स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धूम्रपान र सुर्तीजन्य पदार्थको लत छोड्न चाहनेका लागि ‘हेल्पलाइन’ सेवा सुरु गरेको छ। शनिबारदेखि लत छोड्न चाहनेले ११३२ मा फोन गरेर परामर्श लिन सक्छन्।
विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा शनिबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘हेल्पलाइन’ सेवाको सुरुआत गरेका हुन्। उनले यो सेवाले सुर्तीजन्य पदार्थको प्रयोग घटाउन र नियन्त्रणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।
‘हेल्पलाइनबाट प्राप्त परामर्शले सुर्तीजन्य पदार्थ नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिएका छौँ। सुर्तीजन्य पदार्थ नियन्त्रण, न्यूनीकरण र जनचेतना फैलाउने काममा केही उपलब्धि हासिल गरेका छौँ। उत्पादन र आयात रोक्न सकिँदैन, तर उपभोक्ता घटाउनेतर्फ मन्त्रालय योजनाबद्ध काममा केन्द्रित छ,’ उनले भने। उनले सुर्तीजन्य पदार्थमा कर बढाउन र सेवनलाई निरुत्साहित गर्न सबै तहमा जनचेतना फैलाउनुपर्ने बताए।
स्वास्थ्य सचिव डा. विकास देवकोटाले युवामा सुर्तीजन्य पदार्थको बढ्दो प्रयोग चिन्ताजनक भएको बताए। ‘पछिल्लो समय भेपको प्रयोग बढेको छ। युवालाई यसको लत नियन्त्रण गर्न मन्त्रालय योजनाबद्ध रूपमा लागिपरेको छ। प्रभावकारी नतिजाका लागि स्वास्थ्य मन्त्रालयसँगै सबै सरोकारवालाको समन्वय र सहकार्य चाहिन्छ। जनचेतना फैलाउन र व्यक्ति, घर, विद्यालय, कार्यस्थलमा सुर्तीजन्य पदार्थको सेवनलाई निरुत्साहित गर्ने वातावरण बनाउनुपर्छ,’ उनले भने।
दिवसका अवसरमा सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री र सेवन नियन्त्रणमा योगदान दिने सङ्घसंस्था र पत्रकार गरी सात जनालाई ‘स्वास्थ्यमन्त्री ब्लुम वर्ग जनस्वास्थ्य पुरस्कार’ प्रदान गरिएको छ।
हरेक वर्ष मे ३१ मा विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइन्छ। यस वर्षको नारा ‘सुर्तीजन्य उद्योगको आकर्षक चाल, प्राणघातक असर चिरौँ यो मोहजाल’ रहेको छ। रासस
प्रकाशित: १८ जेष्ठ २०८२ ०८:१३ आइतबार


-600x400.jpg)


