१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

उपत्यकाबाहिर सात जिल्लामा मेडिकल कलेज : शिक्षामन्त्री राई

मन्त्री राईलाई स्वागत गर्दै कटारी नगर प्रमुख राजेशचन्द्र श्रेष्ठ र विव्यस अध्यक्ष मणिराज दाहाल। तस्विर : महेश्वर

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले देशका विभिन्न ठाउँमा मेडिकल कलेज (चिकित्साशास्त्र अध्ययन संस्थान) खोल्ने  प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्। देशको पूर्वीक्षेत्र भ्रमणको सिलसिलामा गृहजिल्ला उदयपुरको कटारी नगरपालिका पुगेका मन्त्री राईले सो कुरा बताएका हुन्।  

कटारीस्थित त्रिवेणी मावि कटारीको ५६औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री राईले डा. गोविन्द केसीको पटकपटकको आमरण अनसनपछि सरकारले गरेको प्रतिबद्धता अनुसार उपत्यकाबाहिर सात ठाउँमा मेडिकल कलेज खोल्ने तयारी भइरहेको बताए। उनका अनुसार केसीसँग भएको सम्झौताअनुसार विभिन्न ७ जिल्लामा मेडिकल कलेज खोल्ने प्रतिबद्धता कार्यान्वयनको चरण अन्तिम अवस्थामा पुगेको हो।

हालसम्म २ वटा मेडिकल कलेज खोल्ने काम कार्यान्वयनको नजिक पुगेको बताउँदै मन्त्री राईले थप २ कलेज खोल्ने विस्तृत परियोजना प्रस्ताव (डिपिआर) तयार भइसकेको जानकारी दिए। वाँकी तीनवटा कलेज खोल्न जग्गा प्रक्रियाले अल्झिएकाले ढिलाइ भइरहेको मन्त्री राईको भनाइ छ।

‘डा. केसीको आन्दोलनसँगै भएको सम्झतौअनुसार उपत्यकाबाहिर पनि मेडिकल कलेज खोल्ने अवधारणा सरकारले अघि सारेको हो’, मन्त्री राईले भने, ‘त्यसबेला सरकार र डा. केसीबीच भएको सम्झौताअनुसार काम अघि बढिरहेको छ र छिटै कार्यान्वयनको चरणमा पुग्ने छ।’

उदयपुरमा पनि एउटा मेडिकल कलेज स्थापना हुने तर त्रियुगा नगरपालिका र कटारी नगरपालिकामध्ये कहाँ खोल्ने भन्ने विषय टुंगो नलागिसकेको मन्त्री राईले बताए। मन्त्री राईले त्रियुगा र कटारी नगरपालिका दुवैले आआफ्नो ठाउँमा मेडिकल कलेज खोल्न माग गर्दै मन्त्रालयमा प्रस्ताव पेस गरेको पनि खुलासा गरे।

उनले जहाँ भए पनि उदयपुरमा एउटा कलेज स्थापना हुने कुारमा मन्त्री राईले विश्वस्त हुन आगह गरे। मन्त्री राईले स्वास्थ्य र शिक्षामा सरकारले गरेको प्रतिबद्धता पूरा हुने भन्दै ढिलोचाँडो उदयपुरमा मेडिकल कलेज स्थापना भएरै छाड्ने आश्वासन दिएका छन्।

प्रकाशित: ३ फाल्गुन २०८० ०९:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App