१५ चैत्र २०८० बिहीबार
स्वास्थ्य

शाकाहारीमा भिटामिन बी १२ को कमी

काठमाडौं - नेपाली समाजमा मांसाहारी जति छन् त्यत्तिकै शाकाहारी पनि छन्। पछिल्लो समयमा मांसाहारी व्यक्तिको तुलनामा शाकाहारी व्यक्तिलाई भिटामिन बी १२ को कमी हुने गरेको पाइएको छ। भिटामिन बी १२ कमी भएका व्यक्तिहरु विभिन्न रोका सिकार बनेका छन्।

भिटामिन बी १२ माछा, मासु, दही, दूध तथा पनिरमा पाइन्छ। भिटामिन बी १२ को कमी भएमा हातखुट्टा झमझमाउने, नसाको समस्या, आँखाको ज्योति कम हुने, स्मरणशक्ति कमजोर हुने, थकाइ लाग्ने र रगतको कमी हुने जस्ता लक्षण देखिन्छन्।

‘कोख दुख्यो भन्दै आउँछन्, रगत जाँच्दा भिटामिन बी १२ को कमी देखिन्छ’, त्रिवि शिक्षण अस्पतालका नेफलोजिस्ट डा. महेशराज सिग्देलले भने। उनका अनुसार यस्ता व्यक्तिका मिर्गौलामा पनि समस्या हुने गरेको छ । अस्पतालको जनरल ओपिडीमा आएका बिरामीमध्ये तीन प्रतिशतमा भिटामिन बी १२ को कमी देखिएको प्रा.डा. योगेन्द्र शाक्यले बताए। विभागमा दैनिक एक सय ५० जना बिरामीको उपचार हुन्छ।

भिटामिन बी १२ दही, दूध तथा पनिरजस्ता शाकाहारी भोजनमा पनि पाइन्छ। तर शाकाहारी व्यक्तिले यस्ता भोजनको मात्रा नमिलाउँदा उनीहरूमा हातखुट्टा झमझमाउने, नसाको समस्या, आँखाको ज्योति कम हुने, स्मरणशक्ति कमजोर हुने, थकाइ लाग्ने र रगतको कमी हुने जस्ता समस्या देखिन सक्छन्।

स्पतालका अनुसार थकाइ लाग्यो र रगत कमी भयो भनेर उपचार गर्न आउने बिरामीलाई परीक्षण गर्दा मेगालोप्लास्टिक एनिमिया देखिन्छ । यस प्रकारको रक्तअल्पता भिटामिन बी १२ को कमीले हुन्छ।

वीर अस्पतालको न्युरो विभागमा दैनिक उपचार हुनेमध्ये तीन प्रतिशतमा भिटामिन बी १२ कमी देखिन्छ। विभागमा दैनिक एक सय ३० जनाको उपचार हुन्छ। चिकित्सकका अनुसार भिटामिन बी १२ को कमी हुनेमध्ये अधिकांश शाकाहारी छन्। ‘मांसाहारीको तुलनामा शाकाहारी व्यक्तिमा यो समस्याले बढी सताएको देखिन्छ,’ वीर अस्पतालका न्युरोलोजिस्ट डा. सुनिल कोइरालाले भने।

दुई वर्षअघि त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक डा. सुन्दर गौतमले गरेको एक अध्ययन प्रतिवेदनमा मांसाहारीको तुलनामा शाकाहारी व्यक्तिमा भिटामिन बी १२ को समस्या प्रशस्तै पाइएको छ। डा. गौतमले त्रिवि शिक्षण अस्पतालका एक सय ५० जना बिरामीमा सर्वेक्षण गर्दा शाकाहारीमा भिटामिन बी १२ को कमी पाइएको थियो। भिटामिन बी १२ शाकाहारी भोजनमा पनि पाइन्छ। तर शाकाहारी व्यक्तिले यस्ता भोजनको मात्रा नमिलाउँदा समस्या देखिने गरेको अध्ययनले प्रमाणित गरेको छ।

चिकित्सकका अनुसार विगत चारपाँच वर्षदेखि भिटामिन बी १२ को कमीबाट देखिने समस्या पहिचान हुन थालेको हो। अस्पतालहरूमा भिटामिन बी १२ परीक्षण सेवा पनि पछि मात्र हुन थालेको हो। ‘सुविधा र परीक्षण गर्ने चलन एकपटक वृद्धि भयो,’ डा. सिग्देलले भने। उनका अनुसार ओम् शान्ति, कृष्ण प्रणामी, साई बाबा जस्ता धार्मिक समूहको वृद्धि भएकाले भिटामिन बी १२ को समस्या बढेको हुन सक्छ।

चिकित्सकका अनुसार हिन्दु धर्ममा आस्था राख्ने पण्डित–पुरोहितहरुमा पनि भिटामिन बी १२ को कमी भएको पाइएको छ। पाचन प्रणालीमा समस्या हुने र खानामा प्रशस्त माछामासु समावेश नगर्ने व्यक्तिमा पनि भिटामिन बी १२ को कमी देखिन्छ। लामो समयसम्म ग्यास्टिकको औषधि खाएका, आमाशय र सानो आन्द्रामा घाउ या ट्युमर भएका, खानामा पशुजन्य मासु समावेश नगरेका, लामो समयदेखि पखाला लाग्ने रोगको सिकार भएका व्यक्तिमा पनि भिटामिन बी १२ को कमी देखिन्छ। ‘लामो समय ग्यास्टिकको औषधि खाँदा भिटामिन बी १२ सोस्ने एसिड नष्ट हुन्छ र त्यस्ता व्यक्तिमा भिटामिन बी १२ को कमी हुन्छ’, न्युरोलोजिस्ट डा. कोइरालाले भने।

भिटामिन बी १२ को कमी भएमा शरीरबाट धेरै पसिना आउने, हिँड्न कठिन हुने, हातखुट्टा झम झम गर्ने, छालाको रङ परिवर्तन हुने जस्ता लक्षण पनि देखिन्छन्। यस्ता समस्या देखिएमा बी १२ को कारण पत्ता लगाई उपचारमा जानुपर्ने सुझाव चिकित्सकको छ। मासु तथा दूधबाट बनेका परिकारहरु पर्याप्त खान नपाएमा प्रत्येक तीन महिनामा सुईबाट भिटामिन लिन सकिन्छ। यो सुविधा सबै अस्पतालहरुमा पाइन्छ।

प्रकाशित: ११ श्रावण २०७५ ०५:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App