एउटा स्वस्थ मानिस दिनमा कति पटक पाइखाना जान्छ होला? अमेरिकाको इन्स्टिच्युट फर सिस्टम्स बायोलोजीले हालै एउटा अध्ययन निष्कर्ष निकालेको छ। सो अध्ययनअनुसार मानिसको उमेर, लिंग तथा जिनले यस्ता कुरामा धेरै प्रभाव पार्ने गर्छ। जसअनुसार तीन प्रकारले पेट खाली हुने गर्छ।
१४ सयभन्दा बढी मानिसहरूमाझ गरिएको सो अध्ययन अनुसार पहिलो प्रकारका मानिसहरू, जो गोटा परे पनि सातामा एकदेखि दुई आन्द्रे पेट सफा गर्न सक्छन्।
दोस्रो प्रकारका मानिसहरू औसतभन्दा सामान्यका हुन्छन्। उनीहरूले प्रतिसाता तीनदेखि छ आन्द्रे आची फ्याँक्छन्।
तेस्रो प्रकारका मानिसहरूलाई अध्येताहरूले हाई नर्मल भनेका छन्। उनीहरूले एक दिनमा नै एकदेखि तीन आन्द्रे पेट सफा गर्छन्। यसमा पखाला चल्नुलाई पनि गन्ती गरिएको छ।
सेल रिपोर्ट्स मेडिसिनमा प्रकाशित सो अध्ययनअनुसार मानिसको स्वास्थ्य उनीहरूको उमेर, लिंग, जेनेटिक र पेटका माइक्रोबायोमिजममा भर पर्ने गर्छ। यदि तीन प्रकारले हाम्रो पेट खाली हुन्छ भने सबैभन्दा उत्तम प्रकारले पेट खाली हुने प्रक्रिया के हो त? उत्तम प्रकार अर्थात् ‘गोल्डीलक्स जोन’ पनि अध्येताहरूले पत्ता लगाएका छन्। जसअनुसार दिनमा एक वा दुई पटक कोही पाइखाना गएर आफ्नो पेट सफा राख्छ भने यो सबैभन्दा उत्तम क्षेत्र हो। यस्ता क्षेत्रका मानिसहरूलाई अध्येताले हाई–नर्मल विधामा राखेका छन्।
दिनमा एकदेखि दुई पटकसम्म पाइखाना जान बाध्य पार्नेमा तिनको पेटमा रहेका माइक्रोबायोमले भूमिका खेल्ने गर्छ। जसलाई कमभन्दा कम पाइखाना जाने अवस्था आउँछ, उनीहरूको आन्द्रामा दिसा टाँसिन्छ। लामो समयसम्म दिसा टाँसिएको खण्डमा कब्जियत लगायतका पेटका विविध समस्याहरू देखा पर्न थाल्छन्।
कहिलेकाहीँ विषाक्त पदार्थहरूले पनि आन्द्रामा समस्या आउन थाल्छ र यसले कालान्तरमा मृगौलासम्बन्धी समस्या पनि देखिन सक्छ। लामो समयसम्म कसैलाई कब्जियत भए मृगौलाको समस्या र पाखाला चले कलेजोको समस्या हुने अध्ययनमा संलग्न पेन्सिलभेनिया स्टेट युनिभर्सिटीका प्राध्यापक डा. एन्ड्रयु प्याटर्सन बताउँछन्।
प्रस्तुतिः अच्युत कोइराला
प्रकाशित: ६ भाद्र २०८१ ११:३२ बिहीबार