१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

व्यापारीसँगको साँठगाँठमा बिरामीमाथि बेइमानी

लिन्याक मेसिन खरिद प्रकरण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुदानमा क्यान्सर रोगीको उपचारमा सहजीकरणका लागि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले खरिद गरेको लिनियर एक्सेलेरेटर (लिन्याक) मेसिन आयातकर्ताको बदमासीका कारण अहिलेसम्म सञ्चालन हुन सकेको छैन।

गत वर्ष पुसमा अस्पताल पुर्‍याइएको सो मेसिन आयातकर्ताले स्वीकृत मापदण्डभन्दा फरक पठाएपछि सञ्चालनमा आउन नसकेको हो।

बोलपत्रमा र अस्पतालमा लगिएको मेसिनमा उल्लेख भएका मापदण्ड फरक परेपछि अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. निरज भट्टराईले बोलपत्रमा उल्लेख भएको मापदण्ड हुनुपर्ने भन्दै आयातकर्ता मेडिसोलुसन प्रालिलाई मेसिन जडान रोकेका थिए।

 भट्टराईले मेसिनको मापदण्ड फरक परेको र माथिल्लो निकायबाट प्राविधिक चेकजाँच नभई जडान गर्न नसकिने जनाएका थिए। उनको त्यो अडानपछि लामो समय सो मेसिन अस्पताल परिसरमा अलपत्र थियो।

गत असारमा स्वस्थ्य मन्त्रालयबाट एउटा प्राविधिकसहितको टोली गएर त्यसलाई जडान गरेर अस्पताललाई हस्तान्तरण गर्न निर्देशन दियो। त्यसैअनुसार अहिले सो मेसिन जडान भइसके पनि सञ्चालन गर्न अझै आयातकर्ता कम्पनीले तीन महिनाको समय मागेको छ।

 ‘मेसिन जडान भइसक्यो। स्वीकृत मापदण्ड भन्दा फरक देखेर मन्त्रालयको निर्देशन मागेका थियौं,’ कार्यकारी निर्देशक भट्टराईले भने, ‘मेसिन नै फरक ठाउँबाट आएको देखियो, त्यसकारण रोकिएको थियो।

अहिले मन्त्रालयबाट आएको कानुनसहितको प्राविधिक टोलीले जडान गर्न मिल्छ भन्ने निर्देशन दिएपछि जडान गरिएको छ। आयातकर्ता कम्पनीले मेसिड जडान गरी सञ्चालन गरेर ठिक छ कि छैन, जाँच गरी हस्तान्तरण गर्नुपर्छ। त्यसका लागि तीन महिनाको समय मागेको छु।’

क्यान्सरका बिरामीको घाउ सेक्न प्रयोग हुने ‘लिन्याक’ मेसिन एक वर्षदेखि थन्क्याएर राखिएको हो। ‘यसो हुनुमा स्वास्थ्य मन्त्रालय र मेसिन नेपाल ल्याउने कम्पनी मेडिसोलुसनको हात छ,’ स्रोतले भन्यो। मेडिसोलुसन विशाल पण्डितको कम्पनी हो।

उक्त मेसिन थन्क्याउँदा घाउ सेक्नुपर्ने क्यान्सरका बिरामीलाई अस्पतालले भरतपुर र भक्तपुर रेफर गर्दै आएको छक। क्यान्सरको घाउको बाहिरी सेकाइमा प्रयोग हुने मेसिन सञ्चालनमा नआउँदा बिरामीलाई भरतपुर क्यान्सर अस्पताल रेफर गरिँदै काम चलाउन थालिएको छ।

टेन्डरका बेला आयातकर्ताले बुझाएको एसएस कोडअनुसार मेसिन उपलब्ध नगरेपछि जडान नभएको हो। सो मेसिन खरिदबापतको कुल २७ करोडमध्ये ६० प्रतिशत भुक्तानी भइसकेको छ।

‘म आउनुअघि नै ६० प्रतिशत भुक्तानी भइसकेको रहेछ। मेसिनमा स्वीकृत मापदण्ड नदेखेपछि थप भुक्तानी रोकिएको छ,’ डा. भट्टराईले भने।

सम्झौता भएपछि १० प्रतिशत, भन्सारमा आएपछि ५० प्रतिशत, अस्पतालमा पुगेपछि २० प्रतिशत र मेसिन सञ्चालनमा आएपछि २० प्रतिशत रकम दिने सम्झौतामा उल्लेख थियो।

सन् २०२१ अगस्ट २४ मा खरिद सम्झौता भएकोमा बोलपत्र प्रस्ताव गरे वा सम्झौतामा उल्लेख भएभन्दा फरक हुने गरी (टेक्निकल स्पेसिफिकेसन, प्राइज सेड्युल, परफर्मा इन्भ्वाइस तथा प्रज्ञापनपत्र) आपूर्ति गरिने उपकरणको उत्पादक देश, ‘एचएस कोड’ लगायतको विवरण फरक परेको विषयमा मन्त्रालयको कानुनसहितको प्राविधिक टोलीले स्थलगत अवलोकन गरेपछि जडान गर्न अनुमति दिइएको थियो।

मन्त्रालयको टोलीले २०८० असार ७ र ८ गते सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा गई लिन्याक मेसिन खरिद प्रक्रियासँग सम्बन्धित कर्मचारी–प्राविधिक र अस्पताल प्रमुख (निमित्त कार्यकारी निर्देशक) सहित भएको छलफल भएको थियो। त्यसपछि मात्रै डा. भट्टराईले मेसिन जडान गर्न अनुमति दिएका थिए।

‘टर्न की प्रोजेक्ट भन्ने हुन्छ, जसअनुसार आयातकर्ता कम्पनीले त्यो सबै प्रक्रिया पूरा गरी मेसिन सञ्चालन गरी हस्तान्तरण गरेर सबै ठिक भएपछि मात्र अस्पतालले मेसिन स्वीकार गर्छ,’ डा. भट्टराईले भने।

सो अस्पतालमार्फत प्राप्त लिन्याक मेसिन खरिदसम्बन्धी कागजातहरूको प्रतिलिपिसमेत अध्ययन गर्दा लिन्याक खरिदसम्बन्धी बोलपत्रबारे समितिले व्याख्या गरेको थियो। बोलपत्रदाता इलेक्टा लिमिटेडले बोलपत्रसाथ पेस गरेको प्राइज सेड्युलमा ‘कन्ट्री अफ ओरिजिन युके–युएसए–चाइना’ उल्लेख भएको अध्ययन प्रतिवेदनमा उल्लेख रहेको स्रोतको दाबी छ।

‘टेक्निकल स्पेसिफिकेसन फर सप्लाई, टेस्टिङ एन्ड कमिसियोनिङ अफ एडभान्स डिजिटल प्लेटफर्म ट्रिपल हाई इनर्जी लिनियर एक्सेलेरेटर–१ सेट कागजातमा कन्ट्री अफ ओरिजिन: युनाइटेड किङ्डम उल्लेख भएको र अमेरिकी डलर २१ लाख ३१ हजार ५ सय रकम बराबरको खरिद सम्झौता भएको देखिएको छ,’ प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी बोलपत्रदाता इलेक्टा लिमिटेडले पेस गरेको बोलपत्र स्वीकृत भएपछि सन् २०२१ मा अस्पताल र इलेक्टाबीच ‘लिनियर एक्सेलेरेटर सिस्टम मोडेलः एलेक्टा भेर्सा एचडी’ खरिद गर्ने सम्झौता भएको देखिएको अध्ययनले देखाएको थियो।

भन्सार प्रज्ञापनपत्र र खरिद सम्झौताका अन्य प्रक्रियागत कागजातमा उल्लेख भएबमोजिम लिन्याकको ‘कन्ट्री अफ ओरिजिन एन्ड हार्मोनाइज्ड सिस्टम कोड (एचएस कोड) फरकफरक उल्लेख भएको देखिएको थियो। जसले गर्दा कार्यकारी निर्देशकले तत्कालै मेसिन जडान गर्न रोकिदिएका थिए।

प्रकाशित: ९ माघ २०८० ००:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App