मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो जीवनको परवाह नगरी बिसौँ वर्षदेखिका बेथिति अन्त्यका लागि आफूले अभियान सञ्चालन गरेको बताएका छन्।
शुक्रवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हन्। उनले बेथिति अन्त्यका लागि विगतका संघीयमन्त्री वा प्रदेशका मुख्यमन्त्रीहरुले पनि कुनै काम नगरेको आरोप लागाए। उनले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा भएका बेथिति अन्त्यका लागि अभियान सञ्चालन गर्दा विभिन्न ठाउँबाट भड्काउने प्रयास गरेको भन्दै आफूले आँट गरेर अगाडि बढेको दाबी गरे।
मधेसका केही स्थानमा एकैदिन भएको २१ वटा अस्पताल अनुगमनमा २० वटा बिनादर्ता सञ्चालन गरिएको पाइएकाले उक्त अस्पताल तत्काल बन्द गरिएको उनको भनाइ छ । उनले विगतका सरकारले पनि विभिन्न धम्कीका कारण काम गर्न नसकेको हुनसक्ने भन्दै आफूले बेथिति अन्त्यका लागि ज्यानको बाजी लगाएर भएपनि अभियान जारी राख्ने बताए।
उनले भने, ‘सार्वजनिक रुपमा काम गर्दै जाँदा प्रश्नको कुरै आउँदैन । यो सार्वजनिक जनहितको कुरा हो । यसमा धेरै प्रेसर आउँछ, यो नगरी दिनुहोस् त्यो नगरी दिनुस् भनेर तर यो बेथिति आज न भोलि कसैले त अगाडि बढ्नैपर्छ । हामीले आँट गरेर अगाडि बढेका छौँ । काम गर्दै जाँदा विभिन्न किसिमका तत्वहरु कुरा निकाल्छ । मलाई डिमोनलाइज्ड गर्न खोज्छ, यो बाटोबाट भट्काउन खोज्छ विभिन्न किसिमका थ्रेटहरु हुन्छ । तथापि त्यसलाई यसलाई छोड्यो भने भोलिका दिनमा अर्कै कुरा निस्किन्छ । त्यसैले यो निरन्तर जारी रहन्छ । चपुर, नवलपुर र हरिवनमा २१ वटा अस्पतालको अनुगमन गर्दा २० वटा बिनादर्ताको थियो जुन त्यही दिन बन्द गयौँ र एउटा मात्र सञ्चालन भयो । अब यो २० जना त मेरो पछाडि खनिएर लाग्छ । तर उनीहरुले जे जे भन्नु छ भनोस्, जबसम्म कन्ट्रोल हुँदैन तबसम्म यो अभियान रोकिँदैन । खास गरी के हुन्छ भने विगतका सरकारको यो ड्युटी थियो । हरेक स्वास्थ्यमन्त्री बनेको छ, संघीयता आइसकेपछि स्वास्थ्यमन्त्री होस् वा मुख्यमन्त्री होस् यो आफ्नो प्रदेशमा भएका बेथितिलाई कन्ट्रोल गर्न सबैको दायित्व र कर्तव्य हो । अरुले गरेन भनेर म पनि नगरी तलब भत्ता पचाउ भनेर मेन्टालिटी भएन । तर यसको पछाडी धेरै थ्रेट छ । सायद थ्रेड एनालाइसिस गरेर थ्रेडलाई झेल्न नसकेर पनि उहाँहरुले काम नगरेको होला ।’
प्रकाशित: २३ फाल्गुन २०८१ १४:१५ शुक्रबार