त्रियुगा नगरपालिका-१६ जाल्पाचिलाउनेमा आयोजित ‘नि:शुल्क स्वास्थ्य शिविर’ बाट वृद्धवृद्धा, अशक्त र अपाङ्गता भएका वडावासी लाभान्वित भएका छन्। वडा कार्यालयले शुक्रबार आयोजना गरेको शिविरबाट अधिकतर महिलासहित डेढ सय स्थानीय लाभान्वित भएका हुन्।
वडाको आधारभूत स्वास्थ्य केन्द्रमा आयोजित एक दिने शिविरमा १ सय ८ महिला र ५१ पुरुषसहित १ सय ५९ जना प्रत्यक्ष लाभान्वित भएको वडा सचिव महेश खनालले बताए। उनका अनुसार बर्सेनि सञ्चालन हुँदै आएको निःशुल्क स्वास्थ्य शिविर चालु वर्ष पनि स्वीकृत वडागत योजना अनुसार आयोजना गरिएको हो।
वडाध्यक्ष मानबहादुर राईले वडावासीको स्वास्थ्यप्रति सचेत हुँदै हरेक वर्ष खासगरी जाडोको मौसममा शिविर राख्ने गरिएको बताए। जाडो याममा वृद्धवृद्धा, दीर्घरोगी र अशक्तहरूलाई बढी समस्या पर्ने भएकाले वडा कार्यालयले बर्सेनि बजेट विनियोजन गरेरै शिविर राख्दै आएको उनको भनाइ छ।
सामान्य रोगको चेकजाँच र उपचारका लागि पनि सदरमुकाम वा सहर बजार पुग्नुपर्ने बाध्यताबाट स्थानीयवासीलाई मुक्ति दिलाउन गाउँमै शिविर सञ्चालन गर्ने गरेको वडाध्यक्ष राईले बताए। चेकजाँच गराउन सदरमुकाम गाईघाटसम्म पुग्न समय र पैसा दुवै खर्च हुने भएकाले आफ्नै गाउँघरमा सेवा प्रदान गर्न शिविर आयोजना गरिएको उनी बताउँछन्।
शिविरमा वृद्धवृद्धा जेष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्ति र अशक्तहरूलाई विशेष सहयोग पुग्ने गरेको छ। शिविरमा मधुमेह (सुगर), रक्तचाप (प्रेसर), रगत, दिसापिसाव, दम, मुटु (इसिजी) लगायत जेनेरल ओपिडीसँगै भिडियो एक्सरे, ल्याव टेष्ट र आवश्यक औषधि नि:शुल्क वितरणसमेत गरिएको थियो।
शिविरमा नगर स्वास्थ्य शाखाको सहयोग र सोम लाईफ केयर एण्ड डाईनोष्टिक प्रालिको प्राविधिक टोली परिचालन गरिएको थियो। विगत वर्षहरूदेखि सञ्चालन गरिदै आएको शिविर आगामी दिनमा पनि थप सेवा विस्तार गर्दै निरन्तरता दिँदै लैजाने योजना रहेको जिल्ला समन्वय समिति सदस्यसमेत रहेकी वडा सदस्य गोमा ढुङ्गानाले बताइन्।
प्रकाशित: २५ माघ २०८१ १७:५८ शुक्रबार




-600x400.jpg)
