३ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

‘स्कुलबाहिरका बालबालिकालाई पनि पोलियो खोप दिनू’

पोलियोविरुद्धको खोप अभियानको पहिलो दिन देशैभरि उत्साहजनक सहभागिता देखिएको छ। सरकारले दुई साताका लागि देशैभरि आठ वर्षमुनिका बालबालिकालाई पोलियो खोप दिने अभियान आइतबार सुरु गरेको हो।

पहिलो दिन धेरै बालबालिकाले खोप लिएको तर विद्यालयबाहिरका बालबालिका भने छुटेको पाइएको परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाले जनाएको छ। शाखाले विद्यालयबाहिरका बालबालिका खोप लिनबाट नछुट्ने वातावरण सिर्जना गर्न आग्रह गरेको छ।

सरकारले २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मेका बालबालिकालाई पोलियो खोप दिन अभियान सुरु गरेको हो। सो अवधिमा सुईबाट दिइने पोलियो खोपको उत्पादनमा कम भएपछि नेपालमा पनि सबै बालबालिकाले खोप लगाउन पाएका थिएनन्।

कुनै वर्ष आंशिक र कुनै वर्ष एकजनाले पनि लगाउन नपाएको अवस्था थियो। त्यसकारण सो अवधिमा छुटेकालाई खोप दिन सरकारले अभियान चलाएको हो। जेठ १३ गते सुरु भएको अभियानमा कुनै बालबालिका खोप लिन छुटे अभियानको अन्तिम दिन जेठ २६ गते नजिकको स्वास्थ्य केन्द्रबाट दिने व्यवस्था गरिने खोप शाखाले जनाएको छ।

खोप अभियानको पहिलो दिन खोप लिनेको संख्या उत्साहजनक पाइएको खोप शाखा प्रमुख डा. अभियान गौतमले बताए। उनका अनुसार विद्यालयमा राखिएका केन्द्रहरूमा उमेर अवधिभित्रका सबैजसो बालबालिका सहभागी भएको पाइयो।

‘खोप लिन आउनेहरूको संख्या उत्साहजनक देखियो,’ गौतमले भने। विगतका वर्षहरूमा चल्ने अन्य खोप अभियानमा जस्तै कतिपय विद्यालयले आफ्ना विद्यार्थीबाहेकलाई खोप नदिएको पाइएको बताउँदै अब त्यसो नगर्न उनले आग्रह गरे।

‘विद्यालयबाहिरका बालबालिका खोप लिन आए दिनू,’ उनले भने। विद्यालयबाहिरका बालबालिकालाई पनि खोप दिए खोप केन्द्र थाहा नपाएर या पायक नपरेरर खोप लिनबाट छुट्ने सम्भावना कम हुने उनले बताए छ।

‘कतिपय बालबालिका छुट्टीमा हुन सक्छन् या कतिपय विद्यालयबाट टाढा पुगेका हुन सक्छन्। यस्तो बेलामा नजिकको स्कुलबाट पनि खोप दिन मिल्ने गरी व्यवस्था मिलाइएको हो,’ उनले भने।

सूचना नपुगेका, आवधिक काम गर्ने अभिभावकका साथमा गएका, बिदामा रहेका, अपांगता भएका र सो अवधिमा टोलबाहिर पुगेका बालबालिका सहभागी हुन नसक्ने सम्भावना रहेकाले स्वयंसेवक तथा हरेक नागरिकले यस्ता बालबालिकाबारे खोप केन्द्रमा जानकारी दिन आग्रह गरे।

त्यसैगरी मजदुर अभिभावकका बालबालिका कामका लागि टोलबाहिर गएको हुन सक्ने, कोही कारखानामा हुन सक्ने भएकाले त्यस्ता बालबालिकालाई पनि खोप नछुटाउन डा. गौतमले आग्रह गरे।

सरकारले पोलियो खोप लिन छुटेका १४ लाख ६१ हजार ७१२ जनालाई खोप दिने लक्ष्य लिएको हो। पोलियो विरुद्धको खोप नलिए अहिले पनि रोग लाग्ने जोखिम भएकाले कुनै पनि बालबालिकालाई नछुटाउन डा. गौतमले आग्रह गरे।

प्रकाशित: १४ जेष्ठ २०८१ ०६:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App