२० चैत्र २०८१ बुधबार
image/svg+xml ६:४५ पूर्वाह्न
स्वास्थ्य

कर्णालीमा २ हजार बढी क्षयरोगी उपचारबाट टाढा

कर्णाली प्रदेशमा क्षयरोगका बिरामी उपचारको पहुँचभन्दा बाहिर छन्। स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ४ हजार १ सय ६ जना क्षयरोगीलाई उपचारमा ल्याउने लक्ष्य थियो। 

तर १ हजार ७ सय १४ जना मात्र उपचारमा आए। २ हजार ३ सय ९२ जना उपचारबाहिर छन्। चालु आर्थिक वर्षको फागुनसम्म ८ सय ९९ जना नयाँ बिरामी फेला परेका छन्। यहाँ क्षयरोगका नयाँ बिरामी पत्ता लाग्ने दर प्रतिलाखमा १ सय २ जना छ।  

उपचारबाहिर रहेका बिरामीलाई उपचारमा ल्याउन प्राथमिकता दिइएको बताइए पनि त्यो हुन सकेको छैन। निर्देशनालयका अनुसार लक्ष्यअनुसार रोग पत्ता लाग्ने दर प्रतिलाखमा ४२ जना छ। बाँकी उपचारबाहिर रहेको पाइएको छ। उपचारको पहुँचमा ल्याउन बर्सेनि खोजी गर्ने काम भए पनि क्षयरोगी उपचारबाहिर रहनु चुनौती बनेको छ।  

चालु आर्थिक वर्षमा सबैभन्दा धेरै क्षयरोगी सुर्खेतमा फेला परेका छन्। फागुनसम्म सुर्खेतमा ३ सय १२ जना नयाँ बिरामी भेटिए। जुम्लामा ४८ जना क्षयरोगी छन्। साउनदेखि फागुनसम्म जुम्लामा ४८ जना सङ्क्रमित भएको जनस्वास्थ्य कार्यालय जुम्लाका क्षयरोग तथा कुष्ठरोग अधिकृत अम्बरसिंह रावलले बताए। पातारासीमा ६, कनकासुन्दरीमा ४, सिञ्जामा २, हिमामा ४, तिलामा ६, तातोपानीमा ७, गुठिचौरमा ६ र चन्दननाथ नगरपालिकामा १३ जना क्षयरोगी फेला परेका छन्।  

सल्यानमा १ सय ६७, रुकुमपश्चिममा १ सय ५, दैलेखमा ८७, जाजरकोटमा ७०, कालीकोटमा ५२, डोल्पामा २३, मुगुमा २१ र हुम्लामा १९ जना क्षयरोगी भेटिएका छन्। निर्देशनालयले यो जानकारी दिएको छ।  

पालिकालाई क्षयरोगमुक्त बनाउने अभियान सरकारले चलाएको छ। पाँच वर्षभित्र यो अभियान देशभरका सबै स्थानीय तहमा विस्तार गर्ने योजना रहेको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख सापकोटाले बताए। दुई हप्ताभन्दा बढी खोकी लागेमा क्षयरोगको सम्भावना हुन्छ। खोक्दा वा हाच्छिउँ गर्दा यो रोग एक व्यक्तिबाट अर्कोमा सर्छ। कुनै लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा निःशुल्क जाँच गर्न सकिन्छ।  

क्षयरोग श्वासप्रश्वासबाट पनि सर्छ। एचआइभी र मधुमेह भएका बिरामीलाई यो रोगले छिटो सङ्क्रमण गर्छ। खोक्दा, हाच्छिउँ गर्दा, जथाभावी थुक्दा वा बोल्दा क्षयरोगका जीवाणु हावामार्फत स्वस्थ व्यक्तिमा पुग्छ। यो कुरा जनस्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित: १६ चैत्र २०८१ ०९:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App