नेपालमा गलत जीवनशैलीका कारण बर्सेनि क्यान्सर रोगी बढ्दै गएको विज्ञ चिकित्सकहरूले औंल्याएका छन्।
विश्व क्यान्सर दिवसका अवसरमा मंगलबार प्रस्तुति दिँदै वीर अस्पताल अन्कोलोजी विभागका प्रमुख डा. विवेक आचार्यले क्यान्सर रोगी बढ्दै जानुको मुख्य कारण गलत जीवनशैली भएको बताए। उनका अनुसार गलत खानपान, आरामदायी जीवनशैली र प्रदूषणले पछिल्लो समय क्यान्सर रोगी बढ्दै गएको छ।
पछिल्लो समय पत्रुखाना (जंकफुड), प्याकेटमा राखिएका खाना र विषादीयुक्त खाना प्रयोग गर्ने गरेका कारण पाचन प्रणालीसम्बन्धी अंग खानेनली, पेट, आन्द्रामा हुने क्यान्सरहरू बढ्दै गएको उनको भनाइ छ। नेपालमा यी अंगको क्यान्सर फोक्सोपछि दोस्रो नम्बरमा पुग्न लागेको डा. आचार्यले बताए।
उनका अनुसार खानेनली, पेट र आन्द्राको क्यान्सर बढ्दै गएको छ। त्यसैगरी धूमपान र मदिरा सेवनका कारण पनि नेपालमा क्यान्सर हुने क्रम पहिलादेखि नै कायम छ। पछिल्लो समय बढ्दो प्रदूषणका कारण फोक्सो तथा अन्य क्यान्सर बढ्दै गएको उनले औंल्याए।
नेपालमा अहिले पनि सुर्ती, चुरोट, गुट्खा, पानपरागजस्ता सुर्तीजन्य पदार्थको प्रयोगका कारण फोक्सो, मुख तथा घाँटीको क्यान्सर बढ्दै गएको छ। आरादादयी जीवनशैलीको कारण मोटोपनाको समस्या बढ्दै गएको र मोटोपनाकै कारण पनि क्यान्सर बढ्दै गएको उनले जानकारी दिए।
नेपालले प्राकृतिक तथा स्वच्छ खाने कुराको आयात घटाउँदै गएको र अस्वस्थ आयातित खानेकुराको उपभोग बढ्नुको मुख्य कारणले रहेको डा. आचार्यको भनाइ छ। ‘आफ्नो उत्पादन छैन। नागरिकलाई स्वस्थ खाना छैन,’ उनले भने। राज्यले अबका दिनमा आफ्नै देशमा स्वच्छ खानेकुरा तयार पार्न उत्पादनमा जोड दिने, स्वस्थ खानाको वितरण प्रणालीमा जोड दिनेलगायत नीति लिएर कार्यान्वयन नगरे यो समस्या ज्युँका त्युँ रहने उनले बताए।
साथै नेपालमा बढ्दो क्यान्सरलाई सम्बोधन गर्न हालै राष्ट्रिय क्यान्सर रणनीति बनेको र यो रणनीतिलाई कार्यान्वयन गर्नुपर्ने डा. आचार्यको सुझाव छ। उनका अनुसार यो रणनीतिले क्यान्सरको रोकथामदेखि उपचारसम्मको प्रक्रियालाई सम्बोधन गर्छ। कुनै पनि क्यान्सर सुरुमै पहिचान भए उपचारबाट बच्न सकिने भएकाले आफ्नो स्वास्थ्य नियमित परिक्षण गर्न र स्वस्थ जीवनशैली अपनाउन चिकित्सकहरूले सुझाएका छन्।
तथ्यांकअनुसार नेपालमा सन् २०२० मा नेपालमा क्यान्सरकै कारण १६ हजार ६ सय २९ जनाको मृत्यु भएको थियो। नेपालमा फोक्सो, पाठेघरको मुख, स्तन, पेट र आन्द्रामा हुने क्यान्सर मुख्य हुन। पुरुषमा फोक्टो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखएिका छन्।
महिलामा पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर प्रमुख छन। विकासोन्मुख देशहरूमा ३० प्रतिशत क्यान्सर हेपाटाइटिस र ह्युमन पेपिलोमा भाइरस संक्रमणको कारणले हुन्छ। विश्वमा प्रति वर्ष एक करोड मानिसको मृत्यु क्यान्सरको कारणले हुन्छ।
विश्व क्यान्सर नेपालमा विभिन्न कार्यक्रमका साथ मनाइएको छ। यो वर्ष ‘पृथक्तामा एकता’ भन्ने मूल नाराका साथ विश्वभरि क्यान्सर दिवस मनाइयो। सोही अवसरमा नेपाल क्यान्सर रिलिफ सोसाइटीले उपत्यकामा एक र्यालीको आयोजना गर्यो। सो कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले क्यान्सरविरुद्ध जनचेतना फैलाउन युवाहरूको भूमिका आवश्यक रहेको बताए।
नेपाल क्यान्सर रिलिफ सोसाइटीका अध्यक्ष महेश श्रेष्ठले सरकारको योजना सकारात्मक बन्दै गएको बताए। क्यान्सर दिवसका अवसरमा सोसाइटीले काठमाडौंका विभिन्न ठाउँबाट भक्तपुर क्यान्सर अस्पताल जाने बिरामीका लागि निःशुल्क बस सेवा सुरु गरेको छ
प्रकाशित: २३ माघ २०८१ ०७:३९ बुधबार





