१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

विश्व मुस्कान दिवस: तपाईं दिनमा कतिपटक मुस्कुराउनु हुन्छ?

आज विश्व मुस्कान दिवस। प्रत्येक अक्टुबर महिनाको पहिलो शुक्रवार विश्व मुस्कान दिवस मनाउने गरिन्छ।

१९६३ मा हार्वे बल नामक एक व्यावसायिक कलाकारले मुस्कानसहित अङ्कित चित्र बनाए। बढ्दो प्रतिस्पर्धा, व्यस्त जीवनशैली, तनाव लगायतका कारणले मानिसहरूको अनुहारबाट मुस्कान हराउँदै गएको चिन्ताका कारण हार्वेले स्माइली अनुहारको अवधारणा ल्याए। जसले मानिसको स्वास्थ्यमात्रै होइन हरेक पक्षलाई स्वस्थ बनाउनमा मद्दत पुग्छ भन्ने उनको भनाइ थियो।

उनले विश्वभर मुस्कान फैलाउने उदेश्यका साथ उक्त मुस्कान अङ्कित चित्र बनाएपनि मानिसको अनुहारबाट मुस्कान हराउँदै गयो। त्यसपछि १९९९ मा औपचारिक रुपमा मुस्कान दिवस मनाउने घोषणा गरियो। ताकी हामीलाई मुस्कुराउनका लागि एक विशेष दिन भेटोस्।

मुस्कान किन आवश्यक छ?

विभिन्न अध्ययनहरूका अनुसार नवजात शिशुले दिनमा ९५ देखि सय पटक मुस्कुराँछ। जबकी ऊ वयस्क हुँदै गर्दा त्यो सङ्ख्या निकै घटेर जान्छ र दिनमा ४० वा ५० पटक मात्रै मुस्कुराउँछ। त्यसमा पनि कतिपय मुस्कान बस देखावटी मात्रै हुन्छ। अरुलाई देखाउनका लागि।

मुस्कुराउनु र मुस्काइरहनु मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हो। मुस्कुराउनका लागि कुनै ठोस कारण नै हुनुपर्छ भन्ने छैन। मानिसले आफूलाई कुनैपनि अवस्थामा सकारात्मक राखिराख्न मुस्कान आवश्यक छ।

मुस्कुराउनाले जीवनमा सकारात्मकता रहिरहन्छ भने यो शरीरमा राम्रो ब्लड सर्कुलेशनका लागि फाइदाजनक हुन्छ।

बेलायतमा गरिएको एक अध्ययन अनुसार बेलायतमा बसोबास गर्ने युवाहरू एक दिनमा औसतमा ११ पटक मुस्कुराउने गर्छन्। अर्थात् प्रत्येक व्यक्ति आफ्नो जीवनमा २ लाख ३२ हजारपटक भन्दा बढी मुस्कुराउँछन्।

मुस्कानसँग सम्बन्धित केही तथ्य पछि उक्त अध्ययनमा खुलाइएको थियो। जसमा गर्मीको मौसममा हुने सूर्योदय बेलायती नागरिकको मुस्कानको कारण हो। त्यसबाहेक यदि कुनै व्यक्तिको प्रशंसा गरिन्छ भने पनि मुस्कुराउने गरेका छन् भने आफ्ना पुरा तस्बिरहरू हेरेर पनि मानिसहरू मुस्कुराउने गर्छन्।

मोशुलु नामक एक संस्था गरेको उक्त अध्ययनमा २ हजार युवालाई सहभागी गराइएको थियो। र, उनीहरूसँग मुस्कानसँग सम्बन्धित प्रश्नहरू सोधिएको थियो।

बेलायतको उक्त अध्ययन अनुसार एक दिनमा १० मध्ये ८ पटक मानिसहरू अन्जान व्यक्तिको समक्ष मुस्कुराउन सहजता महसुस गर्छन्। जबकी अध्ययनमा ११ मुस्कान मध्ये  हाम्रो २ वटा मुस्कान देखावटी हुने गरेको पनि पाइयो। जुन मुस्कान हामी अगाडी भएका व्यक्तिलाई खुशी पार्न वा कुरा नबुझेपछि बुझेझैँ गर्नका लागि देखाउँछौँ। त्यस्तै १० मध्ये १ जना व्यक्तिले मुस्कुराउन मन नपरेको कुरा पनि अध्ययनमा बताएका थिए।

त्यसैगरी, मुस्कानले मानिसलाई खुशी बनाउँछ। सधैं सकारात्मक चिन्तनका साथ अघि बढ्न प्रेरित गर्छ।

मिचिगन विश्वविद्यालयको अध्ययनअनुसार मुस्कानले मानिसलाई ऊर्जाशील बनाउँछ। बौद्धिक काम गर्ने क्षमता बढाउनका लागि समेत मुस्कुराउन जरुरी छ। मुस्कानले केही मात्रामा पीडा पनि कम गर्छ। ‘मुस्कानले हामीलाई आनन्द महसुस गराउँछ। हाम्रो सोच शक्तिमा वृद्धि गराउँछ’, मनोविद् जोन इटल भन्छन्।

जब आनन्द महसुस हुन्छ निसन्देह खुसी प्राप्त हुन्छ। त्यसकारण भागदौडको यो जीवनमा बिना कारण पनि मुस्कुराउनुस्। स्वस्थ रहनुस्, खुशी रहनुस्।

प्रकाशित: १८ आश्विन २०८१ ०९:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App