२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

वीर अस्पतालमा पार्किन्सन र छारे रोगको ‘डिप ब्रेन स्टिमुलेसन’ प्रविधिबाट शल्यक्रिया

वीर अस्पतालमा पार्किन्सन तथा छारे रोगको उपचारका लागि शल्यक्रिया गर्ने नयाँ प्रविधि ‘डिप ब्रेन  स्टिमुलेसन’ (विद्युतीय तरंग दिने) प्रविधि आउने भएको छ। यो शल्यक्रिया प्रविधि चैत दोस्रो सातादेखि सुरु हुने तयारी भइरहेको अस्पतालले जनाएको छ। यो प्रविधी नेपालमा सरकारी अस्पतालमा पहिलोपटक भित्रिएको हो।  

के हो डिप ब्रेन स्टिमुलेसन शल्यक्रिया प्रविधि?

पार्किन्सन (शरीरको सन्तुलन बिग्रिने), क्षारेरोग, पुरानो डिपे्रसन, टे«मर (हातखुट्टा काँप्ने)लगायतका रोगको उपचारको लागि यो शल्यक्रिया गरिन्छ। सामान्य शल्यक्रिया गरेर टाउकोमा सानो प्वाल पारेर कोष नष्ट भएको भागमा सानो तार राखिन्छ। उक्त तारलाई ब्याट्रीको माध्यामबाट तरंग दिइन्छ। यसरी तरंग दिएपछि प्रभावित भाग सक्रिय हुन्छ।

यो अहिलेको उन्नत विधि हो। यस विधिबाट पार्किन्सन, छारेरोग, डिप्रेसन, डिस्टोनिया, ओसिडी, शारीरिक कम्पन जस्तो समस्यामा उपचार गरिन्छ। यसले उनीहरूको शारीरिक गतिविधिलाई सामान्य प्रक्रियामै फर्काउँछ।

यो शल्यक्रियाका लागि तीन साताभित्र अमेरिकी चिकित्सकको टोली आउने भएका छन् भने वीर अस्पतालले सूचना जारी गरी यी रोेगका बिरामीलाई शल्यक्रियाको लागि आवेदन दिन अपिल गरेको छ। यो शल्यक्रियाको लागि बिरामी छनोट गर्न चैत २० गतेभित्र बिरामीले आवेदन दिइसक्नु पर्नेछ। सूचना जारी भएको दुई दिनमै ४० जनाले आवेदन दिइसकेको वीर अस्पतालको न्युरोसर्जरी विभागले जनाएको छ।

‘अमेरिकी अनुभवी शल्यचिकित्सकहरू केही प्रविधि लिएर आउँदैछन्,’ वीर अस्पतालका न्युरोसर्जन डा. राजीव झाले भने। शल्यक्रियाका लागि आवश्यक शल्यक्रिया प्रविधि भने वीर अस्पतालमा पहिल्यै तयारी भइसकेको डा. झाले जानकारी दिए। झाका अनुसार यी प्रविधिका लागि नेपाल सरकारले करिब २० करोड रूपैयाँमा खरिद गरेको हो।

डा. झाका अनुसार पार्किन्सन, छारेरोग, हातखुट्टा काँप्ने र पुरानो डिपे्रसन जस्ता रोगहरू मस्तिष्कमा ‘डोपामिन’ भन्ने रसायनको कमीले हुन्छ। उमेर या अन्य कारणले मस्तिष्कको ‘डोपामिन’ उत्पादन गर्ने कोष सुृकेमा रसायन उत्पादन हुने क्रम बन्द हुन्छ या कम उत्पादन हुन्छ।

यो रसायनले शरीरका अन्य भागलाई चलायमान गराउँछ। यसको कमी भएमा शरीरको सन्तुलन बिग्रिने, हातखुट्टा काँप्ने, डिपे्रसन जस्ता रोग लाग्छन्। यी रोग नियन्त्रणका लागि औषधि दिइन्छ। पार्किन्सन भएमा हिँड्दा असमान्य चाल हुने, हातखुट्टा काँप्ने, राति निन्द्रा नलाग्ने, आँखा राम्रोसँग बन्द नहुने, हिँड्दा हात अघि वा पछि जाने जस्ता समस्या आउँछन्।

नेपालमा यी रोगमा औषधि सेवन वा पुरानो विधिबाट शल्यक्रिया हुँदै आएका छन्। तर, यी दुवै उपचारले सबै बिरामीको लागि राम्रो परिणाम आउन सकेको छैन। औषधि सेवन गरेमध्येमा १५ देखि २० प्रतिशतलाई औषधिले काम गर्दैन। काम नगरेपछि शल्यक्रियाको आवश्यकता पर्छ। औषधि सेवन गरिरहेकाहरूमा पनि शल्यक्रिया गर्न सकिन्छ।

यी रोगहरूको उपचार वीर अस्पतालमै हुने भएको छ। वीर अस्पतालमा पार्किन्सन,  छारेरोग, डिप्रेसन,ओसिडी, शारिरीक कम्पन जस्ता रोगमा परम्परागत उपचार विधिबाट प्रभावकारी परिणाम आउन नसकेपछि ब्याट्रीबाट विद्युतीय तरंग दिएर चल्ने (डिप ब्रेन स्टिमुलेसन ) प्रविधि लिइएको डा. झाले बताए। निजी क्षेत्रमा यो शल्यक्रिया प्रविधि डा. वसन्त पन्तले पहिल्यै गरिसकेको भए पनि वीर अस्पतालमा सरकारी क्षेत्रमा पहिलो पटक भित्रिएको डा. झाले बताए।

यो शल्यक्रियाको लागि डा. झाले सन् २०१० मा भारत र सन् २०१३ मा अमेरिकामा तालिम लिइसकेका छन्। औषधि सेवन गरेर पनि रोगको लक्षणमा कमी आउन नसकेका बिरामीहरू र लाभ लिएका दुवै बिरामीका लागि यो शल्यक्रिया प्रभावकारी हुने वीर अस्पताल न्युरो विभागका प्रमुख डा. सुनिल कोइरालाले बताए।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा कुल जनसंख्याको एक प्रतिशत उल्लेखित स्नायु रोगका बिरामी छन्। त्यसमा पनि दक्षिण एसियाली देशमा अरू देशको तुलनामा छारे रोेगका बिरामी बढी छन्।

यो शल्यक्रिया प्रविधि अत्यन्त महँगो भएकाले विपन्न बिरामीको पहुँचमा हुन नसकेको डा. झा बताउँछन्। यो प्रविधीवाट शल्यक्रिया गर्दा मस्तिष्कमा राखिने तार तथा ब्याट्री अत्यन्त महँगो हुने भएकाले शल्यक्रिया शुल्क महँगो पर्छ। विदेशमा यो शल्यक्रियाको लागि ३० लाख नेपाली पर्न जाने भए पनि वीर अस्पतालमा सामग्रीसहित १४ देखि १५ लाख रूपैयाँ पर्ने लाग्छ।

तर, यो शुल्क विपन्न नागरिकका लागि पहुँचबाहिर भएकोले सरकारले मुटुको भल्वको उपचारमा जस्तै अनुदान दिनु पर्ने वीर अस्पतालका न्युरोलोजिष्ट डा. कोइराला बताउँछन्। यसको लागि सरकारलाई समन्वय गर्न पहल गर्ने डा. झाले बताए।

प्रकाशित: २८ फाल्गुन २०८० ०८:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App