि एनिमिया हुन्छ।
रगतका अन्य रोग के छन् ?
आइटिपी अर्थात् प्लेटलेट। शरीरमा प्लेटलेट खाने तत्वको विकास हुने अवस्था हो। यो शरीरमा हुने एन्टिबडी प्रोटिन तत्व हो। रुघाखोकी भाइरल इन्फेक्सन, बाथ ज्वरोका कारणले एन्टिबडी हुन्छ। सय जनामध्ये २५ जनालाई औषधिले निको हुन्छ। बाँकी ७५ जनालाई औषधिको प्रयोग पछि पनि दोहोरिन सक्छ। औषधिले निको नभएकालाई शल्यक्रिया गरी फियो काटेर फालिदिन्छाैं र निको हुन्छ। फियो काटेर फाल्दा सय जनामध्ये ७० जनलाई लामो समयका लागि निको पार्न सकिछ। यो रोग पनि नेपालमा हेर्ने हो भने महामारीजस्तो देखिन्छ। यो रोगका बिरामी दैनिक तीन÷चार जना आउँछन्।
यो रोग बढ्नुको कारण ?
एन्टिबडी हुने चार कारणबाहेक प्राथमिक कारण थाहा छैन। सेकेन्डरी एन्टिबडीको कारण भने लामो समय औषधि प्रयोगेका कारण, बाथरोग, रुघाखोकी संक्रमण, भाइरल संक्रमणले पनि हुन्छ। ७५ प्रतिशतमा आइटिपीको कारण थाहा हुँदैन। १४ वर्ष मुनिका सय जनामा भयो भने ९० प्रतिशतलाई निको हुन्छ। १४ वर्षभन्दा माथिका सय जनामध्ये २५ जनालाई मात्र निको पार्न सकिन्छ। औषधिले काम नगरेर प्लेटलेट ३० हजारभन्दा माथि पुर्याउन सकिएन भने टाउकोमा रक्तश्राव भई बिरामीको मृत्यु पनि हुन सक्छ। यो रोग नियन्त्रणका लागि जनचेतना आवश्यक छ।
प्लेटलेटको सुरुका लक्षण कस्ता हुन्छन् ?
महिनावारीमा बढी रक्तश्राव हुने, जहाँ छोयो त्यहीं रक्तश्राव हुने, शरीरमा नीला धब्बाहरू देखिने हुन्छ। यस्ता लक्षण देखिएमा रगत रोग विशेषज्ञकोमा गई उपचार गराइहाल्नुपर्छ।
हिमोफोलया रोगको अवस्था कस्तो छ ?
हिमोफेलिया रगतसम्बन्धी एउटा गम्भीर रोग हो। रगत जमाउने तत्वहरूको कमीले हुने रोग हो। यो पनि वंशाणुगत रोग हो। नेपालमा तीन हजार बिरामी छन् भन्ने तथ्यांक भए पनि सात सय जना मात्र सम्पर्कमा आएका छन्। यो उपचारमा आवश्यक फ्याक्टर ९ र ८ अमेरिका, स्विडेन र क्यानडाजस्ता देशहरूले सहयोग गर्दै आएका छन्। उनीहरूले दिन छाडेमा यी बिरामी उपचारबाट वञ्चित हुन्छन्। दाताहरूका अगाडि सरकारले एक करोड रुपैयाँ सम्मको औषधि किनेर देखाइदिएको खण्डमा दाताको विश्वास बढ्थ्यो। अस्ति एउटा सम्मेलनमा उनीहरूले नेपालमा सधैं कति सहयोग गर्ने ? नेपाल आफैले किन नकिनेको भन्ने गुनासो आयो। तसर्थ सरकार अब दातृ संस्थाको भर पर्नु हुँदैन।
रगतसम्बनधी कुनै पनि रोगलाई सुरुमै पहिचान गर्न बिरामीले के गर्नु पर्छ ?
नेपालमा किन बिरामी ढिला उपचारमा पुग्छन् ? किन उपचारका लागि विदेश जान्छन् भन्ने मुख्य दुई प्रश्न हाम्रा सामु छन्। मुख्य कुरा, हाम्रो देशमा कुनै पनि पेसामा एक–अर्कोमा विश्वास गर्दैनन्। चिकित्सा पेसामा पनि यो समस्या देखिन्छ। बिरामी आइसकेपछि सम्बन्धित चिकित्सककहाँ पठाउनुको साटो विदेश पठाउने चलनले चुनौती दिएको छ। विदेश जाने चलन पनि हट्न सकेको छैन। बिरामीहरू सम्बन्धित डाक्टरलाई नदेखाइनक सीधै विदेश पुगेको देखिन्छ। यसको मुख्य दोषी नेता नै हुन् । नेताहरू सानो रोग लाग्यो कि सीधै विदेश गइहाल्छन्। विदेश जाने पैसा भनेको तपाईं/हाम्रो करबाट संकलन भएको पैसाको दुरूपयोग हो।
अस्पतालभित्रै पनि आपसी प्रतिष्ठाको लडाइँ देखिन्छ। धेरै लगानीको अस्पताल हुँदैमा सबै सेवा प्रभावकारी हुन्छ भन्ने हुँदैन, सरकारी अस्पतालमा पनि निजीमा नहुने सेवा हुन सक्छ। यी अस्पतालहरूले इमान्दारीपूर्वक देशभित्रका सेवाका बारेमा जानकारी दिने चलनको कमी देखिन्छ।
डाक्टर–डाक्टरबीच विश्वास हुनुपर्छ। अस्पतालमा बिरामी उपचारका लागि भर्ना भइसकेपछि तीनवटा स्थिति हुन्छः कि निको हुन्छ कि बिरामी रेफर हुन्छ कि बिरामीको मृत्यु हुन्छ। तर, यो कुरा मान्छेले बुझ्दैनन्। मैले आफ्नै आँखाले यो देखेको छु। नेपालकै उपचार छाडेर सीधै भारतमा गलत उपचार पाएर फर्किने पनि छन्। विदेशमा हुने गलत उपचारविरुद्ध केही बोल्न सक्दैनन्। विदेश जाँदैमा चट्ट निको भएर आउने हैन। पहिला नेपालमा भएका सेवा बुझेर मात्र जानु उचित हुन्छ। सरकारले उपचार उपकरणको पर्याप्त व्यवस्था गर्नुपर्यो। यो सबै संयोजन भएमा समयमै रोगको पहिचान गर्न सकिन्छ।
नेपालमा रगतसम्बन्धी रोग उपचारको अवस्था कस्तो छ ?
आजका दिनसम्म हामीकहाँ रगतसम्बन्धी सबै रोगको सय प्रतिशत उपचार हुन्छ। किनभने रगतसम्बन्धी रोगको अन्तिम उपचार बोनम्यारो प्रत्यारोपणको सम्पूर्ण सुविधा सिभिल अस्पतालमा छ।
चुनौती के–के छन् ?
उपचारमा आएका सबै बिरामीलाई भर्ना गर्न सक्ने अवस्था छैन। शैय्याको कमीले सबै वार्डमा मिलाएर समेत भर्ना गर्छाैँ । यो उपचारमा प्रयोग हुने करोडौंको मेसिन बिगे्रको स्वदेशमै प्राविधिक नहुँदा समस्या हुन्छ। विदेशवाट विज्ञ बोलाएर उपकरण मर्मत गर्दा महँगो पर्छ नै, समयमै मर्मत गर्न पनि हुँदैन। एकपटक मेसिन बिग्रँदा सिंगापुरबाट मान्छे बोलाएर ल्याउनु पर्यो। दोस्रो, यो उपचारमा प्रयोग हुने सामानहरू नेपालमा सीमित मात्र पाइन्छन्। यो रोगलाई निको पार्न सक्छौं तर, बिरामीसँग पैसा नभएर उपचार गर्न सक्दैनौं। छ वटा बोनम्यारो प्रत्यारोपण निशुल्क गर्यौं। हामीकहाँ आउने बिरामी मध्यम र विपन्न वर्गका नै हुन्छन्। म पढेर आएँ। बोनम्यारो प्रत्यारोपणमा जनशक्ति कमी छ। जनशक्ति कमीका कारण म बिरामी हुँदा अस्पताल आएका बिरामीले उपचार पाएनन्। यसका लागि यही अस्पतालमै हेमाटोलोजिस्टको उत्पादन गर्दैछौं। जनशक्ति तयार भएपछि अन्य क्षेत्रीय तहमा समेत सेवा पु्र्याउन सक्नेछौं।
रगतसम्बन्धी रोगका लागि ल्याबको पनि कमी थियो। अहिले ल्याब पनि पर्याप्त भयो। अब ६ महिनाभित्र भारत पठाउनुपर्ने परीक्षणहरू जेनेटिक र मलिकुलर परीक्षण सिभिल अस्पतालमै सुरु हुनेछ।
प्रकाशित: २ भाद्र २०७५ ०३:४२ शनिबार