३ आश्विन २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

जापानिज इन्सेफलाइटिसबाट गत वर्षभन्दा दोब्बर मृत्यु

जापानिज इन्सेफलाइटिस संक्रमणका कारण थप पाँचजनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। थप पाँच जनासहित मृत्यु हुनेको संख्या १४ पुगेको छ।

बुधबारसम्ममा मृत्यु हुनेको संख्या नौ थियो। मृत्यु हुनेमा कैलालीमा तीनजना, सुनसरीमा दुई, सिरहामा दुई, सर्लाहीमा एक, झापामा एक, पाल्पा एक, चितवनमा एक, कपिलवस्तुमा एक र सिन्धुलीमा एक जना छन्।

यो वर्ष कुल ६१ जनामा जापाजिन इन्सेफलाइटिस पुष्टि भएको थियो जसमा १४ जनाको मृत्यु भएको हो। गत वर्ष १०७ जना संक्रमित भएका थिए भने सात जनाको मात्र मृत्यु भएको थियो। गत वर्षको तुलनामा यो वर्ष दोब्बर संख्यामा मृत्यु भएको तथ्यांकले औंल्याएको छ।

गत वर्ष धेरै संक्रमित भए पनि मृत्यु हुनेको संख्या कम थियो। तर यो वर्ष संक्रमित घटे पनि मृत्यु हुनेको संख्या भने बढेको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए। ‘यो वर्ष गत वर्षको तुलनामा संक्रमण कम मृत्यु धेरै भएको देखिन्छ,’ गौतमले भने।

यो रोग लागेपछि मृत्यु हुने सम्भावना ३० प्रतिशतसम्म हुने र यो वर्ष संक्रमितमध्ये २३ प्रतिशतको मृत्यु भएको डा. गौतमले बताए। मृत्यु हुनेमा धेरैजसो १५ वर्षमुनिका छन्।

सेप्टेम्बरको अन्तिमदेखि यो रोगको संक्रमण दर घट्ने भए पनि अहिले अस्पतालमा शंकास्पद बिरामीको उपचार भइरहेको र मृत्यु हुने पनि उपचारमा रहेका बिरामी रहेको उनले बताए।

धेरैको मृत्यु भएपछि परिवार कल्याण महाशाखाले प्रदेश स्वास्थ्य निर्देशनालयको समन्वयमा स्थानीय तहलाई परिचालन गरेको जनाएको छ।

कुनै घर या टोलमा जापानिज इन्सेफलाइटिसको संक्रमित पाइए घरमै पुगी यो रोगबाट बच्ने उपायबारे जानकारी दिने काम भइरहेको बताए। यसका साथै विभिन्न भाषामा रेडियो सन्देश सामग्री निर्माण गरी स्थानीय एफएम रेडियोमार्फत सन्देश प्रवाह गर्ने काम भइरहेको छ।

यसका साथै पशु स्वास्थ्य विभागसँग पनि सहकार्य गरी पशुपक्षीलाई जोगाउन निर्देशन दिएको बताए। यो रोग लागिसकेपछि उपचारले पनि निको नहुने भएकाले कुनै पनि व्यक्ति लामखुट्टेको टोकाइबाट बच्नु नै मुख्य उपाय भएको डा. अभियानले सुझाए।

जापानिज इन्सेफलाइटिसविरुद्धको खोप भए पनि लगाएको एक महिनापछि मात्र यसले शरीरमा रोगसँग लड्ने शक्ति प्रदान गर्ने भएकाले अहिले लगाएको खोपले पनि काम नगर्ने र अर्को महिनादेखि यो रोगको संक्रमण घट्ने भएकाले खोपको औचित्य नभएको उनी बताउँछन्।

क्युलेक्स नामक लामखुट्टेले टोकेमा यसको संक्रमण हुने भएकाले यो लामखुट्टेको उत्पादन हुन नदिन घरवरिपरि पानी जम्ने ठाउँ पुर्ने, राति सुत्दा झुलको प्रयोग गर्ने, खेतबारी या पशुपक्षीको नजिक जाँदा पूरा शरीर छोप्ने लुगा लगाउने जस्ता उपाय अपनाउन सकिन्छ।

विशेषगरी यो रोग बंगुर र हाँसबाट लामखुट्टेले मानिसमा सार्ने भएकाले पशुपालन गर्ने कृषक बढी सचेत हुनु पर्ने स्वास्थ्यकर्मीको सुझाव छ। ‘अहिले संक्रमितमध्ये बढी खेती र पशुपालन व्यवसाय भएका बढी छन्,’ उनले भने।

प्रकाशित: २९ भाद्र २०८१ ०६:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App