दशक अघिसम्म कर्णालीमा डाक्टर पाउनु त परको कुरा उपचार नै सम्भव थिएन । सामान्य बिरामी पर्दा वा घाउ चोट लाग्दा भएका अस्पतालहरूले बाहिर रेफर गर्थे । अस्पतालहरू एचए, स्टाफ नर्स, अहेब र अनमीहरूले धानेका थिए ।
भएका मेडिकल अधिकृतका दरबन्दी कि त रिक्त थिए, कि त्यो दरबन्दीमा रहेका चिकित्सक काजमा सुविधा सम्पन्न सहरमै बस्थे । उपचार नपाउँदा कर्णालीवासीका लागि अकालमै मर्नुपर्ने नियति थियो ।
अहिले भने त्यो अवस्थाबाट कर्णाली लगभग बाहिर निस्किएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक, वरिष्ठ हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. पूजन रोकाया कर्णालीवासीका लागि त्यो अँध्यारो काल कर्णालीका लागि इतिहास बनेको बताउँछन् ।
अहिले कर्णाली डाक्टर(चिकित्सक) पर्खने भन्दा डाक्टर आफै उत्पादन गर्छ । २०६८ मा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि कर्णालीको कालो अध्यायले कोल्टे फेरेको हो । प्रतिष्ठानमा चिकित्सा शिक्षाको पठनपाठन सुरु भएयता कर्णालीले डाक्टरको अभाव झेल्नुपर्ने अवस्थाबाट बिस्तारै छुटकारा पाउन थालेको छ ।
प्रतिष्ठानले जनस्वास्थ्य, नर्सिङ र चिकित्सा शिक्षाका कार्यक्रम चलाइरहेको छ । दुर्गम थलोमै स्वास्थ्य सेवा सम्बन्धी शिक्षा पठनपाठन हुँदा कर्णाली मात्र होइन सुदूरपश्चिमको हिमाली क्षेत्रका बासिन्दाले गुणस्तरीय स्वास्थ्य सेवाका साथै सर्वसुलभ चिकित्सा सेवाको सुविधा पाएका छन् ।
प्रतिष्ठानमा अहिले तीन सय शय्याको अस्पताल पूर्ण रूपमा सञ्चालनमा छ । अस्पतालमा ७५ जना विशेषज्ञ डाक्टर, ३० जना एमबिबिएस डाक्टर र १३० जना नर्स कार्यरत छन् । उनीहरूबाहेक प्रशिक्षार्थीहरूले पनि प्रयोगात्मक शिक्षाका माध्यमबाट आम जनतालाई स्वास्थ्य तथा चिकित्सा सेवा दिइरहेका छन् । प्रतिष्ठानले कुल ४५० जना कर्मचारीलाई रोजगारी दिएको छ ।
प्रतिष्ठानका कारण सेवासँगै कर्णाली क्षेत्रका विद्यार्थीले सस्तोमा स्वास्थ्य तथा चिकित्सा शिक्षाको अवसर पनि पाएका छन् । २०७१ देखि यहाँ स्टाफ नर्स, ०७३ देखि हेल्थ असिस्टेन्ट –एचए) को पठन पाठन भइरहेको छ । कर्णालीमै नर्सिङ र जनस्वास्थ्य सम्बन्धी पठनपाठन सुरु भएपछि यहाँका स्वास्थ्य संस्थाले स्वास्थ्यकर्मी अभावको समस्या टर्दै गएको छ । ०७५ देखि जनस्वास्थ्य तर्फको स्नातक कार्यक्रम सुरु भएको छ । यसले पनि कर्णालीमा राम्रो प्रभाव पारेको छ ।
०७६ सालमा तीन वर्षे डिप्लोमा इन फार्मेसी र ०७७ सालमा एमडिएमएस पठनपाठन पनि सुरु भएको छ । यो सँगै प्रतिष्ठानले जुम्लामा स्नातकोत्तर तहको पठनपाठन गराइरहेको छ ।
लामो प्रयासपछि प्रतिष्ठानले ०७८ फागुनमा २० सिटको एमबिबिएस पठनपाठनको अनुमति प्राप्त ग¥यो । अहिले जुम्लामा कर्णाली, सुदूरपश्चिम र नेपालका विकसित ठाउँका मात्र नभई छिमेकी मुलुक भारतसम्मका विद्यार्थीले एमबिबिएस पढिरहेका छन् । ‘भारतको हिमाञ्चल प्रदेशका दुई जना महिला विद्यार्थी एमबिबिएस पढ्दै छन्,’ उपकुलपति डा. मङ्गल रावलले भने ।
प्रतिष्ठानले जुम्लाबाट प्रतिवर्ष २० जना एमबिबिएस, २० जना बिएमएस, २० जना बिपिएच, २० जना बिफार्मेसी जनशक्ति उत्पादन गरिरहेको छ । हाल यहाँ १३० जना एमबिबिएस, ५९ जना बिपिएच, पाँच जना जनस्वास्थ्यकै स्नातकोत्तर तहमा, ६१ जना, स्नातक फार्मेसी, दुई जना स्नातकोत्तर फार्मेसी, ९४ जना नर्सिङमा अध्ययन गरिरहेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानबाट सेवा लिनेको संख्या पनि उल्लेख्य छ । चालू आवमा बहिरङ्ग सेवा ८६ हजार ६५० जना, अन्तरङ्ग सेवा ६ हजार १६४ जना र शल्यक्रिया सेवा तीन हजार ९४३ जनाले लिएका छन् ।
प्रतिष्ठानमै धेरै विशेषज्ञ चिकित्सक कार्यरत हुँदा कर्णालीवासी चिकित्सक रोजी रोजी सेवा लिने गरेको प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावल बताउँछन् । उनका अनुसार दैनिक एक सय भन्दा बढी बिरामी उपचारका लागि प्रतिष्ठानद्वारा सञ्चालित अस्पताल पुग्छन् ।
दुर्गममै यस प्रकारको सेवा पाउँदा कर्णालीवासी पनि खुसी छन् । ‘हामीजस्तो दुर्गमका बासिन्दाका लागि यो वरदान नै हो,’ चन्दननाथ नगरपालिका–२ का धनराज भण्डारी भन्छन्, ‘राज्यले हेपेको कर्णालीका बासिन्दा बिरामी पर्दा ज्युँदै मर्नुपर्थ्यो । अहिले दिनहुँ दर्जनौँ मान्छेले जीवनदान पाउँदै छन् ।’
प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षाका अलावा स्वास्थ्य क्षेत्रमा विभिन्न खाले अनुसन्धानका क्षेत्रमा काम पनि गरिरहेको प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महत बताउँछन्। ‘कर्णालीले अहिले चिकित्सा सेवा दिने, डाक्टर उत्पादन गर्ने मात्र गर्दैन । जनस्वास्थ्य र चिकित्सा क्षेत्रमा नयाँ अनुसन्धान गरेर समग्र क्षेत्रका लागि नयाँ विषय पनि खोजेर दिन्छ,’ उनी भन्छन् । कर्णालीको स्वास्थ्य क्षेत्र अब स्वर्णिम युगमा प्रवेश गरेको उनले बताए ।
प्रकाशित: २१ मंसिर २०८१ १५:३१ शुक्रबार