धुलिखेल अस्पतालमा पहिलो पटक छुट्टै मिनोपोज क्लिनिक सेवा सुरु भएको छ । बुधवार अस्पतालले औपचारिक रुपमा यो क्लिनिक सेवा सुरु गरेको हो । यो सेवा निजी तथा अन्य अस्पतालबाट स्त्रीरोग बहिरङ्ग विभागबाटै दिइए पनि छुट्टै रुपमा दिनेमा धुलिखेल पहिलो अस्पताल हो ।
सहरका महिला सामाजिक सञ्जालबाट सचेत भएर मिनोपोज सेवा लिन आउने भएपनि रजनोबृत्ति(मिनोपोज) हुने उमेरका सबै महिलाले यो सेवा लिनबाट बंञ्चित भएकोले सेवालाई छुट्टै क्लिनिकको रुपमा स्थापित गरेको अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. सुमन ताम्राकारले बताए ।
डा. ताम्राकारको अनुसार महिलाको उमेर ४० देखि ५५ वर्ष पुग्दा रजनोबृत्ति (मिनोपोज) हुन्छ । मिनोपोज हुँदा महिलामा केही अप्ठेरा लक्षणहरू देखिन्छ । जसले दैनिक नियमित काममा समेत अवरोध उत्पन्न हुन्छ । मुड तलमाथि हुने, छटपटी भई निन्द्रा नलाग्ने, एक छिनमा शरीर तातिने, जस्ता लक्षण देखिन्छ ।
यी समस्याको कारण मिनोपोज हुन लागेकी महिला परिवारका सदस्यहरूसँग झर्किने, एक छिनमा रिसाउने र अन्य साथीभाइसँग पनि रिसाउने समस्या जस्ता स समस्या देखिन्छ । यो अवधि एकदेखि दुई वर्षसम्म रहन्छ । यो समय महिलाको लागि कष्टकर हुन्छ । यी समस्याको उचित व्यवस्थापनको लागि मिनोपोज क्लिनिकको सेवा आवश्यक पर्ने डा. ताम्राकार बताउँछन् ।
यो क्लिनिकबाट यो अवधिको लागि अन्य साइड असर नगर्ने औषधी, निश्चित अवधिको लागि स्ट्रोजन हर्मोन लगायत सिफारिस गरिन्छ । ‘ यो अवधिमा जडीबुटी जस्तै हानि नगर्ने औषधी दिइन्छ, केही अवधिको लागि शरीरमा कमी भएको स्ट्रोजन हर्मोन पनि प्रयोग गर्न सकिन्छ’ । तर यस्ता औषधी चिकित्सकको सल्लाहमा मात्र प्रयोग गर्नु उचित हुने ताम्राकार सुझाउँछन् ।
यो क्लिनिबाट सेवा नदिँदा धेरै महिला यो सेवाबाट छुट्न गई स्वस्थ रजनोबृत्ति अवधि नपाउने हुनाले छुट्टै क्लिनिकको महत्त्व रहेको उनले बताए । यो उमेरमा महिलामा हुन सक्ने स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सर र डिम्बाशयको क्यान्सर पनि पहिचान गर्ने सेवा पनि यही क्लिनिकबाटै दिइने भएकोले महिलाको लागि यो क्लिनिक उपयोगी भएको उनले सुनाए ।
प्रकाशित: ७ जेष्ठ २०८२ १५:१४ बुधबार





