५ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

जनशक्ति कमीले वीरमा २५ प्रतिशत आइसियु खाली

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा नर्सको कमीले पाँच महिनादेखि २५ प्रतिशत शड्ढया पूर्ण रूपमा सञ्चालन हुन सकेका छैनन् भने शल्यक्रिया तथा आइसियु वार्ड पनि पूर्णरूपमा सञ्चालन हुन सकेका छैनन्।

चिकित्सकका अनुसार वीर अस्पतालको युरोलोजी, ग्यास्ट्रोलोजी वार्ड, आइसियु, शल्यक्रिया कक्ष, न्युरोलोजीको शल्यक्रिया तथा न्युरो आइसियु ५० प्रतिशत मात्र सञ्चालित छन्। अस्पतालको सबैजसो विभाग प्रभावित बनेको अस्पतालका वरिष्ठ फिजिसियन धु्रव गैरेले बताए। अस्पतालमा कोभिड १९ कालमा उपचार गर्न अस्थायी जनशक्ति नियुक्ति गरिएको थियो। अर्थ मन्त्रालयले बजेट नभएको जनाउँदै अस्थायी जनशक्ति हटाएको थियो।

गत मंसिरमा स्वास्थ्यकर्मी हटेपछि अस्पतालमा जनशक्ति समस्या परेको हो। कोभिड १९ मा भर्ना गरिएका करिब एक सय ७० जना स्वास्थ्यकर्मी हटेका थिए। उनीहरू हटेपछि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालले ३० जना मेडिकल अफिसर अस्थायी रूपमा भर्ना गरेपछि चिकित्सकको कमी पूरा भएको अस्पतालका उपसचिव बाबुराम घिमिरेले बताए।

गत मंसिरमा मन्त्रालयले एक सय ८० जना नर्स लोकसेवा प्रक्रियामार्फत नियुक्ति गरेको थियो। तर, कोेभिडसँगै वीर अस्पतालमा विस्तार भएका सेवा र शड्ढया विस्तारको कारण थप जनशक्ति आवश्यक परेको हो। वीरमा नौ सय ६० शड्ढया सञ्चालन हुनपर्नेमा हाल ७५ प्रतिशत सञ्चालमा छन्। पूर्णरूपमा सञ्चालनमा आउन नसकेपछि बिरामीको शल्यक्रिया, भर्ना अवधि लम्बिएको गैरेले बताए।  

‘२० देखि २५ प्रतिशत शड्ढया खाली राख्नुपर्ने बाध्यता छ, बिरामी आउँछन्, सबैलाई भर्ना गर्न सकेका छैनाै,’ उनले भने। नर्सको अभावमा शल्यक्रिया संख्या घटेको र पालो बढेको न्युरोसर्जिकल विभागले जनाएको छ।

‘पहिला सातामै पालो पाउँथे, अहिले पालो पाउन तीन सातासम्म लाग्छ,’ एक चिकित्सकले भने। समयमै शल्यक्रियाको पालो नपाउँदा बिरामीको टाउको या अन्य भागको ट्युमर बढेर जटिल समस्या आउने जोखिम हुने या रोग बढ्ने जोखिम हुने ती चिकित्सकले बताए। ‘तैपनि हामी भनेको बेलामा भर्ना सक्ने क्षमतामा छैनौं,’ उनले भने।

वीर अस्पतालका उपसचिव घिमिरेका अनुसार अस्पतालले ओएनएम गरी स्वास्थ्य मन्त्रालयलाई बुझाइसकेको र सो अनुसार जनशक्ति पूर्तिको लागि लोकसेवा आयोगलाई दिएको छ। तर लोकसेवा आयोगको प्रक्रियामार्फत आइपुग्न थप ६ महिना लाग्ने देखिन्छ।

लोकसेवा आयोगले आठ सय ३१ जना नर्सहरूको लागि आवेदन माग गरिसकेको छ र सोअनुसार आवदेन परेका छन्। तर लिखित र अन्तवार्ता परिक्षा पुरा भइ अस्पतालसम्म नियुक्ति भएर आइपुग्न भदौसम्मै लाग्ने देखिएको उपसचिव घिमिरे बताउँछन्।

यसैबीचमा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानले मेडिकल अधिकृत र पारामेडिक्ससहित ३० जना स्वास्थ्यकर्मी अस्थायी नियुक्ति गरिकसेको छ भने थप ३० जना नर्सको लागि करारको लागि आवेदन माग गरेको छ। नर्सहरूले आवेदन दिएको पनि दुई महिना पूरा भइसकेको छ। तर, यसबीचमा प्रतिष्ठानले उनीहरूको परीक्षाफल निकाल्न सकेको छैन।

अहिलेको  ३० जना नर्सको जनशक्तिले पनि नर्सको आवश्यकता पूरा नहुने उपसचिव घिमिरेले बताए। अस्पताललाई पूर्ण सञ्चालनमा ल्याउनका लागि थप दुई सयजना नर्स स्थायी रूपमा नियुक्ति हुनुपर्ने उनको भनाइ छ।

नर्सको कमीले अस्पताल पुर्ण रूपमा सञ्चालनमा आउन नसकेपछि बिरामीले दुःख पाएको र अस्पतालको आम्दानी पनि घटेको घिमिरेले बताए। ‘यहाँ आउने विपन्न तथा मध्यम वर्गका बिरामीले समयमै उपचार पाउन सकेका छैनन्, कतिपय निजीमा जान बाध्य भएका छन्,’ उनले भने।

प्रकाशित: १२ चैत्र २०८० ०८:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App