२३ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङमा भेटिए ३९ नयाँ क्षयरोगी, सबैभन्दा बढी फुङलिङमा

ताप्लेजुङमा नयाँ ३९ जना क्षयरोगी पत्ता लागेका छन्। चालु आर्थिक वर्षको ९ महिना अवधिमा भेटिएका क्षयरोगीमध्ये सबैभन्दा बढी फुङलिङ नगरपालिकामा रहेका छन्।

स्वास्थ्य कार्यालय ताप्लेजुङका ल्याव टेक्निसियन निरीक्षक उदयनारायण दुलालका अनुसार फुङलिङमा १२ जना क्षयरोगी रहेका छन्।

दुलालका अनुुसार मेरिङदेन गाउँपालिकामा ८, आठराई त्रिवेणी गाउँपालिकामा ५, पाथीभरा याङवरक गाउँपालिकामा ४, मिक्वाखोला र सिरिजङ्गा गाउँपालिकामा ३–३ जना र फक्ताङ्लुङ र मैवाखोला गाउँपालिकामा २–२ जना क्षयरोगी भेटिएका छन्। सिदिङ्वा गाउँपालिकामा अहिलेसम्म क्षयरोगी फेला नपरेको स्वास्थ्य कार्यालयले जनाएको छ।

ल्याव टेक्निसियन निरीक्षक दुलालका अनुसार फेला परेका क्षयरोगीमध्ये जन्मदेखि ४ वर्षभित्रका ३ जना, १५ देखि २४ वर्षभित्रका ७ जना, २५ देखि ३४ वर्षभित्रका ६ जना, ३५ देखि ४४ वर्षभित्रका ७ जना, ४५ दखि ५४ वर्षभित्रका ४ जना, ५५ देखि ६४ वर्षभित्रका ८ जना र ६५ वर्षभन्दा माथि उमेर समूहका ४ जना क्षयरोगी रहेका छन्। पाँचदेखि १४ वर्षभित्रका क्षयरोगी नभेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ।  

क्षयरोग  माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक किटाणुबाट लाग्ने एक किसिमको सरुवा रोग हो। यो एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासका माध्यमबाट सर्ने गर्छ। खाना तथा यौनजन्य क्रियाकलापबाट भने यो रोग सर्दैन। क्षयरोगका किटाणुले आक्रमण गरेका व्यक्तिमा रोगसँग लड्ने क्षमता राम्रो छ भने यो रोग लाग्दैन।

रोगसँग लड्ने क्षमता कम भए यो रोगले छिटो आक्रमण गर्छ। दुई साता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु, शरीरको तौल घट्नु र खासगरी बेलुकापख ज्वरो आउनु, छाति दुख्नु, खाना अरुचि हुनु र खकारमा रगत देखिनु आदि लक्षण भए क्षयरोगको आशंका गर्नुपर्ने हुन्छ।  

स्वास्थ्य कार्यालय ताप्लेजुङका ल्याब टेक्निसियन निरीक्षक दुलालले क्षयरोग नियमित रूपमा औषधि सेवनबाट पूर्ण रूपमा निको हुने भएकाले डराउनु नपर्ने बताए।

उनका अनुसार सरकारले क्षयरोगविरुद्धको अति प्रभावकारी औषधिहरु निःशुल्क वितरण गर्दै आएको छ। उपचार अवधि भने संक्रमित अंग र रोगको प्रकृतिमा निर्भर रहने उनले जानकारी दिए।

क्षयरोगका बिरामीलाई डट्सअन्तर्गत राखेर उपचार गर्ने गरिएको छ, जसअन्र्तगत बिरामीलाई प्रत्येक दिन उपचार सहयोगीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने गरिन्छ। औषधिहरुको सेवनबाट पिसाब रातो हुन सक्ने भए पनि यो यो स्वाभाविक र सामान्य भएको दुलालले जानकारी दिए।

प्रकाशित: १२ वैशाख २०८१ १२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App