२२ पुस २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

शहरी स्वास्थ्यमा नीतिगत सुधारको आवश्यकता

विभिन्न देशका स्वास्थ्य क्षेत्रका नीति निर्माता, विकास साझेदारहरू र अनुसन्धानकर्ताहरूले न्यून र मध्यम आय भएका देशहरूमा अनुसन्धान तथा तथ्यका आधारित नीतिगत सुधारको आवश्यकता रहेको बताएका छन्।

सामुदायिक नेतृत्वमा आधारित उत्तरदायी तथा प्रभावकारी शहरी स्वास्थ्य प्रणाली (कोरस) अनुसन्धान कार्यक्रमका साझेदार एआरके फाउण्डेशनरब्र्याक जेम्स पी. ग्रान्ट स्कूल अफ पब्लिक हेल्थ बंगलादेशद्वारा आयोजित शहरी स्वास्थ्य नीति संवादमा सहभागीहरूले काठमाडौं, ढाका लगायतका शहरहरूमा शहरीकरण तीव्र रूपमा बढिरहेको र विशेष गरी शहरी विपन्न समुदायहरू स्वास्थ्य जोखिममा रहेको बताए। उनीहरूले शहरमा विपन्नहरू गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित हुने गरेकाले विपन्नमुखी नीति तथा कार्याक्रमहरूको आवश्यकता रहेको औंल्याए।

विश्व स्वास्थ्य संगठनका अनुसार, ४.२ अर्ब शहरी बासिन्दामध्ये धेरैजसो मानिस अव्यवस्थित आवास, सरसफाइको कमी, फोहर व्यवस्थापनको समस्या, तथा दूषित वायुबीच गुज्रिरहेका छन्। यसले उनीहरूको स्वास्थ्य गम्भीर जोखिममा परेको छ। विशेष गरी, शहरी विपन्न समुदायहरूको गुणस्तरीय स्वास्थ्य सेवामा सीमित पहुँच छ।

नीतिगत संवादमा नेपाल, बंगलादेश, घाना, नाइजेरिया, र बेलायतका अनुसन्धानकर्ता र बंगलादेशका नीति निर्माताहरू उपस्थित थिए।

यस अवसरमा हर्ड इन्टरनेशलका निर्देशक तथा स्वास्थ्य प्रणाली विज्ञ डा. सुशील बरालले शहरी समुदायहरूको गुणस्तरीय स्वास्थ्य सेवामा सीमित पहुँच रहेको र त्यसले असमानता बढाएकाले नीति तथा कार्यक्रममा सुधार नगरे विश्वव्यापी स्वास्थ्य पहुँच (युनिभर्सल हेल्थ कभरेज) हासिल गर्न नसकिने बताए।

नेपालमा ७० प्रतिशत मृत्यु नसर्ने रोगका कारणले हुने गरेको र विशेष गरी शहरी बासिन्दा नसर्ने रोगको जोखिममा रहेकोले शहरी स्वास्थ्य सरकारको प्राथमिकतामा हुनुपर्ने उनकाे सुझाव थियाे।

"नेपाल मात्र होइन, अन्य कम र मध्यम आय भएका देशहरूमा पनि शहरी क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सीमित छ। सरकारहरूले उपलब्ध प्रमाणहरूको प्रभावकारी उपयोग गरी शहर स्वास्थ्य प्रणाली सुदृढ बनाउन आवश्यक छ, जसले विपन्न शहरी बासिन्दाहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न सकियोस्," उनले भने।

कार्यक्रमका बंगलादेश स्वास्थ्य सेवा विभाग, स्वास्थ्य अर्थशास्त्र इकाईका महानिर्देशक डा. मो. इनामुल हकले स्वास्थ्य वित्त रणनीति तथा शहरी स्वास्थ्य नीति भए तापनि कार्यान्वयन कमजोर भएकाले बंगलादेशमा शहरी प्राथमिक स्वास्थ्य सेवामा बाधा पुगेको बताए।

छलफलका क्रममा सहभागीहरूले सरकारी निकायहरूबीच प्रभावकारी समन्वय, शहरी स्वास्थ्य व्यवस्थापनमा हरेक निकायको भूमिकाबारे स्पष्टता र कम तथा मध्यम आय भएका देशहरूमा शहरी प्राथमिक स्वास्थ्य सेवाका लागि राष्ट्रिय नीति, मापदण्ड, र निर्देशिकाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको औंल्याए।

साथै, निजी स्वास्थ्य सेवा प्रदायक र सार्वजनिक स्वास्थ्य संस्था तथा प्रणालीबीच तथ्यांक आदानप्रदान गर्नुपर्ने र आधारभूत स्वास्थ्य सेवामा सुधार गरेर ठूला अस्पतालहरूको भार कम गर्नुपर्ने सुझाव दिए।

सामुदायिक नेतृत्वमा आधारित प्रभावकारी शहरी स्वास्थ्य प्रणाली (CHORUS-कोरस) अनुसन्धान बंगलादेश, घाना, नाइजेरिया, र नेपालमा सञ्चालन भइरहेको छ। शहरी विपन्न समुदायहरूले सार्वजनिक स्वास्थ्य संस्थाहरूबाट सेवा लिन असुविधाजनक समय, अपर्याप्त स्रोतसाधन, र स्वास्थ्य संस्थाहरूको कमजोर तयारीले बाधा गर्ने भएकाले उनीहरूले निजी तथा अनौपचारिक स्वास्थ्य सेवा प्रदायकहरूबाट सेवा लिने प्रवृत्ति बढेको यस अध्ययनले देखाएको छ।

कोरसका सह-निर्देशक प्रा. हेलेन एल्सीले भने, "शहरी जनसंख्या र मधुमेह तथा उच्च रक्तचाप जस्ता दीर्घ रोगहरूको वृद्धिसँगै, निजी-व्यावसायिक, गैरसरकारी संस्था र अनौपचारिक सेवा प्रदायकहरू स्वास्थ्य सेवा आवश्यकता पूरा गर्न सक्रिय भएका छन्।

हाम्रो अनुसन्धानले नेपाल, बंगलादेश, घाना, र नाइजेरियामा सार्वजनिक तथा निजी सेवा प्रदायकहरूबीच समन्वयको ठूलो आवश्यकता देखाएको छ।"

प्रकाशित: १९ माघ २०८१ ११:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App