देशैभरि डेंगी संक्रमण फैलिएको छ। भदौको तेस्रो सातासम्म ७७ वटै जिल्लामा डेंगी संक्रमण फैलिसक्दा पाँचवटा जिल्लामा भने पाँच सयभन्दा बढी व्यक्ति संक्रमित भएको पुष्टि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सबैभन्दा बढी तनहुँमा ११ सय ४९, कास्कीमा सात सय ६४, पर्वतमा ६ सय ५७, काठमाडौंमा पाँच सय ५२ र चितवनमा पाँच सय ३३ जनामा संक्रमण भइसकेको छ।
देशभरिमा संक्रमित हुनेको संख्या ६ हजार आठ सय ३१ पुगेको छ। संक्रमितमध्येमा चार जनाको मृत्यु भएको छ। कतिपय जिल्लामा सक्रिय संक्रमितको संख्या ओरालो लागेकाले डेंगी अहिल्यै कुन रूपमा कता फैलिन्छ भनेर यकिन गर्न नसकिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताए।
उनका अनुसार तनहुँ र कास्कीमा नयाँ संक्रमित दर ओरालो लागेको छ। काठमाडौं, चितवनालगायत केही जिल्लामा भने अहिले पनि उल्लेखनीय संख्यामा संक्रमण दर बढेको देखिएको छ।
चितवनको स्थानीय तहले लामखुट्टे खोजी गरी नष्ट गर्ने अभियान सक्रिय पारेको देखिएकाले संक्रमण दर ओेरालो लाग्ने सम्भावना छ।
गत वर्षको तुलनामा यो वर्ष समयमै सर्च एन्ड डेस्ट्रोय अभियान स्थानीय तहले जारी राखेका कारण पनि गत वर्षको तुलनामा बढी प्रकोप नभएको हुन सक्ने डा. दाहालले बताए।
जनघनत्व बढी भएका सहरहरूमा यसको जोखिम अहिले पनि कायम रहेकोले डेंगी सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने कार्य जारी राख्न उनले सुझाव दिए।
स्वास्थ्य सेवा विभागका पूर्वइप्टिमोलोजिस्ट (कीटविज्ञ) शिशिर पन्तले थप दुई महिना डेंगी सार्ने लामखुट्टेका लागि अनुकूल मौसम भएकाले अभियान जारी राख्नुपर्नेमा जोड दिए। घरभित्र सफा पानी जम्मा गर्ने ट्यांकी राख्ने गरिँदा घरबाहिरको वातावरण अहिले पनि एडिस लामखुट्टेका लागि अनुकूल देखिएको उनले बताए। ‘अहिले पनि हावामा पानीको सापेक्षिक आर्द्रता कायमै छ, फाट्टफुट्ट पानी परिरहेको, पानी परेसम्म योे लामखुट्टको जीवनचक्र चलिरहन्छ,’ उनले भने।
तराईंका जिल्लाहरू, पहाडी जिल्लामा बेंसी तथा खोंच उपत्यकाहरूमा यो लामखुट्टेका लागि अनुुकूल वातवरण हुने भएकाले पानी बीचबीचमा परेका कात्तिकसम्म जीवनचक्र कायम हुन्छ र डेंगीको जोखिम रहन्छ।
पन्तका अनुसार घरभित्रै पानी सफा पानी जम्मा गर्ने र धेरैै दिनसम्म खुला राखी प्रयोेग गर्ने चलन अहिले पनि रहेकाले लामखुट्टेको वृद्धिको लागि अर्को अनुकूल स्थान देखिन्छ। यो लामखुट्टे हुर्केपछि चार सातासम्म जीवित रहने र एक सयदेखि दुई सय मिटरसम्म टाढाको दुरीमा पुग्छ। ‘घरभित्र मानिस छन् भने घरभित्रै रहन्छ, मानिस नभए आहारको खोजीमा अर्को घरतिर जाने भएकाले लामखुट्टे नभएका घरहरू पनि जोखिममा हुन्छन्।
लामखुट्टे बस्ने ठाउँ नष्ट नगरेसम्म हरेक मानिस जोखिममा रहेकाले सबैलाई त्यस किसिमको भूमिका निर्वाह गर्न उनको सुझाव छ। ‘यो हरेक घरको समस्या हो, सरकारले औषधि बाँडेर नियन्त्रण हुने समस्या हैन। हरेक नागरिक र घर सचेत हुनुपर्छ,’ उनले भने।
प्रकाशित: २५ भाद्र २०८१ ०७:३३ मंगलबार