५ श्रावण २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

एचआईभी सङ्क्रमण नियन्त्रणमा वैज्ञानिकलाई ठूलो सफलता!

वैज्ञानिकहरूले प्री–एक्सपोजर प्रोफिल्याक्सिस (पीआरईपी) नामक औषधिको दुई डोज सुई लगाउँदा एचआईभी पूर्णरुपमा निको हुने दाबी गरेका छन्।

दक्षिण अफ्रिका र युगान्डामा गरिएको क्लिनिकल परीक्षणको क्रममा उक्त औषधिको वर्षमा दुई मात्रा लगाउँदा एचआईभी सङ्क्रमण हुनबाट जोगाउने दावी गरिएको हो।

परीक्षणको क्रममा एकजना महिलाले उक्त औषधिको दोहोरो मात्रा लगाउँदा तिनी एचआईभी सङ्क्रमण हुनबाट जोगिएको बताइएको छ।

परीक्षणको क्रममा लेनकापाभिरको ६ महिनाको दुई वटा खोप अन्य दुई औषधि, दैनिक रुपमा खाइने औषधिको तुलनामा एचआईभी सङ्क्रमणबाट राम्रो सुरक्षा प्रदान गर्छ वा गर्दैन भनेर पनि हेरिएको थियो। यी तीन वटै औषधि प्री–एक्सपोजर प्रोफिल्याक्सिस (पीआरईपी) औषधि हुन्। यस अध्ययनमा दक्षिण अफ्रिकाको इन्भेस्टिगेटर–साइन्टिस्ट लिन्डा गेल बेकरले यो सफलता निकै महत्त्वपूर्ण रहेको बताइन्।

अमेरिकाको सेन्टर फर डिजिजले प्रकाशन गरेको उक्त अध्ययनमा लेनकापाभिर र अन्य २ औषधिको प्रभावको परीक्षणका लागि ५ हजार व्यक्तिका साथै युगान्डामा तीन केन्द्र र दक्षिण अफ्रिकामा २५ केन्द्रमा परीक्षण गरियो। पहिलो, लेनकापाभिरको ५ महिने सुई सुरक्षित रहेको र १६–२५ वर्ष उमेरको बीचका महिलाका लागि पीआरईपीको रुपमा सङ्क्रमणविरुद्ध ट्रुवाडा (एफ/टीडीएफ) को तुलनामा राम्रो सुरक्षा प्रदान गर्नेछ भन्ने पनि दावी गरिएको छ। जुन व्यापक रुपमा प्रयोग हुने दैनिक पीआरईपी औषधि हो।

अर्को, अध्ययनमा डेस्कोभी एफ/टीएएफ, एउटा नयाँ दैनिक ट्याबलेट, एफ/टीडीएफ जति प्रभावकारी छ कि छैन भन्ने पनि जाँच गरियो। एफ/टीएएफ एउटा सानो ट्याबलेट औषधि हो जुन उच्च आय भएका देशमा पुरुष र ट्रान्सजेन्टर महिलाले प्रयोग गर्छन्।

पूर्वी दक्षिण अफ्रिकामा युवा महिलाहरू सबैभन्दा बढी एचआईभी सङ्क्रमणबाट पीडित छन्। जसका कारण उनीहरूका लागि दैनिक पीआरईपीको उपचार गराउन चुनौतीपूर्ण बनेको छ।

परीक्षणको क्रममा लेनकापाभिर लिने २१३४ महिलामध्ये कोहीपनि एचआईभी सङ्क्रमित भइनन्। तुलनात्मक रुपमा ट्रुवाडा (एफ/टीडीएफका) लिने १०६८ महिलामध्ये १६ जना र डेस्कोभी (एफ/टीएएफ) लिने २१३६ महिलामध्ये ३९ जना महिला एचआईभी सङ्क्रमित भइन्। यसको अर्थ यो औषधि एचआईभी सङ्क्रमणबाट जोगाउनका लागि शतप्रतिशत प्रभावकारी साबित भएको छ।

अध्ययनमा पीआरईपीको प्रयोगले यौन सम्पर्कबाट सर्ने एचआईभीको जोखिमलाई ९९ प्रतिशत कम गर्ने गरेको तथा लागू औषधको प्रयोगका लागि लगाइने सुईबाट सर्ने एचआईभीको जोखिमलाई ७४ प्रतिशतसम्म कम गर्ने गरेको पनि दावी गरिएको छ।

प्रकाशित: २५ असार २०८१ १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App