१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

उल्लेख्य भारतीयको मन जित्ने फत्तेवाल आँखा अस्पताल

भारत श्रावस्ती चिरैयारानीसिरका ६२ वर्षीय अमेरिकाप्रसाद यादव आँखा उपचारका लागि नेपालगञ्ज– ६ फुलटेक्रास्थित फत्तेवाल आँखा अस्पताल आएका छन्। उनले गत शुक्रबार देब्रे आँखाको शल्यक्रिया गराए।

उनले यसअघि पनि दाहिने आँखाको शल्यक्रिया यही अस्पतालमै गराएका थिए। यादव श्राबस्तीमा आँखा अस्पताल नभएर यहाँ आएका भने होइनन्। ‘जिल्लामा दुईवटा आँखा अस्पताल छन्, तर यहाँ जस्तो गुणस्तरीय सेवा जस्तो छैन’, उनले भने, ‘म मात्रै होइन परिवारका अन्य सदस्य र साथीहरु पनि आँखा उपचारका लागि यहीँ आउने गरेका छन्।’

नेपाल नेत्र ज्योति सङ्घ बाँके शाखाले सञ्चालन गरेको उक्त अस्पतालका अनुसार यादव मात्रै होइन, उपचारका लागि यहाँ आउने भारतीयको संख्या उल्लेख्य छ।

अस्पतालका प्रबन्ध निर्देशक डा. कौशलकुमार बर्माका अनुसारमा अस्पतालमा नेपालीसँगै भारतीयको पनि विश्वास बढ्दो छ। ‘स्थापनाकालदेखि नै अस्पतालमा उपचारका लागि आउने भारतीयको संख्या उल्लेख्य छ’, उनले भने, ‘नेपाली र भारतीय बिरामीको संख्या बराबरी जस्तै छ।’

छिमेकी देश भारतबाट मात्रै होइन टाढाका विकट पहाडी जिल्लाबाट पनि बिरामी अस्पतालमा आउने गरेका छन्। जुम्लाका ६४ बर्से मुनबहादुर बुढा क्षेत्री आँखाको शल्यक्रियाका लागि गत शुक्रबार अस्पतालमा आएका छन्। पतारासी गाउँपालिका– ५ माथिल्लो लोर्पाका क्षेत्रीले आँखा उपचारका लागि यो अस्पताल भरपर्दो लागेकाले यहाँ आएको सुनाए।

‘उहिल्यै २०५० सालतिर देब्रे आँखाको मोतियाविन्दुको शल्यक्रिया यही अस्पतालमा गरेको थिएँ’, उनले भने, ‘आजसम्म यो आँखामा कुनै समस्या आएको छैन। त्यही विश्वासले अहिले अर्को आँखाको उपचारका लागि यहाँ आएको हुँ।’

क्षेत्रीको जस्तै अस्पतालप्रतिको विश्वास बाँके बैजनाथ– ५ बनकट्टीका देउमा बुढामगरको पनि छ। आँखाको शल्यक्रिया गर्न यहाँ आएको उनले बताइन्। ‘आँखाको शल्यक्रियाका लागि धेरैले अन्यत्रै जान सुझाव दिएका थिए, तर मलाई यही अस्पतालमा विश्वास लागेर आएकी हुँ’, उनले भनिन्।

लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका साथै भारतका बहराइच, गोन्डा, श्राबस्ती, गोरखपुर, लखिमपुर, सीतापुर, बाराबंकी, लखनउ, अयोध्या, फैजाबाद तथा सुल्तानपुरबाट पनि बिरामीले अस्पतालमा सेवा लिनका लागि आउन गरेका छन्।

विसं २०४३ सालमा स्थापना भएको यस आँखा अस्पतालले हालसम्म २७ लाख ४६ हजार पाँच सय १४ जनाको आँखा परीक्षण तथा उपचार गरिसकेको डा. बर्माको भनाइ छ।

उनका अनुसार दुई लाख ७९ हजार छ सय ९६ जना बिरामीका आँखा शल्यक्रिया गरिएको छ। हाल अस्पतालमा दैनिक सरदर चार सयको हाराहारीमा आँखाका बिरामी उपचारका लागि आउने गर्दछन्। ‘यहाँ वार्षिक एक लाख ४० हजार बिरामीको आँखा परीक्षण गरिनुका साथै आँखाको उपचारसमेत भइरहेको छ’, डा बर्माले भने, ‘अस्पतालले वार्षिक १० हजारभन्दा बढी बिरामीको आँखाको शल्यक्रिया गर्दै आएको छ।’

सुरुवातमा १० शय्या क्षमताको अस्पताल हाल दुई सय ५० शय्या भएको र सेवा दिइरहेको छ। अस्पतालअन्तर्गत विभिन्न जिल्लामा पाँचवटा आँखा उपचार केन्द्र सञ्चालनमा छन्। सो अस्पतालले निःशुल्क आँखा शिविर पनि सञ्चालन गर्दै आएको छ। –रासस

प्रकाशित: २६ चैत्र २०८० १३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App