त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले कलेजो प्रत्यारोपणमा आत्मनिर्भर भएको एक वर्ष पूरा गरेको छ। पुस २९, २०७९ मा डा. रमेश सिंह भण्डारी नेतृत्वको टोलीले विदेशी विशेषज्ञको सहयोगबिना पहिलो पटक कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको थियो।
गत दुई साताअघि मात्रै ५४ वर्षीय महिलामा कलेजो प्रत्यारोपण गरिएको थियो। ती महिलालाई उनकी ३२ वर्षीया छोरीले कलेजो दान गरेकी थिइन्। दाता र प्राप्तकर्ता दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको डा. भण्डारीले जानकारी दिए। यो प्रत्यारोपण टिचिङ अस्पतालको सातौँ आत्मनिर्भर प्रत्यारोपण हो।
कलेजो प्रत्यारोपणमा दिगो आत्मनिर्भरता
सन् २०१९ देखि कलेजो प्रत्यारोपण सुरु गरेको टिचिङ अस्पतालले हालसम्म १६ जनामा कलेजो प्रत्यारोपण गरेको छ। प्रारम्भका पाँच वर्ष विदेशी विशेषज्ञको सहयोगमा प्रत्यारोपण भए पनि पछिल्लो एक वर्षमा पूर्णतः नेपाली जनशक्तिको भरमा प्रत्यारोपण गरिँदै आएको छ।
डा. भण्डारीले सामाजिक सञ्जालमा लेख्दै भने, ‘कलेजो प्रत्यारोपणमा दिगो आत्मनिर्भरता हासिल गरेका छौँ। यो अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद।’
नेपालमा हाल सरकारी र निजी गरी तीनवटा अस्पतालले कलेजो प्रत्यारोपण गर्दै आएका छन्। तीमध्ये आत्मनिर्भर प्रत्यारोपण गर्न सफल एकमात्र अस्पताल टिचिङ हो। अन्य अस्पताल, जस्तै— क्रिष्ट मेडिकल कलेज र राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्रले अझै पनि भारतीय विशेषज्ञको सहयोगमा मात्र प्रत्यारोपण गरिरहेका छन्।
टिचिङ अस्पतालको मासिक दुईवटा कलेजो प्रत्यारोपण गर्ने क्षमता रहे पनि पछिल्लो समय बिरामीको कम आगमनका कारण गएको एक वर्षमा सातजनामा मात्र प्रत्यारोपण गरिएको छ। ‘बिरामी नै कम आउने गरेका छन्,’ डा. भण्डारीले भने।
प्रकाशित: २९ पुस २०८१ १८:०० सोमबार