औषधि व्यवस्था विभागले धनुषास्थित लोमस प्यारेन्ट्रेल्स एण्ड फर्मुलेसन प्रालिद्वारा उत्पादित दुई ब्याचका औषधि बिक्री-वितरणमा तत्काल रोक लगाउँदै बजारबाट फिर्ता लिन निर्देशन दिएको छ।
राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा ती औषधिहरू अत्यन्त न्यून गुणस्तरको पाइएपछि विभागले जनस्वास्थ्यमा पर्नसक्ने जोखिमलाई ध्यानमा राख्दै यस्तो निर्णय लिएको हो।
विभागले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले उत्पादन गरेको ‘कम्पाउण्ड सोडियम ल्याक्टेट’ र ‘डेक्सट्रोज’ नामक औषधिका दुई ब्याचमा तोकिएको मापदण्ड पूरा नभएको पुष्टि गरेको छ।
सूचनाअनुसार, अक्टोबर २०२३ मा उत्पादित कम्पाउण्ड सोडियम ल्याक्टेट र नोभेम्बर २०२४ मा उत्पादित डेक्सट्रोज निर्धारित परीक्षणमा असफल भएका हुन्। यी औषधिहरू बजारमा पठाइसकिएकाले तत्काल फिर्ता गर्न भनिएको छ।
विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम उक्त औषधिहरूको बिक्री, वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको हो। ‘सम्बन्धित उद्योग तथा त्यसका प्रतिनिधिहरूलाई तुरुन्त बजारबाट औषधि फिर्ता लिई सोको विवरण विभागमा पेस गर्न सूचित गरिन्छ,’ विभागको सूचनामा उल्लेख छ।
विभागका महानिर्देशक नारायण ढकालले जनस्वास्थ्यमाथिको जोखिम रोक्न तत्काल सूचना जारी गरिएको र त्रुटिको कारणबारे अनुसन्धान सुरु भइसकेको जानकारी दिए।
‘यो कमजोरी उत्पादन प्रक्रियामा भएको हो वा भण्डारणमा, हामी खोजी गरिरहेका छौं,’ उनले नागरिक न्युजसँग भने, ‘जानाजान गल्ती गरेको पाइएमा औषधि ऐनअनुसार कडा कारबाही हुन्छ।’
उनले यस्ता औषधिको प्रयोगबाट कसैको स्वास्थ्यमा गम्भीर असर परेमा वा मृत्यु भएमा कम्पनीलाई जरिवानादेखि कैदसम्मको सजाय हुन सक्ने स्पष्ट पारे।
प्रकाशित: २७ जेष्ठ २०८२ १६:१३ मंगलबार