बाल्यकालमा भोगेका आघात तथा तनावको प्रभाव पुरुषको शुक्राणु कोषमा समेत पर्ने र यसले सन्तानलाई समेत प्रभाव पार्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ।
वैज्ञानिक जर्नल ‘मोलुकुलर साइक्याट्री’मा हालै प्रकाशित उक्त अध्ययनअन्तर्गत ५८ पुरुषको शुक्राणु कोशिकाको रहेका डिएन र आरएनको समीक्षा गरिएको थियो। अनुसन्धानमा ३० देखि ४० वर्षको हाराहारीका पिताहरू सहभागी थिए।
वातावरणीय प्रभावले मानव कोषको रासायनिक संरचनामा पार्ने प्रभाव अध्ययन(इपिजेनेटिक्स) विधा अन्तर्गत गरिएको उक्त सोधकार्यले मानिसहरूको जीवन अनुभव र वातावरणले कोषमा रहेको डिएनएमा ‘इपिजेनेटिक परिवर्तन’ गर्ने र यसले अन्तत वंशाणु (जिन)का गतिविधिलाई परिमार्जन गर्न सक्ने देखिएको छ।
‘इपिजेनेटिक्सले आधारभूत रूपमा कुन वंशाणु सक्रिय छ भन्ने अध्ययन गर्दछ र यो अध्ययनले वंशानुगत परिवर्तन सहित पिताको जीवन अनुभव आगामी पिँढीमा हस्तान्तरण हुने देखिएको छ,’ अध्ययनको नेतृत्व गरेका तथा फिनल्यान्डस्थित टर्कु विश्वविद्यालयका सहप्राध्याक डा. जेट्रो टुलारीले भनेका छन्।
वंशाणु र डिएनएको अध्ययनमार्फत पारिवारिक विरासतलाई थप बुझन जीवविज्ञानका लागि महत्त्वपूर्ण विषय रहेको प्रसग उद्धृत गर्दै सहप्राध्यापक टुलारीले यो विषयको समग्र गुत्थीलाई पत्ता लगाउन थप अध्ययन जारी रहेको बताए।
सहभागी पिताहरूको बाल्यकालको तनाव मापन गर्न अध्ययन टोलीले ट्रमा एन्ड डिस्ट्रेस स्केल (टिएडिएस) विधि अन्तर्गत उनीहरूको बाल्यकालका भएका भावनात्मक तथा शारीरिक हेलचक्र्याइँ, भौतिक तथा यौनजन्य दुव्र्यहार तथा अन्य दुःखदायी घटनाबारे सोधपुुछ गरिएको थियो।
अध्ययनले बाल्यकालमा कम आघात बेहोरेका पिताको र अधिक आघात बेहोरेका पिताको शुक्राणुमा भिन्नता देखाएको थियो। मद्यपान तथा धुम्रपानजस्ता अन्य कारणले पार्नसक्ने प्रभावलाई समेत ध्यानमा राखी गरिएको उक्त अध्ययनले घटना घटेको कैयौं दशकपछिसम्म त्यसको प्रभाव वंशानुगत तहमा पर्ने देखाएको छ।
‘पुरुषको जीवनको प्रारम्भिक चरणमा रहेको तनाव र इपिजेनेटिक्स बिचको यो सम्बन्ध अत्यन्त रोचक देखिएको छ,’ टुलारीले भनेका छन्।
मुसा र अन्य गड्यौलामा गरिएका यसअघिका अध्ययनले यो सम्बन्धलाई पुष्टि गरेको चर्चा गर्दै उनले मानिसहरूमा यो विषय नौलो र प्रारम्भिक चरणमा रहेको उनको कथन छ। ‘जे जसो भए पनि यो अध्ययनले यो विधामा थप प्रमाण दिएको छ,’ उनले भने।
अध्ययनमा सहभागी नरहेका युनिभर्सिटी कलेज लन्डनका जीवविज्ञानका प्राध्यापक रिचर्ड जेनरले ठुलो स्तरमा यस प्रकारको अध्ययन गर्न आवश्यक रहेको बताए। ‘पुरुषको उमेर र आहारजस्ता अन्य केही कारकहरूले नतिजालाई फरक पार्नसक्छ त्यसैले यी कारकहरूलाई समेत समावेश गरेर थप अध्ययन गर्न सकिन्छ,’ जेनरले भनेका छन्।
(लाइभ साइन्स डटकमबाट अनुदित)
प्रकाशित: १९ माघ २०८१ १०:२७ शनिबार





