चार वर्षअघिसम्म बाजुरा र बझाङका धेरैजसो गाउँमा महिनावारी हुँदा महिला तथा किशोरी छाउगोठमै बस्नुपर्थ्याे, त्यो अवधिमा दुध, दही र घिउ खान नहुने चलन थियो। ग्रिन तारा र ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्रले ‘गरिमा परियोजना’ अभियान चलाएपछि यी महिनावारीको समयमा हुने विभेद र विकृतिमा सुधार आएको पाइएको छ। ती संस्थाले गरेको परियोजना प्रभाव सर्वेक्षण प्रतिवेदनले विभेदमा सुधार भएको औंल्याएको छ। बुधबार एक समारोहबिच परियोजना प्रभाव प्रस्तुतीकरण गरिएको हो।
सोही क्रममा बझाङ खप्टडखन्ना ६ की सीमा थापाले गाउँमा व्याप्त महिनावारीको विभेद हटाउन सुरु गरेको बताइन्। गाउँमा गरिमा परियोजनाले दिएको तालिमले पहिला आफू र आमामा परिवर्तन ल्याएको सुनाइन्।
थापाको अनुसार आजभन्दा चार वर्ष अघिसम्म गाउँमा महिनावारी हुँदा गाईभैंसीको दूध खान नहुने, धारा, भान्छा छुन नहुने, सबैले प्रयोग गर्ने शौचालय प्रयोग गर्न नहुने चलन थियो। यतिसम्म कि पुरुषलाई छोयो भने देउता लाग्छ भन्ने समेत चलन थियो। यी सबै दृश्य देखेकी थापालाई यी कुरा रहस्यमय लाग्थ्यो।
यी सबै जिज्ञासा भएकै बखत गाउँमा आएको ‘गरिमा’ परियोजनाले किशोरी र महिलाको बिचमा चेतनामूलक कार्यक्रम राख्यो। उनले रहस्यको उत्तर पाइन्। उनले यी सबै विभेद हटाउन आफैंबाट सुरु गरिन्।
एक दिनको कुरा थियो। उनको गाई हरायो। गाउँलेले महिनावारी भएको बेला गाईको दुध खाएकाले गाई मर्यो भन्ने हल्ला चलाए। तर गाई भोलिपल्ट भेटियो। गाउँमा जंगल भएकोले गाईवस्तु गाउँ जाँदा बाघले खाए पनि दोष भने महिनावारीलाई दिइन्थ्यो। थापाले धेरै पटक महिनावारीको विभेद उल्लंग्न गर्दै गइन्। महिनावारीको बखत दूधदही खाइन्। जुन कुरा अरूलाई भनिन्। गाईलाई केही भएको थिएन। यो रहस्य बुझेपछि उनले एक दिन महिला भेलामा आफूले गाईको दूधघिउ खाँदा पनि गाईलाई केही नभएको कुरा सुनाइन्। यो कुृरा उनकी आमाले पनि सुनिन् र समुदायले पनि।
बझाङ पाटादेवलकै युवती प्रतिमा खड्का पाँच वर्षअघि महिनावारी हुँदा छाउगोठमा बसेकी थिइन्। तेस्रो पटक छाउगोठमा बस्न उनले मानिनन्। त्यसपछि आमाले आफू सुत्ने कोठामा भुइँमा लगेर सुताइन्। तैपनि उनको घरमा केही भएन। उनले विस्तारै भान्छा छुने, धारा छुने सबै काम गर्दै गइन्। तर कसैलाई केही भएन। यो अनुकरण उनी सहित सबैजसो किशोरी तथा आमाहरूमा भइसकेको उनले बताइन्। तर दुईतीन घरपरिवार भने अहिले पनि परिवर्तन हुन नसकेको थापाले बताइन्।
यी दुई प्रतिनिधि घटनाबाहेक गाउँमा ९७ प्रतिशतले महिनावारी विभेदको अभ्यास छोडेको प्रतिवेदनले औंल्याएको छ। यो परिवर्तनसंगै महिनावारीको बेला स्कुल जाने छात्राको संख्यामा वृद्धि भएको छ। पहिला ८७ प्रतिशत छात्रा गयल हुने गरेकोमा अहिले ५ प्रतिशत मात्र महिनावारीमा गयल हुन्छन्।
परियोजनाको अभियानसँगै स्कुलमा पानी तथा सफा शौचालयको व्यवस्था ८३ प्रतिशत पहुँच पुगेको छ। ९५ प्रतिशतले प्याडको प्रयोग गर्ने गरेको पाइएको छ। ७ प्रतिशत अहिले पनि छाउपडीमै बस्ने गरेको परियोजनाकी निर्देशक शलिता गुरुङले प्रस्तुतिको क्रममा जानकारी दिइन्। महिनावारीको बखत सजिलो ओछ्यानमा सुत्नेको संख्या ९७ प्रतिशत पुगेको छ।
प्रकाशित: १९ वैशाख २०८२ ०८:४५ शुक्रबार


-600x400.jpg)


