हामीले दैनिक प्रयोग गर्ने नोटबाट संक्रामक रोग फैलिने भएकाले नागरिकको स्वास्थ्य अधिकार संरक्षणमा राज्यले गम्भीर कदम चाल्नुपर्ने आवश्यकता देखिए पनि त्यस्तो भएको पाइएको छैन। नोट वा सिक्का प्रयोग गर्दा व्यक्तिले पनि सावधानीसँगै विकल्प खोज्नुपर्ने देखिएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार स्वदेश र विदेशमा गरिएका अनुसन्धानका आधारमा मुद्रा (नोट र सिक्का) मा विभिन्न कीटाणु तथा परजीवी हुने पुष्टि भएको छ। नोटमा हुने कीटाणु र परजीवीले छालामा हुने सालमोनेला (टाइफाइड), झाडा–पखाला, मूत्रनलीको संक्रमण, फ्लु भाइरस (रुघाखोकी) सार्ने गरेको पाइएको परिषद्ले जनाएको छ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा गरिएको एक अनुसन्धानले मुद्राका ९८ प्रतिशत नमुनामा कीटाणु भएको देखाएको थियो। अस्पताल तथा मासु पसलमा प्रयोग गरिएका मुद्रामा अझ धेरै प्रकारका कीटाणुका र औषधि प्रतिरोधी जीवाणु फेला परेको परिषद्को अध्ययनले देखाएको छ। नेदरल्यान्ड, आयरल्यान्ड, फ्रान्समा गरिएका अनुसन्धानले समेत युरो र डलरका नोटमा पनि कीटाणु र जीवाणु पाइएको देखाएको थियो। हातले छुँदा हातको छालाका कणहरूले र प्रांगारिक पदार्थले पनि मुद्रामा कीटाणुको संख्या वृद्धि हुने अध्ययनले देखाएको परिषद्ले उल्लेख गरेको छ।
मुद्राको नगदी कारोबारबाट रोगको संक्रमण फैलिने र मानव स्वास्थ्यसँगै स्वास्थ्य अधिकार जोखिममा पर्ने भन्दै नागरिकको स्वास्थ्य अधिकार रक्षाको मागसहित काठमाडौंका राम बादेले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी हालेका थिए। त्यसपछि आयोगले मुद्राको नगदी कारोबारबाट फैलिन सक्ने संक्रमणबाट नागरिकको स्वास्थ्य अधिकार संरक्षण गर्न भैरहेका प्रयासबारे जानकारी गराउन सरकारका सम्बन्धित निकायलाई भनेको थियो।
आयोगले उजुरी लिएसँगै राज्यका निकायहरूबाट आधिकारिक निर्णय, अनुसन्धान र प्रमाण झिकाएको थियो।
बैंक तथा वित्तीय संस्थाहरूबाट मुद्रा निर्मलीकरण गरी भुक्तानी भए पनि व्यक्ति र व्यापारीको हात–हातमा पुगेपछि पुनः संक्रमित हुने अवस्था रहेको जानकारी राष्ट्र बैंकले पत्रमार्फत आयोगलाई गराएको छ।
उसले बैंकले नोट निर्मलीकरण गरेर मात्र सम्भावित संक्रमण पूर्ण रूपमा रोक्न नसकिने हुँदा व्यक्ति स्वयं सचेत हुनुपर्ने र वित्तीय सचेतना फैलाउन आवश्यक रहेको पनि पत्रमा जनाएको छ।
नेपालमा २००२ साल असोज १ गतेदेखि सरकारको सदर मुलुकी खानाबाट १, ५ १० र १०० दरका नोट निष्कासन भएका थिए। सिक्का भने राजा मानदेवकै पालामा ‘मानांक’ प्रचलनमा आएको थियो। १९८९ सालमा टक्सार स्थापना भएपछि नेपालमा सिक्का निकाल्न सुरू भएको थियो। धातुको सिक्काबाट वस्तु विनिमयमा असुविधा हुन थालेपछि कागजी नोट प्रचलनमा आएको पाइन्छ।
स्वास्थ्य अनुसन्धान परिषद्को अनुसन्धान प्रतिवेदन र सुझाव, नेपाल राष्ट्र बैंकको समेत राय निष्कर्षसहित मानवअधिकार आयोगले नगद कारोबारबाट विभिन्न रोगको संक्रमण हुने भन्दै व्यक्तिको स्वास्थ्य अधिकार संरक्षणमा प्रभावकारी कदम चाल्न सरकारलाई सिफारिस गरेको छ।
आयोगले गत पुस २५ गते सरकारलाई गरेको सिफारिसमा मुद्राबाट नागरिकको स्वास्थ्य अधिकारमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न आवश्यक पहल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई सिफारिस गरेको हो। नोटबाट हुने संक्रमण रोक्ने एवं न्यूनीकरण गर्ने विषयमा अर्थ मन्त्रालयले बैंक र वित्तीय संस्थाले जम्मा हुन आउने र काउन्टरबाट वितरण गरिने नोटलाई संक्रमणरहित गरेर मात्र प्रयोगमा ल्याउने व्यवस्था मिलाउनुपर्ने निर्णय गरेको थियो।
राष्ट्र बैंकबाट सफा नोट निर्देशिका, २०७३ जारी भएको छ। उसले नोट सफा राख्न सार्वजनिक रूपमा अनुरोध गर्दै आएको छ। सफा नोट निर्देशिकामा भुक्तानी वा सटही गर्नुपूर्व नोटलाई निश्चित प्रक्रिया अपनाएर जीवाणु तथा भाइरसरहित गर्नुपर्ने उल्लेख छ। तर उक्त निर्देशिका र अर्थ मन्त्रालयको निर्णय प्रभावकारी रूपमा कार्यान्वयन नभएको पाइएको आयोगले जनाएको छ।
प्रकाशित: १० माघ २०८० ११:५२ बुधबार