कुरा बि.सं.२०७७ साल वैशाख १४ गते को हो। जुम्लाको तातोपानी गाउँपालिका-३ का चम्पासिंह शाही ढुङ्गाले थिचेर शक्त घाइते भए। चम्पा ढुङ्गा खानीमा ढुङ्गा निकाल्ने क्रममा माथिबाट खसेको ढुङ्गाले थिचेर घाइते भएका थिए। गाउँलेहरूले चम्पासिंहलाई मर्याेसम्म भनेका थिए। तर,आफन्तले चम्पासिंहलाई जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा पुर्याए।
अस्पतालसम्म पुर्याउँदा चम्पासिंहको श्वास त चल्दै थियो। तर मेरुदण्ड, दुवै खुट्टा र कम्मरको हड्डी भाँचिएको थियो। तत्कालै प्रतिष्ठानका हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पूजन रोकायाको नेतृत्वको टिमले अप्रेसन गर्ने निर्णय गर्यो। लगत्तै उपचार अगाडि बढ्यो र अप्रेसन पनि सफल भयो। प्रतिष्ठानमा आउने सामान्य भन्दा उक्त अप्रेसन निकै पृथक् र जटिल भएर पनि सफल भएकोमा उक्त उपचारमा संलग्न टोलीको संयोजक आफै भएकाले पनि धेरै खुसी मिलेको विशेषज्ञ डाक्टर रोकाया बताउँछन्।
अहिले चम्पासिंह सामान्य हिँडडुल गर्न सक्ने भएका छन्। अहिले चम्पासिंह शाही डा.पूजन रोकाया आफ्नो पुनर्जीवन दिने भगवान् नै भएको बताउँछन्।
हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. पूजन कुमार रोकाया विगत १२ वर्ष देखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा कार्यरत छन्। जुम्लाको प्रख्यात तथा पुरानो जि एम डी मोर्डन पब्लिक हाई स्कुल बाट बि.सं. २०५४ सालमा एसएलसी उत्तीर्ण डा.रोकायाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट दुर्गम कोटामा एम बि बि एस अध्ययन गरी टिचिङ अस्पताल, महाराजगन्ज काठमाडौंबाट हाड जोर्नी तथा नशा रोग विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेका थिए।
दुर्गम कोटामा अध्ययन गरेकाले दुर्गम क्षेत्रमा नै सेवा गर्ने ध्येयका साथ निसर्त र निस्वार्थ रूपमा जन्मथलो जुम्लामा नै फर्किएर निरन्तर रूपमा सेवारत छन्। डा. रोकाया उच्च अध्ययन पुरा गरेर जुम्ला पुग्दा जुम्लामा जिल्ला अस्पताल हुँदै अञ्चल अस्पताल बनेको र उक्त अञ्चल अस्पतालको सम्पूर्ण चल अचल सम्पत्ति हस्तान्तरण गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भइसकेको थियो।
सदरमुकाम खलङ्गामा घर भएका डा रोकाया बि।सं। २०७१ सालमा हाड जोर्नी तथा नशा रोग विभागमा विशेषज्ञको रूपमा नियुक्त भई सो विभागको सम्पूर्ण जिम्मेवारी समालिरहेका छन्। कर्णालीका हुम्ला मुगु कालिकोट डोल्पा लगायत अन्य दुर्गम जिल्लाहरूमा पनि हाड जोर्नी तथा नशा रोगको विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएकाले स्थानीय स्तरमै पुगेर सेवा गर्ने मौका र अवसर मिलेको उनी बताउँछन्। आफ्नो खेतबारीमा उत्पादन भएको र घरमै पाकेको खाना खाएर अस्पतालमा सेवा गर्न पाउँदा उनी सन्तुष्टि मिलेको डाक्टर रोकाया बताउँछन्।
जर्मनीको गटिङ्गेन विश्व विद्यालयबाट हाड जोर्नी तथा नशा रोग विषयमा थप तालिम प्राप्त गरेका डा।रोकाया हाल प्रतिष्ठानको अस्पताल निर्देशकको भूमिकामा कार्यरत रहेका छन्। १२ वर्षदेखिको योगदानले अस्पताल तथा समग्र प्रतिष्ठानकै स्तरोन्नतिमा उनको उतिकै भूमिका छ।
कर्णाली जस्तो दुर्गम क्षेत्रमा प्रतिष्ठान चल्न शंका उपशङ्का उब्जी रहेको अवस्था र विशेषज्ञ डाक्टर आउन नमान्नु, आएका पनि लामो समयसम्म टिक्न नसक्नुले झन् चुनौती थपेको हुँदा हुँदै पनि प्रतिष्ठानमा आजका दिनसम्म हाड जोर्नीको विशेषज्ञ शिक्षा अध्ययन अध्यापन, मुगु र कालिकोट जिल्लामा हाड जोर्नीको विशेषज्ञ ओपिडी सेवा विस्तार, माग र आवश्यकताको आधारमा कर्णालीका अन्य दुर्गम स्थानमा विशेषज्ञ सेवा सहितको शिविर सञ्चालन, कर्णालीका विभिन्न क्षेत्रमा अपाङ्गता पहिचान शिविर सञ्चालन र प्रतिष्ठान भित्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कार्यशाला गोष्ठी आयोजना समेत गर्न सफलता मिलेको छ।
हाड जोर्नी विभागमा बिरामीको चाप पनि हाल उल्लेख्य रूपमा बढेको पाइन्छ। हाड जोर्नी विशेषज्ञ डाक्टर रोकायाका अनुसार अन्य ठाउँभन्दा यस ग्रामीण समुदायमा चोटपटकका कारणहरू केही फरक प्रकृतिका हुने गरेको अनुभव सुनाउँछन् । सामान्यतया सवारी दुर्घटना र प्राकृतिक प्रकोपबाट घट्ने घटना भन्दा पनि यता गाउँले दैनिकी कै कारण चोटपटक लागेर आउने गरेको पाइन्छ। घाँस काट्न जाँदा भिर पाखाबाट लडेर, दाउरा काट्न जाँदा रुखबाट खसेर, माटोको खानीमा पुरिएर, हिउँमा पुरिएर, घरको (आँगन) ओटालो, छतबाट खसेर चोटपटकका घटना बढी हुन्छन्।
गरिबीकै कारण पेट पाल्न मजदुरी गर्दै गर्दा चोटपटक लाग्ने र सो को महँगो उपचारमा पिल्सिएका कर्णालीवासी हाल जुम्लामै सरल सुलभ विशेषज्ञ सेवा सहितको उपचार पाउँदा केही राहत भएको महसुस गर्न पाएका छन्।
ग्रामीण समुदायको स्वास्थ्य सेवामा तल्लीन डाक्टर रोकाया अनेकौँ चुनौती सामना गर्नु परेको बताउँछन्। चोटपटक लागिसके पछि समयमा अस्पताल नआउनु प्रमुख चुनौती भएको उनी बताउँछन्। समयमा अस्पताल नआउनुमा भौगोलिक विकटता, असहज यातायात, एम्बुलेन्स सेवाको कमी, अशिक्षा, गरिबी, जनचेतनाको कमी, घरपरिवार बाट लापरबाही मुख्य कारणहरू हुन। उनले भने, ग्रामीण समुदायमा अहिलेसम्म स्ट्रेचर अथवा डोकोमा बिरामीलाई ओसार पसार गर्नुपर्ने बाध्यता जीवित छ। चोटपटक लागिसके पछि समयमा अस्पताल नआउँदा उपचार गर्दा कठिनाइ हुने गर्दछ।
चोटपटक लागेर बिरामी भएपछि अस्पतालको भन्दा धामी झाँक्री कहाँ पुग्नु अर्को प्रमुख चुनौती भएको उनको भनाइ छ। अहिलेसम्म नेपालको ग्रामीण समुदायमा चोटपटकका घटनाबाट बच्न घर आँगनका सिडी, भर्याङ, छतमा रेलिङको व्यवस्था गर्ने, चोटपटक रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्ने तथा सम्बन्धित संघ संस्था र निकायहरूले चोटपटक रोकथाम सम्बन्धी खोजमूलक अनुसन्धान गर्ने, स्वास्थ्य सेवा प्रदायक सस्थाहरूले समयमा नै सम्बन्धित सुविधा भएको अस्पतालमा चोटपटकका बिरामीलाई प्रेषण गर्ने गरेमा चोटपटकका घटनाबाट निम्तिने जोखिम न्यूनीकरण गर्न सकिने बुझाई डाक्टर रोकायाको छ।
प्रकाशित: ८ जेष्ठ २०८२ १२:२९ बिहीबार