२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

बन्ध्याकरण गराउने महिला २७४, पुरुष ४!

सन्तानको रहर पुगेका दम्पतीले परिवारको योजनाअनुसार स्थायी बन्ध्याकरण गराउन सक्छन्। यसका लागि पुरुष र महिला दुवैका लागि बन्ध्याकरणको सुविधा छ। तर बन्ध्याकरणको जिम्मेवारीसमेत महिलाकै काँधमा थोपरिएको छ।

चुलो, चौका र घरायसी काममा व्यस्त रहने महिलालाई बन्ध्याकरणको समेत थप जिम्मेवारी वहन गर्नुपर्ने बाध्यता छ। पुरुषहरूले आफू सो जिम्मेवारीबाट पन्छेर महिलालाई बन्ध्याकरणका लागि अघि सार्ने गरेका छन्।

कपिलवस्तुको १० वटै पालिकामा स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजना तथा सुनौलो परिवार नेपाल (मेरी स्टोप्स) को प्राविधिक सहयोगमा गरिएको स्थायी बन्ध्याकरण घुम्ती शिविरबाट सो तथ्या फेला परेको हो। शिविरमा २७८ जनाको बन्ध्याकरण गरिएको थियो। जसमा चारजना मात्र पुरुष रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुका पब्लिक हेल्थ नर्स शान्ति भण्डारीले बताइन्।

विगतदेखि नै स्थायी बन्ध्याकरण गर्ने पुरुषको संख्या जिल्लामा न्यून छ। आर्थिक वर्ष २०७८/७९ मा १९१ महिला र पाँच पुरुष गरी १९६ ले स्थायी बन्ध्याकरण गराएका थिए।

 त्यस्तै आर्थिक वर्ष २०७९/८० मा २६० महिला र पाँच पुरुष गरी २६५ जनाले स्थायी बन्ध्याकरण गराएका थिए। महिलाले गर्ने बन्ध्याकरणलाई मिनिल्याप र पुरुषले गर्नेलाई भ्यासेक्टोमी भनिन्छ।

महिलामा गरिने मिनिल्यापभन्दा पुरुषहरूले गर्नेे भ्यासेक्टोमी बढी सुरक्षित रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्। महिलाभन्दा पुरुषलाई बन्ध्याकरण गराउँदा सजिलोसमेत हुने बताइन्छ। तर पुरुषहरूले महिलालाई नै बन्ध्याकरण गराउन अघि सार्ने गरेको पब्लिक हेल्थ नर्स भण्डारीले बताइन्।

‘घरको काम मात्र होइन, बन्ध्याकरणका लागि समेत महिलाकै जिम्मेवारी भएको भन्ने मान्यता पुरुषहरूले राख्ने गरेको देखिएको छ,’ उनले भनिन्।

स्थायी बन्ध्याकरणपछि शरीर कमजोर हुने, कठिन काम गर्न नसकिने, स्वास्थ्यमा नकारात्मक असर पर्ने, यौनशक्ति कम तथा नपुंसकतासम्म हुने अन्धविश्वासले गर्दा पुरुषहरूले बन्ध्याकरण गर्न अग्रसर नहुने भण्डारीको भनाइ छ।

महिलाले परिवार नियोजन गरे धेरै आराम गर्नुपर्ने, लामो समय औषधि सेवन गर्नुपर्ने र शल्यक्रियापछि सुरक्षित घर पुर्‍याउनुपर्ने हुन्छ। तर पुरुषहरूको शल्यक्रिया गरे आफैं घर जान सक्ने भण्डारीले बताइन्।

स्वास्थ्य कार्यालय कपिलवस्तुका वरिष्ठ जनस्वास्थ्य अधिकृत नारायणप्रसाद चौधरीले विभिन्न भ्रमका कारण पुरुषहरू बन्ध्याकरण गराउन आकर्षित नभएको बताए। बन्ध्याकरण गराएका पुरुषहरू खुलेर आउन सक्ने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

कपिलवस्तुका नगरपालिकाहरू महाराजगन्जमा ४५, बुद्धभूमिमा ४१, कपिलवस्तुमा ३५, वाणगंगामा २३, शिवराजमा ३५ र कृष्णनगरमा १२ तथा गाउँपालिकाहरू विजयनगरमा २५, मायादेवीमा २१, यशोधरामा २५ र शुद्धोधन १५ जनाले शिविरमा स्थायी बन्ध्याकरण गराएका छन्।

शिविरमा मुस्लिम समुदायको बन्ध्याकरण गर्नेको संख्या शून्य छ। महिलाका लागि मिनिल्याप १५ देखि ३० मिनेट लागेर ३ देखि ५ सेन्टिमिटरसम्म चिरेर गर्न सकिन्छ भने पुरुषका लागि भ्यासेक्टोमी मात्र ७ देखि १० मिनेटमा ५ एमएम जति चिरेर गर्ने गरिन्छ।

प्रकाशित: १८ फाल्गुन २०८० १२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App