१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

अब एआई एक्सरे मेसिनबाट क्षयरोग पहिचान

नेपालमा हालसम्म परम्परागत एक्सरेबाट क्षयरोगको परीक्षण हुँदै आएकोमा अबदेखि एआई (आर्टिफिसियल इन्टिलिजेन्स) चेस्ट एक्सरे मेसिनबाट गरिने भएको छ। राष्ट्रिय क्षयरोग केन्द्रमा नौवटा यस्ता एक्सरे मेसिन ल्याइएको छ। ग्लोबल फण्डको आर्थिक सहायतामा यी एक्सरे मेसिन भदौ दोस्रो साता केन्द्रमा भित्राइएको हो। केन्द्रमा ल्याइएका एआई चेस्ट एक्सरे मेसिन एउटाको मूल्य करिब ९० हजार रूपैयाँ पर्छ।

केन्द्रले तीन वर्षदेखि एआई चेस्ट एक्सरे मेसिन ल्याउन प्रक्रिया अघि बढाएको थियो। प्रक्रिया अघि बढाएको करिब तीन वर्षमा यी मेसिन आइपुगेको जानकारी राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले दिए। एआई चेस्ट एक्सरे मेसिन विकसित राष्ट्रमा धेरै वर्ष अघिदेखि प्रयोगमा आइसकेको भए पनि नेपालमा पहिलो पटक ल्याइएको हो।

यो उपकरण झोलामा बोकेर जहाँ पनि लैजान सकिन्छ। समुदायस्तरमा पुगेर यो मेसिनको सहायतामा क्षयरोगी पहिचान गर्न सकिन्छ। त्यसैले यो क्षयरोगीको उपचारमा उपयोगी हुने विश्वास केन्द्रका निर्देशक श्रेष्ठको छ। उनका अनुसार यो मेसिनमा रहेको कृत्रिम बौद्धिकता (एआई) ले एक्सरे गर्नेबित्तिकै रिपोर्ट हेर्न मिल्छ।

‘यो एक्सरे मेसिनले बिरामीलाई रगतको जिन परीक्षण गर्न आवश्यक भए/नभएको जनाउ पनि दिन्छ’, निर्देशक श्रेष्ठले भने। यो मेसिनबाट चार सयजनाको एक्सरे गरेमा ५०/६० जनाको मात्र खकार जाँच्नुपर्ने हुन्छ। अर्थात् यसले खकार जाँच्नुपर्ने भए त्यसको जनाउ दिन्छ। यसअघि कुनै शिविरमा गएर चार सयजनाको एक्सरे गरेमा ती सबैको खकार परीक्षण गर्नुपर्थ्याे।

पुरानो विधिबाट क्षयरोगी पहिचान गर्दा खर्च र समय बढी लाग्थ्यो। ‘खकारबाट क्षयरोगको जिन परीक्षण गर्दा धैरै खर्च हुने र समय पनि बढी लाग्छ। अब नयाँ प्रविधिको एक्सरे मेसिनबाट समय र खर्च दुवैको बचत हुन्छ’, निर्देशक श्रेष्ठले भने। एआई एक्सरे मेसिन ब्याट्रीबाट पनि चल्छ। एक पटक चार्ज गरेपछि दुई सयजनासम्मको एक्सरे गर्न सकिन्छ। झोलामा बोेकेर लैजान सकिने भएकाले यसबाट गाउँगाउँका बिरामी लाभान्वित हुने विश्वास लिइएको छ।

केन्द्रले सातवटै प्रदेशमा मंगलबार एकएक वटा यी एक्सरे मेसिन हस्तान्तरण गरेको छ। यसअघि केन्द्रले प्रत्येक प्रदेशमा चारजनालाई यो एक्सरे मेसिन प्रयोगसम्बन्धी तालिम दिइसकेको छ। नौवटामध्ये दुईवटा केन्द्रमै राखिएको छ। नौवटा यी मेसिन अहिलेको अवस्थामा पर्याप्त नभएकोले थप ल्याउन ग्लोबल फण्डसँग प्रस्ताव प्रक्रिया अघि बढाउने काम भइरहेको जानकारी पनि केन्द्रका निर्देशक श्रेष्ठले दिए।

प्रदेश सरकारले स्थानीय तहसँगको समवन्यमा समुदायस्तरमा शिविर राखी एकै पटक धेरैजनाको परीक्षण गर्ने सम्झौता गरी यी मेसिन हस्तान्तरण गरिएको जानकारी पनि उनले दिए। उनले भने, ‘प्रदेश सरकारका सम्बन्धित अधिकारीले स्थानीय तहसँग समवन्य गरी काम गर्छौं भन्नुभएको छ’, निर्देशक श्रेष्ठले भने।

सात प्रदेशमध्ये बागमती, लुम्बिनी र मधेसमा क्षयरोगीको संख्या बढी छ। गत आर्थिक वर्ष नेपालमा ४० हजार ७ सय २० क्षयरोगीले उपचार गराएको तथ्यांक केन्द्रसँग छ। नेपालले सन् २०३० भित्र क्षयरोगमुक्त राष्ट्र हुने लक्ष्य लिएको छ।

प्रकाशित: १० आश्विन २०८१ ०७:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App