धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकले शुक्रबार ओपीडी सेवा बन्द गरेका छन्। यसले ओपीडी सेवाका लागि आएका बिरामीलाई समस्या भएको भयो।
प्रतिष्ठानको जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीकी सभापति डा. तनु मवनले नेपाल चिकित्सक संघको पूर्वघोषित कार्यक्रमअनुसार ओपीडी सेवा बन्द गरिएको बताइन्। चिकित्सकले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको चिकित्सक सरह सेवा–सुविधा र निर्वाह भत्ता लागू गर्न, कार्य समय यकिन गर्न र व्यवसायिक मापदण्डसम्बन्धी निर्णय लागू गर्न माग राख्दै आन्दोलन थालेका छन्।
माघ २५ गते चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरह सेवा–सुविधा दिने निर्णय गरेको थियो। तर, सरकारले यो निर्णय कार्यान्वयन नगरेपछि चिकित्सक संघले २४ घण्टे अल्टिमेटम दिएको थियो। अल्टिमेटमको सम्बोधन नभएपछि आन्दोलन सुरु भएको हो।
नेपाल चिकित्सक संघले बिहीबार नियमनकारी निकायमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर माग पूरा गर्न अल्टिमेटम दिएको थियो। संघले आकस्मिक र सघन उपचारबाहेकका सेवा बन्द गर्ने आह्वान गरेको थियो। सोही आह्वानअनुसार शुक्रबारदेखि आन्दोलन सुरु भएको छ।
प्रकाशित: १२ वैशाख २०८२ १९:३४ शुक्रबार