२३ भाद्र २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

वीरमा एनेस्थेसिस्टले सेवा रोक्दा ३२ बिरामी प्रभावित

स्वास्थ्य सेवा अतिआवश्यकअन्तर्गत पर्छ। यो सेवा कुनै कारण देखाएर बन्द गर्न पाइँदैन। त्यसमा पनि एनेस्थेसिया र शल्यक्रिया अतिसंवेदनशील स्वास्थ्य सेवाभित्र पर्छन्। तर असार २८ र ३१ गते राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका एनेस्थेसिस्ट चिकित्सकले सेवा बन्द गर्दा ३२ जना बिरामीको शल्यक्रिया रोकिएको छ। शल्यक्रिया रोकिएपछि ती बिरामी थप पीडामा परेकाा छन्। ‘पालोमा सेवा नपाएपछि बिरामीले दिक्क मानेका छन्। पालो पाउन फेरि कुनुपर्ने हुन सक्छ,’ अस्पतालका एक कर्मचारीले भने।

घटना विवरणअनुसार अस्पतालका एनेस्थेसिस्ट चिकित्सकले सोमबार बिनाजानकारी काम छाडेर निर्देशकको कार्यालयमा धर्ना दिएका थिए। निर्देशक डा. सन्तोष पौडेलले ती चिकित्सकलाई धर्नामा बस्नुको कारण सोधेका थिए। उनीहरूले जवाफमा एनेस्थेसिस्ट चिकित्सकको कटौती भएको विशेष भत्ता पाउनुपर्ने माग राखेर धर्नामा बसेको बताएका थिए । कुनै लिखित या मौखिक जानकारीबिनै सोमबार सेवा रोकिएको थियो। यसैकारण अस्पतालमा महिनौं पालो कुरेर भर्ना भएका बिरामीको शल्यक्रिया रोकिएको हो।

एनेस्थेसिस्ट चिकित्सकहरूको गलत कदमपछि अस्पताल प्रशासनले उनीहरूलाई स्पष्टीकरण सोधेको छ। प्रशासनले स्पष्टीकरण पत्र पठाएपछि एनेथेसिया विभागसँगछलफल पनि गरेको छ। छलफलका क्रममा एनेस्थेसिया विभागले २०७६ साल अघिसम्म विभागका चिकित्सकले पाएको विशेष भत्ता कटौती भएकाले पुनः पाउनुपर्ने माग राखेको छ। तत्कालीन सरकारले अतिरिक्त सेवा भत्ताबाहेक विशिष्ट भत्ता कटौती गर्ने निर्णय गरेपछि रोकिएको हो। 

‘तत्कालीन सरकारले विशिष्ट भत्ता नदिनेगरी निर्णय गरेको छ,’ निर्देशक पौडेलले भने । तर वीरमा अतिरिक्त सेवा र अप्ठेरो समय सेवाबापत तलबको ५० प्र्रतिशत भत्ता दिइँदै आएको छ। एनेस्थेसिया विभागले यो भत्ताबाहेकको माग गरेको हो।

बिनाजानकारी र जायज कारणबिना एक्कासि स्वास्थ्य सेवा बन्द गरेको ठहर गर्दै अस्पताल प्रशासनले एनेस्थेसिया विभागका प्रमुख डा. रविराम श्रेष्ठसहितलाई स्पष्टीकरण पत्र पठाएको हो। पत्रमा विभागका चिकित्सक नेपालको संविधान र स्वास्थ्य सेवा ऐन, २०५३ को दफा (६२) बर्जित गतिविधिमा संलग्न भएको उल्लेख छ। प्रशासनले कानुनविपरीत कदम उठाएको भन्दै एक दिनभित्र स्पष्टीकरण दिन भनेको छ।

अस्पतालका प्रशासक मोहन कोइरालाका अनुसार एनेस्थेसिया विभागले स्पष्टीकरण पत्रको जवाफ दिइसकेको छैन। शल्यक्रियाजस्तो अतिसंवेदनशील सेवा चिकित्सकबाटै बन्द हुनु गैरजिम्मेवारपूर्ण कदम भएको निर्देशक डा. पौडेलले बताए। सरकारको निर्णय, अस्पतालको आम्दानीको स्रोत र बजेटको स्थितिअनुसार अहिले विशिष्ट भत्ताको व्यवस्था गर्ने अवस्था नभएको उनले बताए। ‘नीति नियम र स्थितिले व्यवस्था गरेमा मात्र दिन सकिन्छ, अरू अवस्थामा दिन सकिँदैन,’ उनले भने। 

सोमबार सेवा नपाएका बिरामीमध्ये मंगलबार एकजनाको शल्यक्रिया भएको छ। बाँकी बिरामीको बीचबीचमा पालो मिलाएर शल्यक्रिया गने तयारी भएको जानकारी निर्देशक पौडेलले दिए। वीर अस्पतालमा दैनिक सानाठुला गरी ४० वटा शल्यक्रिया गरिन्छ।

प्रकाशित: २ श्रावण २०८१ ०७:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App