२७ भाद्र २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

भरतपुर, जहाँ उपचार नपाएर मर्नु पर्दैन!

साढे ११ हजार गरिब तथा विपन्न वर्गको निःशुल्क उपचार

फाइल तस्वीर

भरतपुर महानगरपालिका– २९ की लालुमाया विक बिमारले च्यापेपछि गत वर्ष भदौ २१ गते भरतपुर अस्पताल आइपुगिन्। परीक्षणका क्रममा ६० वर्षीया विकलाई इन्सेफ्लाइटिस देखियो। अस्पतालमै भर्ना भएर उपचार गर्न चिकित्कसले सुझाव दिए। उनीसँग यति महँगो उपचार गर्ने खर्च नभएपछि घर फर्कने तयारीमा विक थिइन्, तर उपचार नगरी घर फर्कनुपरेन। सामाजिक सेवा एकाइमार्फत अस्पतालले उनलाई निःशुल्क उपचार गरिदियो।

६ महिनासम्म अस्पतालमा बसेर उपचार गरेकी लालुमायाको अस्पतालले आठ लाख तीन हजार तीन सय ६० रूपैयाँ बराबरको उपचार खर्च व्यहोरेको सामाजिक सेवा एकाइ भरतपुर अस्पतालको तथ्यांकमा उल्लेख छ।

उनको उपचार माघ २९ सम्म चलेको थियो। अस्पतालमा उपचार खर्च नभएर मृत्युवरण भएका समाचार प्रशस्त आउने गर्दछन्, तर चितवनको भरतपुर अस्पतालमा भने उपचार खर्च नै नभएर मृत्युवरण गर्नुपर्ने अवस्था नरहेको सामाजिक सेवा एकाइका प्रमुख रामहरि ढकाल बताउँछन्।

उनका अनुसार तीन वर्षको अवधिमा गरिब तथा विपन्न वर्गका ३२ हजार दुई सय ८९ हजार बिरामीले सामाजिक सेवा एकाइमार्फत सेवा लिएका छन्।

‘यहाँबाट गरिब, असहाय, अपांगता, ज्येष्ठ नागरिक, विपत्, सीमान्तकृत लोपोन्मुख आदिवासी जनजातिका बिरामीलाई पूर्ण र आंशिक छुट दिने गरेका छौं’, ढकालले भने, ‘भरतपुर अस्पतालमा आएका बिरामी आर्थिक अभावका कारण उपचार नगरी फकर्नु पर्दैन।’

गत आर्थिक वर्ष २०८०/८१ मा समाजिक सेवा एकाइमार्फत ११ हजार चार सय १३ जनाले सेवा लिएका थिए। यी बिरामीले चार करोड ७४ लाख ९० हजार पाँच सय ६४ रूपैयाँबराबरको सेवा पाएका छन्।

अस्पतालबाट एउटै बिरामीको आठ लाख रूपैयाँसम्मको सेवा सुविधा पाएका छन्। औसतमा एकजना बिरामीले चार हजार एक सय ६१ रूपैयाँ छुट पाएको उनले बताए। पूर्ण तथा आंशिक छुट पाउनेमा हुम्ला, मुगुसम्मका बिरामी रहेको ढकालले जानकारी दिए। ‘भरतपुर अस्पताल केन्द्रीय अस्पताल हो। बाहिरबाट आउँदा सेवा पैसा सकिन्छ’, उनले भने, ‘उनीहरूलाई सम्बन्धित निकायको सिफारिसका आधारमा अस्पतालबाट हुने छुट प्रदान गरेका छौं।’

भरतपुर अस्पतालले बाढी, पहिरो, आगलागी र दुर्घटनाका बिरामीलाई २४ घन्टासम्म निःशुल्क उपचार गर्ने गरेको छ। यो अवधिमा शल्यक्रिया गर्नुपरे पनि पूर्णरूपमा छुट हुने ढकालले बताए।

गत आर्थिक वर्ष दुई हजार १३ जनाले निःशुल्क आकस्मिक सेवा लिएका थिए, जसमा ८१ लाख ४२ हजार एक सय आठ रूपैयाँ खर्च भएको सामाजिक सेवा एकाइको तथ्यांकमा उल्लेख छ।

सरकारले विपन्न नागरिक उपचारका लागि वार्षिक डेढ करोड रूपैयाँ दिने गर्दछ। सो रकमले कहिल्यै पुग्दैन। बाँकी रकम अस्पताल विकास समितिले व्यहोर्ने गर्दछ। पछिल्लो तीन वर्षमा विपन्न नागरिकको उपचारका लागि अस्पताल विकास समितिले सात करोड २६ लाख रूपैयाँ खर्च गरेको छ।

भरतपुर अस्पतालमा २०७० सालदेखि सामाजिक सेवा एकाइको कार्यक्रम सञ्चालन भएको हो। नेपाल सरकारको संघीय अस्पतालहरूमा सामाजिक सेवा एकाइ भरतपुर अस्पताल प्रथमसमेत भएको छ। मिनिमम सर्भिस स्ट्यान्डरमा सय प्रतिशत प्राप्त गर्दै स्वास्थ्य मन्त्रालयले एक साताअघि भरतपुर अस्पताललाई सम्मान गरेको हो।

प्रकाशित: २० भाद्र २०८१ ०८:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App