मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) आइतबार भक्तपुरका विभिन्न नगरपालिकाहरुमा बजार अनुगमन गरिएको छ । मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाका विभिन्न ठाउँंहरुका मिठाई पसलहरुमा अनुगमन गरिएका हुन् ।
जिल्ला प्रशाशन कार्यालय भक्तपुरको नेतृत्वमा भएको अनुगमनमा पच्चिस सयदेखि दस हजार रुपैयाँसम्मको नगद जरिवाना गराइएको छ । स्वास्थ्यको मापदण्ड पूरा नगरेका ती पसलहरुमाथि कारबाही गरिएका हुन् ।
मध्यपुर थिमिका चार र सूर्यविनायक नगरपालिकाका एक वटा गरी कुल पाँंच वटा पसलहरुमा अनुगमन गरिएको अनुगमन टोलीका सदस्य राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापाले जानकारी गराए । पाँचमध्ये चार वटा पसलहरुलाई नगदसहितको कारवाही गरिएको छ । एउटा पसललाई अनुज्ञापत्र लिएर मात्रै मिठाई प्याकिंग गर्न, ३० दिनभित्र अनुज्ञापत्र लिएर उद्योग तथा बाणिज्य कार्यालय भक्तपुरमा उपस्थित हुन निर्देशन दिएको थापाले जानकारी दिए ।
मध्यपुर थिमि नगरपालिकाको नयाँं थिमिका दुई पसल शंखधर मिठाई पसल र धनुषा मिठाई पसललाई प्रतिपसल दश हजार नगदसहितको कारबाही गरिएको हो । मध्यपुर थिमिको गुपा एण्ड स्वीट्स हाउसलाई पाँंच हजार नगद जरिवाना तिराइएको छ ।
मिठाई पसलमा मूल्यसूचि दैनिक राख्नुपर्ने, उत्पादित मिठाइहरुमा उत्पादन मिति, म्याद गुज्रने मिति र मूल्य खुलाई राख्नुपर्ने, सरसफाईमा ध्यान दिनुपर्ने, करचुक्ता समयमै गर्नुपर्ने, अनुज्ञापत्र लिएर मात्रै मिठाई प्याकिंग गर्नुपर्ने, स्थानीय निकायमा फर्म दर्ता गर्नुपर्ने कारवाही तथा निर्देशन दिइएको छ ।
प्रकाशित: १४ वैशाख २०८२ १७:४४ आइतबार