वीर अस्पतालमा डिजिटल प्रविधिबाट शल्यक्रिया गरी एक बालिकाको नमिलेको टाउको मिलाइएको छ। अस्पतालको ओरल एन्ड क्रोनिया–मेग्जिलोफेसियल र न्युरोसर्जरी विभाग, एनेथेसिया, क्रिटिकल केयर विभागको टोलीले शल्यक्रिया गरेको हो।
अनुहार बांगो देखिन थालेपछि अभिभावकले बालिकालाई विभिन्न अस्पताल हुँदै कान्ति बाल अस्पताल पुर्याएका थिए। कान्ति बाल अस्पतालले शल्यक्रियाका लागि वीरमा पठाएको थियो। शल्यक्रिया डिजिटल प्रविधिबाट गरिएको वीर अस्पताल ओरल एन्ड क्रोनिया–मेग्जिलोफेसियल सर्जन डा. किशोर भण्डारीले बताए। बहुआयामिक विशेषज्ञको सहयोग र सहकार्यमा यस्तो शल्यक्रिया गरेमा समस्या न्यूनीकरण गर्न सकिने भएकाले सबै विभागका चिकित्सकको सहयोगमा शल्यक्रिया सम्पन्न भएको भण्डारीले जानकारी दिए।
डिजिटल प्रविधिबाट हालसम्म दुई वटा यस्तै प्रकृतिका शल्यक्रिया भएका छन्। तीन वर्षअघि एक बालिकाको अमिल्दो हड्डीको शल्यक्रिया गरिएको थियो। त्यसपछि अर्की बालिकाको पनि यस्तै प्रकृतिको शल्यक्रिया भएको थियो।
उक्त शल्यक्रियामा अनुहार र निधारको भागको खप्पर निकालेर शल्यक्रिया गरी पुनः मिलाएर राखिएको थियो। ‘साना उमेरका बालबालिकाको शल्यक्रिया गर्नु आफैंमा जटिल हुन्छ,’ भण्डारीले भने।
परम्परागत प्रविधिबाट वीर अस्पतालमा यस्ता शल्यक्रिया पहिल्यैदेखि हुँदै आए पनि आधुनिक प्रविधिबाट गरिने यस्ता शल्यक्रियाले तुलनात्मक रूपमा नतिजा राम्रो आउने हुनाले शल्यक्रियाको अवधिमा चिकित्सकलाई तनाव कम हुने भण्डारी बताउँछन्। परम्परागत विधिबाट यस्ता शल्यक्रिया भए पनि शल्यक्रियामा प्रविधिको प्रयोग नहुँदा सोेचेजस्तो सकारात्मक परिणाम नआउने जोखिम हुन्छ।
चिकित्सकका अनुसार बालबालिकाको टाउकाको वृद्धि हुँदै गर्दा खोपडीमा थोरै भाग मात्र खुला हुन्छ। यस्तो खालि भागमा टाउको तथा मस्तिष्कको विकास हुने क्रममा जारी रहन्छ। समयभन्दा पहिला नै यो भाग बन्द हुन पुग्योे भने टाउकोको बनावट असामान्य हुन्छ र मस्तिष्कमा चाप बढ्छ। यस्तो समस्यालाई क्रोनियोसिनोस्टोसिस भनिन्छ।
चिकित्सकका अनुसार शिशुमा यस्तो समस्या किन आउँछ भन्ने यकिन कारण छैन। कहिलेकाहीं वंशाणुगत समस्या, गर्भावस्थामा बच्चाको स्थितिमा समस्या र केही औषधीको प्रयोगका कारण यस्ता समस्या आउन सक्ने चिकित्सकको अनुमान छ।
यो समस्या झन्डै २५ सय बच्चामा एक जनामा देखिन्छ। यसको समयमै उपचार नभएमा टाउकाको बनावट असामान्य हुने, अमिल्दो अनुहार देखिने, मस्तिष्कमा चाप बढेर सास फेर्न अप्ठेरो हुने, आँखामा हेर्न समस्या हुने जस्ता जटिलता आउने वीर अस्पतालका न्युरो सर्जन डा. राजीव झा बताउँछन्। यस्तो समस्या देखिएमा समयमै पहिचान गरी तीनदेखि आठ महिनाभित्र शल्यक्रिया गरिसक्नुपर्छ।
टाउकाको वृद्धिमा अवरोध भएमा टाउको लामो र साँघुरो हुने, असमान रूपमा टाउको ठुलो हुने, त्रिकोणात्मक आकार हुने, टाउको छोटो र फराकिलो हुने पनि हुन सक्छ। यो समस्याको शल्यक्रिया समयमै नभएमा बालबालिकाको मस्तिष्क साँघुरो भएर मानसिक अवस्थामा नकारात्मक प्रभाव पर्ने झा बताउँछन्।
वीर अस्पतालमा बालबालिकाको नमिलेको टाउको मिलाउने उपचार विगत पाँच वर्षदेखि हुँदै आएको छ। यद्यपि यस प्रकारको उपचारबारे धेरैलाई जानकारी नहुँदा यो सुविधा लिने बिरामी निकै कम रहेका भण्डारी बताउँछन्। ‘न्यूनतम शुल्कमा भरपर्दो उपचार अस्पतालमा हुन्छ तर यसबारे सबैलाई जानकारी छैन,’ उनले भने।
प्रकाशित: १९ असार २०८२ ०८:०५ बिहीबार



-600x400.jpg)

