२ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कटारी नगर अस्पताललाई ‘प्रादेशिक अस्पताल’को मान्यता

उदयपुृरको पश्चिमी बजार कटारीमा रहेको नगर अस्पताललाई प्रादेशिक अस्पतालको मान्यता दिइएको छ। कटारी नगरपालिका मातहत सञ्चालित १५ शैय्याको नगर अस्पताल ५० शैय्यामा स्तरोन्नतिसहित प्रादेशिक अस्पताल बनेको हो।  

नगर अस्पताललाई ५० शैय्यामा बढोत्तरी गर्दै प्रादेशिक अस्पतालको मान्यता दिन तत्कालीन मुख्यमन्त्री केदार कार्की नेतृत्वको प्रदेश सरकारले सिफारिस गरेको थियो। सोही सिफारिस अनुसार संघीय मन्त्रीपरिषद बैठकले स्वीकृति दिएसँगै शैय्या थपसहित प्रादेशिक अस्पतालमा स्तरोन्नति हुने भएको हो।  

५० शैय्यामा स्तरोन्नति गर्दै प्रदेश अस्पतालको मान्यता दिन गरेको सिफारिसलाई तत्कालीन पुष्पकमल दाहाल नेतृत्व सरकारको गत असार २७ गतेको बैठकले स्वीकृति दिएको थियो। तर, गठबन्धन फेरिने निर्णय भएकाले मन्त्रालयका सचिवले निर्णय कार्यान्वयनको पत्र भने बाहिर ल्याएका थिएनन्। पछिल्लो सरकारले निर्णय कार्यान्वनयको पहल गर्दै नगरबाट प्रदेश सरकारलाई हस्तान्तरण गर्न स्वीकृति दिएको अस्पतालले जनाएको छ।  

अस्पताल प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. गौरव साहले कटारी अस्पतालले प्रादेशिक मान्यता पाएको जानकारी आएको बताउँदै अव अस्पतालको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकार मातहत जाने बताए। उनका अनुसार आवश्यक आर्थिक दायित्व, कर्मचारी व्यवस्थापन, सञ्चालन विधिलगायत जिम्मेबारी प्रदेश सरकारमातहत हुने छ । प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमातहत हुने गरी संघीय सरकारले स्वीकृति दिइसकेको पत्राचार प्रदेश स्वास्थ्य निर्देशनालयलाई आईसकेको खवर पाएको बताउँदै उनले अव यस क्षेत्रका बिरामीलाई सहज हुने विश्वास व्यक्त गरे।  

मेसु डा. साहका अनुसार स्तरोन्नति भएसँगै अस्पतालमा विशेषज्ञ डा. सहित ५९ जना स्वास्थ्यकर्मीको दरबन्दी कायम भएको छ । त्यस अनुसारको कर्मचारी संगठन तालिका पहिला नै बनाएर स्वीकृतिका लागि पठाइएको उनले बताए । हाल १ जना विशेषज्ञ र ३ जना एमविविएस डा. सहित २८ जना स्वास्थ्यकर्मी दरबन्दी रहेको छ ।

कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले अस्पताल स्तरोन्नति भएसँगै नगरबासी मात्र नभएर असापासका जिल्लाबासीलाई पनि स्वास्थ्योपचारमा सहज हुने बताए । उनका अनुसार अव विभिन्न रोगका विशेषज्ञसहतिको दक्ष चिकित्सक जनशक्ति भएपछि कटारी र आसपासका खोटाङ, सिन्धुली, धनुषा, सिराहा र सप्तरी जिल्लासम्मका विरामीले स्वास्थ्य उपचार पाउने कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले बताए ।  

प्रकाशित: १८ श्रावण २०८१ १६:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App