नवजात शिशु भन्ने वितिक्कै उसलाई विशेष हेरचाहको आवश्यकता हुन्छ। यदि शल्यक्रिया गरेर जन्मेको शिशु हो भने उसलाई कुनैपनि सङ्क्रमण छिटै हुन सक्ने सम्भावना हुन्छ भने सामान्य जन्मेको नवजात शिशुलाई पनि जोखिम उच्च हुन्छ। त्यसकारण नवजात शिशुको विशेष हेरचाहमा सबैले ध्यान दिनुपर्छ।
नवजात शिशुको अवस्था निकै संवेदनशील हुने भएकाले उनीहरूलाई भेट्नुअघि विशेष ध्यान पुर्याउनुपर्छ। तपाईं पनि यदि नवजात शिशुलाई पहिलो पटक भेट्दै हुनुहुन्छ भने भेट्नु अगाडी केही महत्वपूर्ण विषयमा विचार पुर्याउनुहोस्।
नवजात शिशु तथा बालरोग विशेषज्ञ डा.लव कुमार साह नवजात शिशुलाई भेट्नुअघि यी कुरामा ध्यान दिन सुझाव दिन्छन्ः
- नवजात शिशु र उसको परिवारलाई भेट्नुपूर्व तपाईंले आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ। कारण, तपाईंलाई यदि रुघाखोकी वा अन्य कुनै रोग - लागेको छ भने त्यसको सङ्क्रमण शिशुलाई पनि हुन सक्ने सम्भावना बढी हुन्छ। त्यसकारण त्यस अवस्थामा तपाईंले शिशुलाई नछुनु नै राम्रो हुन्छ - भने उसलाई अस्पतालमा भेट्न नगएकै राम्रो।
- शिशु जन्मेपछि ६ देखि ७ सातासम्म शिशुको रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर हुन्छ। तसर्थ, बच्चाको नजिक पुग्दा वा बच्चालाई हेर्दा तपाईंको हातखुट्टा राम्रोसँग साबुन पानीले धुनु पर्छ।
- बच्चाको पहिलो पटक मुख हेर्दा पैसा दिने प्रचलन हाम्रो समाजमा अझैपनि विद्यमान छ। पैसा चलायमान वस्तु हो। त्यसैले यसमा रोगका किटाणुहरू हुन सक्छन्। जसबाट बच्चामा विभिन्न किसिमको सङ्क्रमण हुने डर हुन्छ। तसर्थ, यो चलनलाई आजैबाट निरुत्साहित गर्नु जरुरी छ।
- शिशुलाई भेट्दा न्यानो, सफा र सुती वा ऊनीको लुगा लैजानुहोस् । लुगा एकचोटि धोएर इस्त्री गरेर लगेको खण्डमा माडको एलर्जी कम हुन्छ। यदि लुगा लिएर जाने सोच बनाउनुभएको छ भने बच्चाको छालालाई उपयुक्त हुन्छ वा हुन्न भन्ने विषयमा पनि ख्याल पु¥याउनुहोस्।
- शिशु भेट गर्नुअघि चुरोट–बिडी लगायत सुर्तिजन्य पदार्थ उपभोग नगर्नुहोस् । यदि चुरोट पिउनुभएको छ भने मुख बेस्सरी कुल्ला गर्नुहोस्। किनकि, तपाईंको मुखको गन्धले शिशुलाई असर गर्नसक्छ।
- बच्चालाई चुम्बन पनि नगर्नुहोस्। तपाईंको मुखमा भएको ब्याक्टेरिया शिशुमा सर्ने प्रबल सम्भावना हुन्छ। नवजातलाई गन्धप्रति त्यति कडा चेतना नभए पनि शरीरमा अत्यधिक अत्तर छर्केर जाँदा शिशुलाई एलर्जी हुने भएकाले सकभर अत्तर छरेर नजानुहोस्।
(डा. साह मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह प्राध्यापक हुनुका साथै प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत छन् ।)
प्रकाशित: २७ भाद्र २०८१ ०९:४८ बिहीबार