५ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

किन खाइन्छ माघे सङ्क्रान्तिमा घिउ-चाकु र कन्दमूल?

आज माघे सङ्क्रान्ति! देश विदेशमा भव्यताका साथ मनाईदै छ यो पर्व। संघिय सरकारले पनि देशभर सार्वजनिक बिदा दिएको छ। ज्योतिष शास्त्रअनुसार सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर सङ्क्रान्ति भनिएको हो। 

माघे सङ्क्रान्तिका दिन अन्य सामान्य दिनहरू भन्दा फरक–फरक परिकार बनाउने र खाने प्रचलन छ। आज विभिन्न तीर्थ स्थलहरूमा बिहानै स्नान गर्ने र आफन्तजनहरू भेला भएर खानपान गर्ने दिन पनि हो। 

आजका दिन हामीले तिलको लड्डु, गुणको चाकु, तरूल, सखरखण्ड, मासको खिचडी, घ्यु लगायतका परिकारहरू खाने गर्छौ। प्रायः सबैका घरमा यी परिवारहरू पकाइने गरिन्छ।

यी खाद्य पदार्थहरू शरीरका लागि उत्तम मानिन्छन्। यस्ता पदार्थ पोसिलो मानिन्छन्। यी खाएमा शरीर निरोगी र रोगसँग लड्न सक्ने क्षमता वृद्धि हुने मान्यता छ। यी भोजनहरू धर्मशास्त्रमा पनि उल्लेख गरिएको र परम्परागत रूपमा उपयोग गर्दै आइएको छ। यी परिकारको फाइदा/बेफाईदाहरूबारे विभिन्न किसिमका वैज्ञानिक मान्यताहरू पनि छन्।

हामीले खाने तिल वा यसको लड्डुले आयुर्वेदअनुसार मुटु र स्मरण शक्ति सुदृढ र स्वस्थ राख्छ।  यसको तेल छालाबाट सजिलै शरीर भित्र प्रवेश हुने भएकोले शरीरको मालिसका लागि पनि यो उत्तम मानिन्छ।

करिब ९० प्रतिशत आयुर्वेदिक तेलयुक्त औषधिहरूको उत्पादनमा तिलको तेल प्रयोग हुन्छ। पोषण तत्त्वको हिसाबले तिलको तेलमा करिब ७५ प्रतिशत ओमेगा फ्याट पाइने हुनाले उच्च रक्तचाप र मुटुका बिरामीहरूका लागि अन्य तेलभन्दा यो तेल उत्तम मानिन्छ।

आर्यूवेदअनुसार सेतो र कालो तिलका फरक–फरक गुणहरू वर्णन गरिएको छ। औषधीय उपयोगका दृष्टिले कालो तिललाई उत्तम मानिएको छ।  बेसार, साल्लकी र तिलको दैनिक सेवनले महिनावारी गडबडी र तल्लो पेट दुखाइमा लाभकारी भएको कुरा सन २०२३ मा भारतमा भएको एउटा अनुसन्धानले  प्रमाणित गरेको छ।

त्यसका अलावा कुखुराको मासुमा पाइने मात्रामा प्रोटिन, त्यस बाहेक भिटामिन, खनिज र फाइबर पनि प्रशस्त पाइने भएकाले तिललाई प्राथमिकतामा राखेको देखिन्छ।

उखुबाट बनाइने  गुड वा चाकु अर्को महत्त्वपूर्ण पोषणयुक्त खाद्य पदार्थ हो। यसका प्रशस्त औषधीय गुणहरू छन्। गुडमा मानिसलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइड्रेट, खनिज, भिटामिन र एमोनो एसिडहरू पाइन्छन्। कलेजो, मिर्गौला मस्तिष्क, मुटु र पेटका बिरामीहरूका लागि यो अति लाभकारी मानिन्छ । सुश्रुत संहितामा गुडबारे वर्णन गरिएको छ। यसले पेटको अग्नि जगाउँछ। खाना पचाउन मद्दत पुर्‍याउँछ। र, पेटसम्बन्धी समस्या समाधानका लागि राम्रो मानिन्छ। शरीरको तौल नियन्त्रण गर्न, पेटका दूषित पदार्थहरू सफा गर्न र रगतको  मात्रा वृद्धि तथा सुदृढीकरण गर्न यसले प्रभावकारी भूमिका खेल्दछ।

यसका साथै कफ र खोकीसम्बन्धी समस्या कम गर्नका लागि लाभकारी सिद्ध भएको छ। यसले शरीरलाई चिसोबाट जोगाउने र रोगसँग लड्ने क्षमता वृद्धि गर्छ । यसले सुत्केरी महिलाहरूमा दूधको परिमाण बढाउन सहयोग गर्छ।

यस्ता लाभकारी खाद्यवस्तुको मिश्रण गरी तिलको लड्डु बनाउने हाम्रा पुर्खाहरू साँच्चिकै महान् वैज्ञानिक थिए भन्दा अतिशयोक्ति नहोला।

माघे सङ्क्रान्तिमा धेरै खाइने अर्को खाद्यवस्तु हो तरूल। नेपालमा तरुलका १३ प्रजातिहरू पाइन्छन्। कतिपय ठाउँहरूमा वन तरुल प्रमुख खाद्यवस्तुको रूपमा पनि प्रयोग हुने गरेको पाइन्छ। तरुलमा प्रशस्त मात्रामा कार्बोहाइड्रेट, फाइबर, भिटामिन र खनिज प्राप्त हुन्छ। केही वैज्ञानिकहरूले गरेको अनुसन्धान अनुसार तरुलका प्रजातिहरूमा पेट, स्तन, पाठेघर र कलेजोको क्यान्सर निको गर्न सक्ने थुप्रै फेनोलिक रसायनहरू छन्। रुघाखोकी, टाइफाइडजस्ता रोगहरू सार्ने ब्याक्टेरियाहरू मार्नका लागि तरुल र त्यसमा पाइने डायोसजेनिन अति प्रभावकारी मानिन्छ।

डायोसजेनिन शरीरको खराब कोलेस्ट्रोल घटाई तौल नियन्त्रणका लागि उपयोग र प्रभावकारी मानिन्छ। साथै क्याम्फिरोल तत्त्वले कोशिकाहरूमा नाइट्रिकअक्साइड नियन्त्रण गरी विभिन्न खालका सुजनहरू कम गराउनुका साथै मस्तिष्क सम्बन्धी रोगहरू पनि नियन्त्रण गरेको पाइन्छ।

मधुमेहका बिरामीहरूका लागि समेत तरुलमा पाइने केही रसायनहरूले ग्लुकोजको मात्रा वृद्धि हुने प्रक्रिया स्थिर पार्दै ग्लुकोज बढ्नबाट जोगाउँछन्। आयुर्वेद विज्ञानअनुसार तरुलको धुलोलाई तेलमा मिसाएर दुखेको ठाउँमा लेप लगाउँदा दुखाई कम हुन्छ। तरुलको धुलो र मह मिसाएर खानाले शरीर स्वस्थ रहने बताइएको छ।

शरीरका जनन्द्रीयलगायत जीव रासायनिक प्रक्रियाहरू सञ्चालनका लागि आवश्यक पर्ने स्टेरोइडको प्राथमिक स्रोत डायोसजेनिन पाइने भएकाले यसका प्रजातिहरूबाट आधुनिक औषधि उत्पादन गरिन्छ।

माटो मुनि फल्ने बालीहरूमध्ये तरुलमा प्रोटिनको मात्रा अत्यधिक पाइन्छ। साथै फाइबर पनि प्रशस्त पाइन्छ। हाम्रो शरीरलाई आवश्यक पर्ने पोटासियम, आइरन, जिङ्कजस्ता मिनिरलहरू पनि तरुलको सेवनबाट परिपूर्ति हुन्छन्।

माघे सङ्क्रान्तिमा खाइने अर्को कन्दमूल हो सखरखण्ड। यो कन्दमूल गुलियो हुनुका साथै स्वास्थ्यकर पनि छ। प्रचुर मात्रामा भिटामिन ‘ए’ पाइने भएकाले कलेजो तथा आँखाका लागि लाभदायक छ। शरीरको तौल नियन्त्रण, छाला, इम्युनिटी बढाउन, ऊर्जालगायत पाचन प्रक्रियालाई सबल बनाउने भएकाले यो कन्दमूल  शरीरका लागि महत्त्वपूर्ण मानिन्छ।

यो नन–क्यालोरिक गुलियो हुने भएकाले यसले रगतमा धेरै सुगरको मात्रा बढाउँदैन। पोषण तत्त्वका हिसाबले प्रशस्त खनिज पदार्थ र भिटामिनहरू पाइन्छ। फिनोलिक रसायनहरू प्रचुर मात्रामा पाइने भएकाले यसले एन्टी–अक्सिडेन्टको भूमिका खेली कोशिकाहरू नष्ट हुनबाट जोगाउँछ। यसमा कार्बोहाइड्रेटको मात्रा ५० देखि ७५ प्रतिशत पाइने भएकाले शरीरमा ऊर्जा प्रदान गर्छ।

सन् २०२२ मा अस्ट्रेलियाको मेलबर्न विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको खोजमूलक अनुसन्धानमा यो मधुमेह, उच्च रक्तचाप, कब्जियत, कलेजो र पेटसम्बन्धी रोगका लागि लाभकारी रहेको तथ्य प्रकाशित गरेका छन्।

माघे सङ्क्रान्तिमा खाइने अर्को खाद्यवस्तु हो घिउ। घिउमा प्रशस्त मात्रामा फ्याँटी एसिड पाइन्छ। यसले शरीरका धेरै क्रियाकलापहरू सञ्चालनमा मद्दत पुर्‍याउँछ। घिउले शरीरलाई ऊर्जा दिनुका साथ साथै शरीर न्यानो राख्ने काम पनि गर्दछ।

घिउले सुन्निएका अङ्गहरूलाई निको पार्छ। र, पेटको अग्नि सबल बनाउँछ। यसले भिटामिन ‘ए’, ‘डी’, ‘इ’ र ‘के’आदिलाई रक्तसञ्चार प्रक्रियासम्म पुर्‍याउने काम गर्छ। साथै छाला सुख्खा हुनबाट जोगाउँछ। रोगसँग प्रतिरोध गर्ने क्षमता वृद्धि गर्ने भएकाले जाडो महिनामा घिउको सेवन प्रचलनमा ल्याइएको कुरा वैज्ञानिक देखिन्छ। त्यसैले हाम्रा पौराणिक खानाहरू अति वैज्ञानिक थिए र छन्। यी खानाले हाम्रो स्वास्थ्यलाई सन्तुलित राख्न महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन्।

 

(डा. ज्ञवाली काठमाडौँ विश्वविद्यालयका फर्माकोग्नोसीका प्राध्यापक तथा जडीबुटीविज्ञ हुन्।

प्रकाशित: १ माघ २०८० ०३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App