२५ मंसिर २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य बीमा रकम ५ लाखमा पुर्‍याउने सरकारको तयारी

समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री प्रदीप पौडेल। तस्बिर: नागरिक

स्वास्थ्य बीमाको दायरा बढाएर पाँच लाख रुपैयाँ पुर्‍याउने तयारीमा सरकार लागेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बिहीबार आयोजित स्वास्थ्य क्षेत्रको राष्ट्रिय संयुक्त समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै यसबारे जानकारी दिएका हुन्।

मन्त्री पौडेलका अनुसार हालको स्वास्थ्य बीमा कार्यक्रमले नै नागरिकलाई आधारभूत र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुर्‍याइरहेको छ। यसलाई थप प्रभावकारी बनाउन बीमाको सीमा हालको एक लाखबाट पाँच लाख रुपैयाँ पुर्‍याउने योजनामा सरकार क्रियाशील रहेको उनले बताए।

‘स्वास्थ्य बीमा कार्यक्रमलाई फराकिलो बनाउन ऐन र नियमावलीमा आवश्यक परिमार्जन गर्दैछौं,’ उनले भने।

स्वास्थ्य बीमाको दायरा बढाउन सामाजिक सुरक्षा कार्यक्रमलाई एकद्धार प्रणालीमार्फत लागू गर्ने तयारी भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका समन्वय महाशाखा प्रमुख भीम प्रसाद सापकोटाले जानकारी दिए। ‘आवश्यक कानुनी र प्रक्रियागत सुधार गर्दै स्वास्थ्य बीमा प्रणालीलाई अझै व्यापक बनाउने प्रयास भइरहेको छ,’ उनले भने।

सापकोटाले स्वास्थ्य बीमा कोषलाई बलियो बनाउन गृहकार्य भइरहेको उल्लेख गर्दै छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरेर कोष वृद्धि गरिने र सोही रकमलाई बीमा प्रणालीमार्फत वितरण गरिने बताए। ‘यसले कुनै पनि प्रकारका रोगको उपचार गर्न सहज बनाउने छ,’ उनले थपे।

हाल सरकारले मिर्गौला प्रत्यारोपण, हेमोडायलासिस, मुटु, क्यान्सर, स्पाइनल इन्जरी, अल्जाइमर, आमा सुरक्षा कार्यक्रम, गर्भवती जाँचजस्ता सेवाहरूमा फरक शीर्षकअन्तर्गत रकम वितरण गर्दै आएको छ।

स्वास्थ्य विमालाई पाँच लाखसम्म पुर्‍याउनको लागि सबै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गरी बीमा कोष वृद्धि गर्ने प्रक्रिया अघि बढेको प्रमुख डा. सापकोटाले जानकारी दिए। उनका अनुसार यसअन्तर्गत नेपाल सरकारको विभिन्न निकायमा आबद्ध कर्मचारी, सेना, प्रहरीलाई बीमामा अनिवार्य आबद्ध गराइने छ। साथै, आम नागरिकलाई पनि अनिवार्य रूपमा स्वास्थ्य विमामा आबद्ध गराउन प्रक्रिया अघि बढाइनेछ।

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन देखिएका त्रुटिहरूलाई सुधार्ने र नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न प्राथमिकता दिने सरकारको लक्ष्य रहेको मन्त्री पौडेलले बताए। ‘स्वास्थ्य बीमा विना नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न सम्भव छैन,’ उनले भने।

सरकारको यो कदमले नागरिकको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १३ मंसिर २०८१ १५:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App