नवजात शिशुको मृत्यु हुने कारणमध्येमा शितांग (हाइपोथर्मिया) एउटा समस्या हो। यो समस्याका बारेमा समयमै थाहा पाए उपचार गरी निको पार्न सकिन्छ, तर कतिपय शिशुमा समयमै शितांग भएको थाहा पाउन नसकेमा नवजात शिशुको मृत्यु हुन्छ। समयमै यस्ता शिशु पहिचान गर्न जोखिममा रहेका नवजात शिशुले ‘हाइपोथर्मिया अलर्ट डिभाइस’ पाउने भएका छन्।
यो डिभाइस नवजात शिशुका हातमा घडीजस्तै लगाइन्छ। शिशुको शरीरमा मापदण्डभन्दा तापक्रम कम भएमा यो डिभाइस तुरुन्तै बज्छ। त्यो थाहा पाउनेबित्तिकै शिशुलाई उपचारका लागि स्वास्थ्य संस्थामा लैजानुपर्छ।
नेपालमा बर्सेनि धेरै नवजात शिशुको मृत्यु शितांगकै कारण हुने गरेको अध्ययनले देखाएपछि यो डिभाइस वितरण गर्ने तयारी भएको परिवार कल्याण महाशाखा सुरक्षित मातृत्व शाखाले जनाएको छ। शाखाका प्रमुख डा. गौरी प्रधान श्रेष्ठका अनुसार यो वर्षभित्रै कार्यान्वयन हुने गरी वितरणका लागि तयारी भइरहेको छ।
‘खरिद प्रक्रियामा गइसकेको छ। यही वर्षभित्र स्वास्थ्य संस्थाहरूमा वितरण गर्छौं’, सुरक्षित मातृत्व शाखाकी प्रमुख डा. प्रधानले भनिन्। उनका अनुसार नमुना परियोजनाअन्तर्गत प्रसूति गृह, भेरी प्रादेशिक अस्पताल, नेपालगञ्ज अस्पतालमा केही संख्यामा वितरण भइसकेको छ।
खरिद प्रक्रिया पूरा भएपछि हाइपोथर्मिया या नवजात शिशुको जन्मिने र बिरामी हुने दरअनुसार हाइपोथर्मिया अलर्ट डिभाइस वितरण गरिने छ। यो डिभाइस नवजात शिशुलाई एउटा अस्पतालमा लगाइदिन्छन् भने अर्को घरमा लगाउनका लागि दिइन्छ।
यो वितरण भएपछि नवजात शिशुको मृत्युदर स्वतः घट्ने अपेक्षा लिइएको प्रधानले बताइन्। सन् २०७८ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणअनुसार नेपालमा प्रति एक हजार जन्ममा २१ जना नवजात शिशुको शितांगकै कारण मृत्यु हुने गरेको छ।
चिकित्सकका अनुसार शरीरको तापक्रम सामान्यतः ९८ डिग्री हुनुपर्छ, तर तापक्रम व्यवस्थापन गर्ने क्षमता कमजोर भएका नवजात शिशुको शरीरमा कम हुन्छ। ८५ डिग्रीभन्दा कम तापक्रम भएमा शरीरले सामान्य क्रिया गर्न सक्दैन र नवजात शिशु जोखिममा हुन्छन्। कम तौलमा जन्मिएका, गर्भ अवधि नपुगी जन्मिएका र रोगी भएरै जन्मिएका शिशुहरूका छाला पातलो हुने र बोसोको लेयर नहुने भएकाले उनीहरूको शरीरमा चिसो छेक्ने क्षमता हुँदैन। यस्तो क्षमता नभएपछि शरीरले चिसो सामना गर्न नसकी बिरामी पर्छन् र शिशुको मृत्युसमेत हुन्छ। यस्ता शिशुका लागि सरकारले अस्पतालहरूमा कंगारु मोदर केयर कार्यक्रम पनि लागु गरिसकेको छ।
प्रकाशित: २४ मंसिर २०८१ ०७:३९ सोमबार