६ मंसिर २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

मलेरिया आतंक रोक्न सय वर्ष लाग्यो

यस्ताे पनि!

मिश्रमा जति चर्चित यहाँको पिरामिड छ, त्योभन्दा कम यहाँका मच्छडको चर्चा छैन। कतिसम्म भने यिनै मच्छडका कारण यहाँका फारोहको ज्यानसमेत गएको छ।

अब मच्छडका कारण ज्यान गुमाउनुपर्ने कथा इतिहास बन्न पुगेको छ। सय वर्ष लामो संघर्ष र प्रयासका कारण इजिप्ट (मिश्र) अब मलेरियामुक्त र खासगरी खतरनाक लामखुट्टेमुक्त बन्न पुगेको छ। सोको घोषणा हालै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गरेको हो।

डब्लुएचओले यस उपलब्धिलाई ऐतिहासिक भन्दै प्रशंसा गरेको छ। संगठनका प्रमुख टेड्रस एधानम घेब्रेयेससले हालै विज्ञप्ति जारी गर्दै मिश्रको सभ्यता जत्तिकै पुरानो मलेरिया अबदेखि देश मुक्त भएको बताएका छन्। उनले विज्ञप्तिमा भनेका छन्, ‘फारोहकै ज्यान लिने गरी घातक बन्न पुगेका लामखुट्टेबाट इजिप्ट मुक्त भएको छ।’

तर यो सफलता प्राप्त गर्न इजिप्टले सय वर्ष लामो संघर्ष गरेको समेत उनले स्मरण गरेका छन्।

इजिप्टमा गत तीन वर्षयता मलेरियाका कारण ज्यान गुमाउनेहरूको संख्या शून्य बन्न पुगेको छ। जबकि अफ्रिकी मुलुकमा हरेक वर्ष मलेरियाले ६ लाखभन्दा बढीको ज्यान लिने गरेको छ। यस सफलताका लागि डब्लुएचओले इजिप्टेली जनता र सरकारको प्रयासलाई प्रशंसा गरेको छ।

यस क्षेत्रमा मलेरियामुक्त मुलुकका रूपमा यसअघि युनाइटेड अरब इमिरेट्स र मोरक्कोले आफ्नो नाम लेखाइसकेका छन्। डब्लुएचओले यसरी कुनै पनि मुलुकलाई मलेरियामुक्त घोषित गर्न ती मुलुकले गरेका निरन्तर प्रयास र रोग फैलनबाट कति वर्ष रोकियो भनी अध्ययन गर्ने गर्छ। त्यसपछि उसले प्रमाणपत्र प्रदान गर्छ।

डब्लुएचओले सन् १९२० यता इजिप्टमा मलेरियाको प्रकोप रोक्न ठूलो प्रयास गर्दै आइरहेको थियो। त्यो बेला इजिप्टमा खेतबारी छेउछाउका घरहरूमा मलेरियाको पक्रोप उच्चदरमा थियो।

मलेरिया रोग लामखुट्टेको टोकाईबाट सर्ने एउटा क्लिष्ट किसिमको परजीवीबाट लाग्ने गर्छ। त्यसो त मलेरियाबाट जोगिन खोप पनि बनेका छन् तर सबैभन्दा सजिलो चाहिँ लामखुट्टेको टोकाईबाट जोगिनु नै हो।  

प्रकाशित: १२ कार्तिक २०८१ ०७:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App