२३ भाद्र २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

राजधानीमा भेटियो पोलियो भाइरस

काठमाडौंको ढलको पानीमा पोलियो भाइरस भेटिएको छ। गत जेठ मध्यतिर काठमाडौंको टुकुचा–बागमती दोभानको ढलबाट संकलित पानीको नमुना परीक्षण गर्दा पोेलियो भाइरसको ‘म्युटेसन’ रूप फेला परेको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डा.अभियान गौतमले बताए। शुक्रबार सञ्चारकर्मीमाझ पोलियो भाइरस भ्याक्सिन डिराइभ्ड खोपबाट उत्पन्न पोलियो भाइरस तीन भिन्न रूपमा रहेको औंल्याइएको थियो।

खोप शाखाका प्रमुख डा. गौतमका अनुसार गत जेठ १३ गते संकलन गरिएको नमुना विश्व स्वास्थ्य संंगठनको बैठकस्थित रिजनल रेफरेन्स ल्याबमा परीक्षण गर्दा पोलियो भाइरस फेला परेको हो।

परीक्षणको रिपोर्ट तीन सातापछि असार २९ गते नेपाल आइपुगेको हो। बालबालिकालाई दिइएको पोलियो खोपको भाइरसको म्युटेसन (परिवर्तित) स्वरूपमा उक्त भाइरस रहेकाले बालबालिकामा पोेलियो हुने जोखिम बढेको उनले बताए। पोलियोे खोपमा रहेको भाइरसभन्दा भिन्न भएकाले कुनै न कुनै बालबालिकामा पोलियो भाइरस रहेकाले अरूमा फैलिने जोखिम रहेको उनले बताए। सन् २०१० मै नेपाल पोलियो उन्मूलन भइसकेकोमा १० वर्षपछि वातावरणमा देखिएको हो। वातावरणमा म्युटेसन भाइरस देखा पर्नुले जोखिम बढेको छ।

सरकारले सन् २०१७ देखि वातावरणमा पोलियो भाइरसको निगरानी गर्ने क्रम जारी राखेकोमा पहिलो पटक वातावरणमा फेला परेको हो। नेपाल सरकारले सन् २०१० मै पोलियो मुक्तराष्ट्र घोषणा गरिसकेको थियो। नेपालसँगै छिमेकी राष्ट्र भारत पनि पोलियोमुक्त घोषणा भइसकेको छ।

सन् २०७० मै दक्षिण पूर्वी राष्ट्रलाई पोलियोमुक्त घोषणा गरिएको थियो। पछिल्लो समय पाकिस्तान र अफगानिस्तानमा पोलियो संक्रमण देखिएको छ। पाकिस्तान र अफगानिस्तानमा पोलियोे देखिइरहेको अवस्थामा नेपालमा पनि देखिनुले थप जोखिम बढेको डा. गौतमले बताए । योे भाइरस कतै नदेखिएको नयाँ भएकाले नेपालकै वातावरणमा उत्पत्ति भएको हुन सक्ने उनले अनुमान गरे।

१०औं म्युटेसनमै अर्थात् समयमै भाइरस पत्ता लागेको र योभन्दा ढिला पत्ता लागेको भए धेरैेलाई संक्रमण हुने जोखिम रहेको परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले बताए। ‘संक्रमितकै दिसाबाट ढलको पानीमा भाइरस पुगेको हो,’ उनले भने। अब तीव्र रूपमा संक्रमित बालबालिकाको खोजी जारी राख्ने तयारी भइरहेको डा. लालले बताए। पोलियोमुक्त राष्ट्र घोषणा गरे पनि नेपालले नियमित रूपमा मानिसमा समेत पोलियोको खोजी तथा निगरानी गर्ने क्रम जारी राखेको थियो।

कतै नभएको नयाँ भाइरस देखा परेपछि विश्व स्वास्थ्य संगठनले नेपाललाई तत्कालै नजिकको क्षेत्रका सबै बालबालिकालाई खोप अभियान चलाउन र खोजी कार्य प्रभावकारी पार्न सुझाएको छ।

संगठनको सुझावअनुसार परिवार कल्याण महाशाखाले एक साताभित्रै उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंका सबै बालबालिकालाई मुखबाट खुवाइने पोलियो खोप दिने तयारी पूरा गरिसकेको छ। तयारी तालिकाअनुसार साउनको ९ गतेदेखि १३ गतेसम्म सबै खोप केन्द्रबाट सबै बालबालिकालाई खोप दिइने तयारी भएको छ। विश्वव्यापी निर्देशनअनुसार १४ दिनभित्रैै खोप दिने गरी तयार गरेको हो । सबै बालबालिकाले खोप लिए उनीहरू पोलियोको जोखिमबाट बच्ने डा. गौतमले सुझाए। ‘हाम्रो एउटै सुझाव छ, कुनै पनि बालबालिका खोप लिनबाट नछुटून्,’ उनले भने।

चिकित्सकका अनुसार दूषित पानी र दूषित खानाबाट पोलियो भाइरस व्यक्तिमा सर्छ । संक्रमित व्यक्तिको दिसा, पानी या खानामा मिसिन पुगे भाइरस अर्को व्यक्तिमा सर्छ। पोलियोको संक्रमण देखिए सुरुमा बान्ता हुने, ज्वरो आउने लक्षण देखिन्छ भने बिस्तारै पक्षाघात भई जीवनभर अपांगता भोग्नुपर्ने स्थिति निम्तिन्छ। कतिपय अवस्थामा बिरामीको मृत्युसमेत हुन सक्छ।

समुदायमा कुनै पनि बालबालिका लुलोपना देखिए जानकारी दिन महाशाखाले अपिल गरेको छ। पोलियोबाट बच्न कुनै पनि बालबालिकालाई पोलियोका तीनवटै खोप अनिवार्य दिन खोप शाखाले अपिल गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सम्भावित जोखिम न्यूनीकरण गर्न विशेष खोप अभियान कार्यक्रममा सबै बालबालिकालाई समेट्नुपर्नेमा जोड दिए ।

प्रकाशित: ५ श्रावण २०८१ ०६:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App