२४ मंसिर २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य बिमा बोर्डले भेरी अस्पताललाई अझै गरेन १६ करोड ९ लाख रुपैयाँ भुक्तानी

अस्पतालको ऋण १४ करोड पुग्यो

स्वास्थ्य बिमा बोर्डले भेरी अस्पताल नेपालगन्जलाई रकम भुक्तानी नदिँदा सेवा प्रवाहमा समस्या आउन थालेको छ । अस्पतालले चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्म १९ करोड ७० लाख रुपैयाँ दिनुपर्नेमा ३ करोड ७० लाख मात्र भुक्तानी गरेको छ ।

यस्तै गत आर्थिक २०८०/०८१ को ९० लाख बाँकी रहेकोमा केही दिनअघि मात्र ८१ लाख भुक्तानी गरेको थियो । बोर्डले अस्पताललाई चालु वर्ष र गत वर्षको गरी अझै १६ करोड ९ लाख रुपैयाँ दिनुपर्ने देखिएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. निराजन सुवेदीले बिमा रकम भुक्तानी नपाउँदा अस्पतालको सेवालाई अगाडी बढाउन निकै समस्या भइरहेको गुनासो गरे । ‘अस्पतालमा बिरामीले सेवा लिइसकेपछि सबैको शोधभर्ना गर्नुपर्ने हुन्छ, शोधभर्ना रकम समयमा नपाउँदा अस्पतालको सेवा सञ्चालन गर्न कठिनाइ भइरहेको छ,’ उनले सोमबार नागरिकसँग भने ।

बोर्डले समयमा बिमा रकम भुक्तानी नदिँदा अत्यावश्यक स्वास्थ्य सामाग्री र औषधी खरिद गर्न तथा कर्मचारीलाई तलब खुवाउन नसकिएको मेसु डा. सुवेदीले बताए । ‘प्रयोगशालामा चाहिने केमिकल खरिद गर्नुपर्ने हुन्छ, फार्मेसीमा औषधी चाहिन्छ, अक्सिजन खरिद गर्नुपर्ने हुन्छ, डाईलाइसिसमा केमिकल र क्याथ ल्याबमा केमिकल आवश्यक पर्छ, यी सबै सामान अस्पतालले खरिद गर्नुपर्छ,’ उनले भने, ‘यी सबै सामान खरिद गरे बापत अस्पतालले व्यापारीलाई भुक्तानी दिनुपर्ने हुन्छ, तर एक वर्षदेखि कुनैपनि व्यापारी र सप्लायर्सहरुलाई भुक्तानी गर्न सकिएको छैन ।’ 

मेसु सुवेदीका अनुसार सङ्घीय सरकारबाट सञ्चालित उक्त अस्पतालले झण्डै १४ करोड रुपैयाँ व्यापारी तथा सप्लायर्सलाई भुक्तानी दिनुपर्नेछ ।

भुक्तानीका लागि व्यापारीले दैनिक रुपमा अस्पतालमा धाइरहेको उनले सुनाए । ‘व्यापारीहरूले एक वर्षदेखि हामीलाई उधारोमा सामान दिइरहनु भएको छ, अब त व्यापारीहरू पनि उधारोमा सामान दिन नसक्ने स्थितिमा पुगिसक्नु भयो, त्यस कारण अस्पताललाई नियमित रुपमा सञ्चालन गर्न झन् कठिनाइ भइरहेको छ,’ मेसु डा. सुवेदीले भने । बिमा बोर्डबाट भुक्तानी नआउँदा अस्पताल विकास समितिले नियुक्त गरेका कर्मचारी, ठेक्का प्रक्रियाबाट काममा लगाएका सुरक्षाकर्मी, सरसफाइ कर्मचारीलाई गत बैशाख महिनादेखि पारिश्रमिक दिन नसकिएको उनले बताए ।

सरकारले आर्थिक वर्ष २०८१/०८२ मा स्वास्थ्य बिमाका लागि कुल ७ अर्ब बजेट छुट्टाएको थियो । तर, उक्त आर्थिक वर्ष मात्रै स्वास्थ्य बिमाबाट करिब २० अर्ब रुपैयाँ दायित्व सिर्जना भएको देखिन्छ । यस्तै आगामी आर्थिक वर्षका लागि स्वास्थ्य बिमा बोर्डलाई सरकारले १० अर्ब रुपैयाँ मात्रै विनियोजन गरेको छ । स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी भएपनि सेवा प्रदायक संस्थाले समयमा भुक्तानी नपाउँदा भेरी अस्पतालसहित देशभरका अधिकांश अस्पतालहरू अनेक समस्यासँग जुधिरहेका छन् ।

बोर्डले वार्षिक रुपमा ३ हजार ५ सय रुपैयाँमा स्वास्थ्य बिमा गराए बापत परिवारका ५ जना सदस्यलाई एक लाख रुपैयाँ बराबरको उपचार सुविधा दिँदै आएको छ । स्वास्थ्य बिमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्त्वपूर्ण कार्यक्रम हो ।

नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने सरकारको उद्देश्य रहेको छ । २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा सुरुवात भएको उक्त कार्यक्रमलाई हाल स्वास्थ्य बिमा बोर्डले सञ्चालन गर्दै आएको छ ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्रबहादुर शाह सरकारले एकातिर स्वास्थ्य बिमा अनिवार्य बनाउनु, अर्कोतिर समयमा बिमा रकम भुक्तानी नदिनुले यो कार्यक्रम ‘निल्नु न ओकल्नु’ झैँ भएको बताउँछन् । ‘बिमा रकम नआउँदा अस्पतालले व्यापारी र सप्लायर्सलाई भुक्तानी दिन सकिरहेको छैन, कर्मचारीलाई तलब खुवाउन नसक्दा सेवा नै सञ्चालन गर्न कठिन भईसकेको छ,’ अध्यक्ष शाहले भने, ‘सरकारले भेरी अस्पतालमा या बिमा कार्यक्रम नै हटाईदिनुपर्यो, या त बोर्डले नियमित रुपमा बिमा बापतको रकम भुक्तानी गर्नुपर्‍यो ।’ बिमा बापतको रकम ताकेर सबै काम उधारोमा गर्नु परिरहेको उनले बताए ।

अस्पतालमा यसअघि गरिब तथा विपन्नका लागि उपचारमा छुट माग्ने प्रवृत्ति रहेकोमा स्वास्थ्य बिमा कार्यक्रम लागु भएपछि भने यो क्रम बिस्तारै हट्दै गएको अध्यक्ष शाह बताउँछन् । 

प्रकाशित: २३ असार २०८२ १९:१० सोमबार

#Bheri Hospital