मातृ तथा नवजात शिशुको उपचार र स्याहारमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले कुपण्डोल शाखामा सिमुलेशन ल्याब सञ्चालनमा ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सोमबार उक्त ल्याबको औपचारिक उद्घाटन गरे।
सिमुलेशन ल्याबमा नर्सिङ, अनमी, मिडवाइफ र चिकित्सकहरूले व्यवहारिक अभ्यास गर्न सक्ने सुविधा रहेको छ। बिरामीलाई प्रत्यक्ष असर नपर्ने गरी दक्षता अभिवृद्धि गर्ने यो ल्याब अमेरिकी दातृ संस्था युएसएडको सहयोगमा वन हार्ट वल्र्डवाइड मार्फत निर्माण गरिएको हो।
अस्पतालका निर्देशक डा. श्री अधिकारीका अनुसार, नयाँ ल्याबले देशभरका मातृशिशु स्याहारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई केन्द्रीयस्तरको स्तरीय तालिम प्रदान गर्न महत्वपूर्ण टेवा पुर्याउनेछ।
उद्घाटन कार्यक्रममा मन्त्री पौडेलले ल्याबको स्थापना आमा र शिशुको जीवन रक्षाका लागि क्षमता विकासमा निर्णायक हुने बताए। उनले भने, ‘‘यो ठूलो कुरा जस्तो नदेखिएला तर मातृशिशु सुरक्षाको दिशामा यो पहिलो महत्वपूर्ण शुरुवात हो।’’
उनले परोपकार प्रसुति अस्पतालले प्रतिष्ठानसरह काम गरिरहेको भन्दै अब सातै प्रदेशमा यस्ता केन्द्रहरू विस्तार गरिने बताए।
‘‘अब बाँकी ६ प्रदेशमा पनि मातृशिशुका लागि विशिष्टकृत सेवा र जनशक्ति विकासलाई अगाडि बढाउँछौं,’’ उनले घोषणा गरे। साथै, उनले आगामी आर्थिक वर्षको बजेटमा मातृशिशु स्याहारका क्षेत्रमा थप लगानी गरिने बताए।
साथै, मन्त्री पौडेलले अस्पतालको पुरानो भवनमा विस्तार गरिएको बर्थिङ युनिटको समेत उद्घाटन गरे।
अघिल्लो अवस्थमा ८ शैय्या मात्र क्षमताको बर्थिङ सेन्टरमा अब थप ४ शैय्या थपिएसँगै सेवा क्षमता १२ पुगेको अस्पतालले जानकारी दिएको छ। दुई जना मिडवाइफ अधिकृत थपिएकाले प्रसुति सेवामा गुणस्तरीय सुधार हुने अपेक्षा गरिएको छ।
अस्पतालका अनुसार, सन् २०१६ मा स्थापना भएको परोपकार प्रसुति अस्पतालले हाल झण्डै ५०० शैय्यामा बिरामीहरूको उपचार गर्दै आएको छ।
यसअघि अस्पतालले नयाँ भवनमार्फत निसन्तान उपचार, सुरक्षित गर्भपतन, र परिवार नियोजन सेवा सञ्चालन गरिसकेको छ। अस्पतालले पुरानो भवनको गाइनोकोलोजी सेवा पनि नयाँ भवनमा स्थानान्तरण गर्ने योजना अघि सारेको छ।
प्रकाशित: २ वैशाख २०८२ १४:२१ मंगलबार